माधव नेपाल देउवासँग हात मिलाउन तयार भएपछि नेकपा एसमा विद्रोहको डर

माधव नेपाल देउवासँग हात मिलाउन तयार भएपछि नेकपा एसमा विद्रोहको डर

काठमाडौं। आफू प्रधानमन्त्री बन्ने तीव्र महत्वकांक्षामा रहेका एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल बुधबार प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको बैठकमा सहभागी भएपछि तरंग उत्पन्न भएको छ।

आफूलाई गठबन्धनमा अपमान गरेको महशुस भएको  बताउँदै आएका अब विपक्षी गठबन्धनमा जान लागेका त होइनन् भन्ने प्रश्न उब्जिएको छ। तर तत्काल त्यस्तो गर्ने आँट अध्यक्ष नेपालमा छैन।

उनी कम्तिमा उपेन्द्र यादवको पार्टी विभाजन सम्बन्धि सर्वोच्चमा विचाराधीन रहेको मुद्दाको अन्तिम किनारा नलागेसम्म उनी सत्ता गठबन्धन छोड्ने पक्षमा छैनन्। बुधबार विपक्षी दलको बैठकमा सहभागी नेपाललाई प्रधानमन्त्री प्रचण्डले बिहीबार नेपाललाई फोन गरेका थिए। जपाफमा नेपालले आफू गठबन्धनबाट दायाँबायाँ नहुने बताएका थिए।

तर नेपालले कुनै पनि बेला वर्तमान गठबन्धनलाई धोका दिने निष्कर्षसहित एमाले अध्यक्ष केपी ओली केन्द्र सरकारबाट माधव नेपालको एकीकृत समाजवादीलाई केन्द्र सरकारबाट बाहिर पठाउने योजनामा छन्।

त्यसमा लागि ओली पनि उपेन्द्र यादवको पार्टी विभाजन सम्बन्धि सर्वोच्चमा विचाराधीन मुद्दाको पर्खाइमा छन्। सर्वोच्चले उपेन्द्र यादवको पार्टी विभाजनलाई वैधानिकता दिए एकीकृत समाजवादीका सात जना सांसदलाई एमालेमा विलय गराउने र माधव नेपाललाई सरकारबाट बाहिर निकाल्ने ओलीको योजना छ, जसलाई प्रधानमन्त्री दाहाले साथ दिएको दाबी गरिएको छ।

स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्ड एकीकृत समाजवादीलाई सरकारबाट बाहिर पठाएर सिके राउत नेतृत्वको जनमत र रञ्जीता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टीलाई सरकारमा ल्याउने तयारीमा छन्।

स्वतन्त्र सांसद प्रभु साह र अमरेश सिंहमध्ये एक जनालाई मन्त्री बनाउने तयारी भइरहेको छ। यस्तो अवस्थामा एकीकृत समाजवादीका सांसद किसान श्रेष्ठको नेतृत्वमा सात जना सासद एमालेमा प्रवेश गर्ने तयारीमा छन्। माधव नेपाल, राजेन्द्र पाण्डे र मेटमणि चौधरी बाहेक अन्य सांसद एमालेमा फर्किन तयार रहेको बताइएको छ।

प्रचण्ड नेतृत्वको सत्ता गठबन्धनमा सामेल नेपाल नेतृत्वको पार्टीले केन्द्रमा २ मन्त्री, सुदूरपश्चिममा मुख्यमन्त्री, बागमतीमा तीन मन्त्री र लुम्बिनीमा एक मन्त्री पाएको छ। गत आम निर्वाचनमा राष्ट्रिय पार्टीको मान्यतासमेत दिलाउन नसकेका नेपाल सपना भने पछिल्ला दिनमा प्रचण्ड सरकार ढालेर आफै प्रधानमन्त्री हुने देख्न थालेका छन्।

प्रचण्डलाई सत्ताच्यूत गर्न तत्कालीन जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसँग मिलेर उनले गोप्य रणनीति बनाएको र त्यसमा नेपाली कांग्रेसले साथ दिएको कुरा बाहिर आइसकेको छ।

प्रचण्डलाई सत्ताच्यूत गराउन कांग्रेससँग मिलेको आशंकाकै बीच जसपा नेपाल बिभाजन भयो। पार्टीका संघीय परिषद् अध्यक्ष अशोक राईले बहुमत सांसद लिएर नयाँ पार्टी गठन गरेपछि तत्कालका लागि सरकार ढाल्ने योजना सफल भएन् भने स्वयं जसपा विभाजनपछि आफ्नो पार्टीपनि फुट्ने डरले केही समय नेपाल पनि चुप बसे।

