एकसाथ दुई डुंगामा माधव नेपाल

एकसाथ दुई डुंगामा माधव नेपाल

काठमाडौं। नेकपा एकीकृत समाजवादी (नेकपा एस) यतिबेला सत्ता गठबन्धनमा आबद्ध छ। संघदेखि प्रदेश सम्मका सरकारमा सहभागी नेकपा एस एमाले, माओवादी र रास्वपा सम्मिलित सत्ता गठबन्धनको मुख्य साझेदार दल हो । तर, नेकपा एसका अध्यक्ष माधवकुमार नेपालको बोली र व्यवहार भने कहिले सत्तापक्ष जस्तो कहिले प्रतिपक्ष जस्तो देखिन्छ।

नेकपा एमालेबाट विद्रोह गरेर नेपालले निर्माण गरेको नेकपा एसबाट प्रतिनिधि सभामा १० जना सदस्य छन्। संघ र कतिपय प्रदेश सरकार गठनमा नेकपा एसको भूमिका निर्णायक रहन्छ। सुदूरपश्चिममा सरकारको नेतृत्व गरिरहेको नेकपा एस मधेशमा भने संघको विपक्षी दल जसपा नेतृत्वको सरकारमा सहभागी छ।

सोही सरकार बचाउन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केहीदिन अघि राखेको बैठकमा अध्यक्ष नेपाल सहभागी भए। विपक्षी बैठकमा उनको उपस्थितिले राष्ट्रिय राजनीतिमा तरंग पैदा गर्‍यो। लगत्तै नेकपा एसले मधेशमा जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने संघीय सत्ता गठबन्धनको निर्णयमा सहमति पनि जनाइसकेको छ। आफैँ सहभागी सरकारको विकल्पमा नयाँ सरकार बनाउने सहमति गरिसकेको नेकपा एसको भूमिका पछिल्लो समय ‘यता पनि ठिक्क, उता पनि ठिक्क’ भनेझैँ छ।

नेकपा एसका अध्यक्ष नेपाल घरी सत्ता पक्षको बैठकमा पुग्छन्, घरी विपक्षीको बैठकमा। यही कारण सत्ता गठबन्धनभित्र उनीप्रति शंका कायमै छ। त्यसैले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नै महत्वपूर्ण निर्णय लिँदा नेपालसँग सल्लाहसमेत नगरेको पाइन्छ।

जसपा विभाजनका बेला होस् वा गठबन्धनका अन्य काममा अध्यक्ष नेपालले सार्वजनिक रूपमै असन्तुष्टिसमेत राख्दै आएका छन्। कांग्रेस र जसपासँगको बैठकमा समेत उनले सत्ता गठबन्धनमा आफू र आफ्नो पार्टीलाई सम्मानजनक व्यवहार नभएको गुनासो गरेका थिए।

गत वैशाख ८ गते गृहजिल्ला पुगेर अध्यक्ष नेपालले आफ्नो पार्टीलाई कमजोर ठानेमा देशमा अर्को उथलपुथल हुने घोषणा गरेका थिए। सरकारका अधिकांश निर्णयमा असन्तुष्टि जनाउँदै आएका उनले जसपा विभाजनपछि भने केही संयमता देखाए।

प्रधानमन्त्री दाहालले चौथोपटक विश्वासको मत लिनुअघि अध्यक्ष नेपालले ‘प्रधानमन्त्रीलाई विश्वासको मत दिनेमा शंका नगर्न’ आग्रह गरेका थिए। संघीय सत्ता गठबन्धनमा रहँदै सुदूरपश्चिममा आफ्नो पार्टीले मुख्यमन्त्री नपाउने भएपछि नेकपा एसले कांग्रेस र नागरिक उन्मुक्ति पार्टीको एउटा पक्षसँग छोटो तालमेल गर्‍यो। मुख्यमन्त्री पाउने भएपछि पुनः गठबन्धनमै फर्कियो। यस्ता राजनीतिक निर्णयहरूले नेकपा एसलाई राजनीतिक रूपमा अस्थिर बनाएको छ।

नेकपा एसकै नेताहरू भने पार्टीको भूमिका परिस्थितिजन्य भएको बताउँछन्। ‘अहिले हामी निकै निम्छरो पनि छैनौँ, धेरै तागतिलो पनि छैनाैं। पार्टी र आन्दोलन बचाउन सबैतिर समन्वय गर्नुपर्ने परिस्थिति छ’, एसका एक नेताले भने। ती नेताका अनुसार नेकपा एमालेसँगको राजनीतिक प्रतिशोध समाप्त नहुँदै गठबन्धनमा जोडिनु परेकाले केही विषयहरूमा अझै अलमल कायमै छ।

अध्यक्ष नेपाल भने आफू र आफ्नो पार्टी कुनै अलमलमा नरहेको दाबी गर्नुहुन्छ । ‘हामी दुईटा नाउमा खुट्टा राखेर चल्दैनौं। हामीले पहिलेदेखिकै सरकारको निरन्तरतामा सामेल भइरहेको मात्रै हो। पार्टीहरूको बीचमा संवाद हुन्छ। संवादबाट सहमति हुन्छ। सहमति भएपछि कार्यान्वयनका पक्षमा हुन्छौँ’, उनको भनाइ छ। आफ्नो पार्टीले लहडका भरमा नभई संस्थागत आधारमा निर्णय गर्ने र आफूले त्यसैलाई कार्यान्वयन गराउने अध्यक्ष नेपालको दाबी छ।