विपक्षी गठबन्धनको बैठकमा माधव नेपाल सहभागी भएपछि हंगामा, ओली-प्रचण्ड सशंकित

विपक्षी गठबन्धनको बैठकमा माधव नेपाल सहभागी भएपछि हंगामा, ओली-प्रचण्ड सशंकित

काठमाडौं । समसामयिक राजनीतिक घटनाक्रम र मधेस प्रदेश सरकारको विषयमा विपक्षी गठबन्धनको बैठकमा छलफल भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा बोलाएर छलफल गरेका हुन् । 

प्रतिपक्षको बैठकमा देउवाले सत्तारूढ दल नेकपा (एकीकृत समाजवादी)लाई पनि बोलाएका थिए । माधव नेपाल नै विपक्षी गठबन्धनको बैठकमा सहभागी भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष ओली सशंकित बनेका छन् । विपक्षमा बहुमत जुटाउन कांग्रेसले पहल गरिरहेको अवस्थामा माधव नेपालको यो कदमलाई लिएर सरकारको भविष्य समेत अन्योलमा पर्न सक्ने देखिन्छ । 

कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा बुधबार साँझ माधव नेपाल, महन्थ ठाकुर र उपेन्द्र यादवसहितका नेताहरुको भेटमा नेपालले दिक्दारी पोखेको बताइन्छ। प्रमुख सचेतक मेटमणि चौधरीसहित देउवा निवास पुगेका नेपालले जसपा विभाजनपछि अन्योल थपिएको बताएका थिए ।

शीर्ष बैठकमा प्रचण्ड र केपी ओलीले जसपा फुटाएको र नेकपा एस पनि विभाजन गर्न अध्यादेशमार्फत राजनीतिक दलसम्बन्धी ऐन संशोधनको सम्भावना कायमै रहेकोबारे समेत छलफल भएको थियो । कांग्रेसलाई सदन अवरोध खुलाउन माधव नेपालको समेत आग्रह रहेको नेताहरुले बताएका छन् । कांग्रेसले अवरोध गरेको निहुँमा सदन अन्त्य गरेर अध्यादेशबाट बजेट ल्याउने र त्यही मौकामा आफ्नो दल विभाजन गर्ने अध्यादेशसमेत आउन सक्ने भएपछि नेपालले कांग्रेसलाई लचिलो बन्न आग्रह गरेको बताइन्छ ।

सर्वोच्च अदालतले जसपा विभाजनसम्बन्धी उपेन्द्र यादवको मुद्दामा दिने फैसलापछि नयाँ मुभ लिन सकिने एक नेताले बताए । नेताहरुको छलफलमा अदालतमा विचाराधीन मुद्दाको बारेमा समेत सामान्य छलफल भएको स्रोतले जनाएको छ ।

बुधबारको छलफलमा मधेश सरकारमा जसपाका मुख्यमन्त्री सरोज यादवलाई जोगाउनेबारे छलफल भएको छ । त्यस्तै सुदूरपश्चिममा नेकपा एसका मुख्यमन्त्रीलाई विश्वासको मत दिए पनि एमाले सरकारमा सहभागी नभएको सन्दर्भमा कांग्रेसको सहयोग आवश्यक पर्नेबारे समेत छलफल भएको छ ।

माधव नेपाल सत्तापक्षमा रहे पनि असन्तुष्ट छन् । आफूलाई रमिते बनाइएको र कुनै छलफल तथा बैठकमा नबोलाइएकोमा उनले अपमानित महसुस गरेका छन् । केही समय पर्खेर हेर्ने तर यही अवस्थामा नबस्ने उनले पार्टीका आन्तरिक बैठकमा बताएका छन् । बजेट र नीति कार्यक्रममा समेत आफ्नो पार्टीलाई बाइपास गरिएको नेपालको भनाइ छ ।

चौधरीले मधेश सरकार जोगाउन चार दलबीच सहमति भएको र यसको असर संघीय सरकारमा पनि पर्न सक्ने बताए । उनले आफूहरु अहिलेको सत्ता गठबन्धनमा लतारिएर नबस्ने बताए ।