जसपा विभाजको २४ घण्टा नहुँदै पार्टीको बैठक डाके। पार्टी संसदीय दलको बैठक डाकेर सरकारप्रति पूर्ण प्रतिबद्ध रहेको विज्ञप्ति पनि जारी गराए। तर, विज्ञप्ति जारी भएको महिनादिन पनि नहुँदै फेरि नेपालको ध्यान सत्ता गठबन्धन भत्काउने र प्रधानमन्त्री हुनेतर्फ सोझिएको छ।

सत्ता गठबन्धनमा समस्या ल्याउने उद्देश्यसहित नेपाल बुधबार एकाएक बूढानीलकण्ठ पुगे। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डाकेको प्रतिपक्षी दलको बैठकमा सहभागी हुन उनी बुढानीलकण्ठ पुगेका हुन्।

देउवा निवासमा भएको बैठकमा मधेश प्रदेश सरकार जोगाउनेदेखि समाजवादीको नेतृत्वमा रहेको सुदूर सरकारमा कांग्रेस सामेल हुनेसम्मको विषयमा गोप्य सम्झौता भएको स्रोतले जनाएको छ। त्यसोत प्रचण्ड नेतृत्को वर्तमान सरकार ढाल्न एकीकृत समाजवादीका संसदीय दलका प्रमुख सचेतक मेटमणि चौधरीलगायत खुलेरै लागेका छन्।

सत्ता गठबन्धन सामान्य अवस्थामा रहँदारहँदै सत्ताकैनिम्ती प्रतिपक्षीसँग साँठगाँठ गर्न लागेको भन्दै पार्टीभित्र तीव्र विवाद सुरु हुन थालेको छ। बुधबार आश्चयजनकरुपमा विपक्षी दलको बैठकमा नेपाल सामेल भए। तर, पार्टीलाई कुनैपनि जानकारी गराएनन्।

सत्ता गठबन्धनलाई साईजमा राख्ने प्रयासस्वरुप प्रतिपक्षीसँग हिमचिम बढाएका नेपाल पार्टीमा भने अप्ठ्यारोमा परेका छन्। उनी प्रतिपक्षी दलको बैठकमा जाँदा पदाधिकारी तहका कुनै पनि नेता जान नमानेको स्रोतले जनाएको छ। कुनैपनि पदाधिकारी जान नमानेपछि अन्तिम विकल्पको रुपमा सांसद् रहेका मेटमणि चौधरीले मौका पाएका थिए।

माधव सत्ताभन्दा पर बस्न रुचाउँदैनन्, उनलाई सत्ता चाहिन्छ, चाहिएको छ। त्यसैले सत्तामा सुरक्षा खोज्दै उनी यताउता चहारिरहन्छन्। बुधबार विपक्षी दलको बैठकमा नेपाल सामेल भएपछि पार्टीका सम्मानीत नेता झलनाथ खनाल असन्तुष्ट छन्।

उनले आज बिहानै बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डसँग १ घण्टा वार्ता गरेका थिए। प्रचण्डसँगको भेटमा खनालले आफूहरु वर्तमान सरकारप्रति दृढ रहेको विश्वास दिलाएका थिए। उनले आफूसँग सल्लाहनै नगरि नेपाल बुढानीलकण्ठ पुगेको भन्दै पार्टीमा कुरा गर्ने आश्वासन दिएका थिए।

यता विपक्षीहरुको गठबन्धनको बैठकमा माधव नेपालको पनि प्रवेशले बालुवाटार र बालकोटमा पनि चर्चा पाएको छ। नेपालले आफू बाध्यतावश सत्ता गठबन्धनमा भएपनि मन यतै रहेको भन्दै दुःख तथा मनको बह पोखेका थिए।

यता माधव नेपालले धेरैने निहुँ खोज्दै गएको भन्दै प्रचण्ड र एमाले अध्यक्ष ओली असन्तुष्ट छन्। सत्ता समीकरणमा असर पर्नसक्ने देखेमा र एकीकृत समाजवादीका महुमत सांसदले चाहेमा पार्टी फुटाउन सहज हुनेगरि अध्यादेश ल्याईदिने सम्मको योजना बनाएका छन्।

माधवको मूभ र चञ्चलताले आगामी दिनमा उनको पार्टीले कस्तो फल भोग्ला त्यो भने विस्तारै देखिँदै जानेछ।