त्यो शनिबारको स्मरण...

त्यो शनिबारको स्मरण...

रक्तदान गर्ने संस्थाका व्यक्तिले सोधे ? सर हजुर के मा आउनु भएको हो र? एक छिन बस्नुस।आराम गर्नुस। पानि पिउनुस् अनि आउनुस है। म मजस्तो ३२ औँ पटक रक्त दान गरिसकेको अनुभवीलाई  संझाउने विषय मेरालागि अनौठो  भयो । तर उनले भने आफ्नो  कर्तव्य  र दायित्व  निर्वाह गरे । म ३३औँ पटक रक्तदान गर्न आएको हुनाले मलाई भने त्यो  विषयमा संझाउनुको अर्थ थिएन।तर मलाई स्वास्थ्यकर्मीले सम्झाउनु  भनेको नजान्नेहरु सबैलाई सम्झाएर सचेत बनाउने जिम्मेवारी  राम्रोसँग निर्वाह गरेको  हुदा मलाई खुसी नै लाग्यो ।नजान्ने र नबुझ्नेहरुलाई सबै कार्यालयहरुमा यसरी नै सम्झाउने काम भयो भने सेवाग्राही कति लाभान्वित हुन्थे होलान् भन्ने कल्पनामा म आफू रमाए पनि।आराम गरेपछि पानी पिएर  जाँदा त्यहाँको  नियमानुसार  धेरै पटक नै ब्लड प्रेसर जाँच गर्दा सधैं उच्च रक्तचाप देखायो।रक्तचाप उच्च भएको कारण म रक्तदान गर्न अयोग्य भएँ । यो स्वाभाविक थियो ।

पटक पटक ब्लड प्रेसर नाप्दा पनि धैरै नै बढि भएकोले  अब मलाई स्वास्थ्यको विषयमा विशेष ख्याल गर्नुपर्ने भयो । त्यसैले भोलि ल्ट म आफ्नो स्वास्थ परीक्षण गर्ने सन्दर्भमा डा.दिवाकर शर्मा कहाँ पुगे । डाक्टरले इसीजी, इको गर्नुभयो । रगतको लिपिड प्रोफाइल, आरएफटी र एलएफटी गर्न लगाउनु भयो।  अनि रेनलडोप्लर गर्न सल्लाह दिनु भया े। त्यो भनेको अब मेरो किड्नी गएछ भन्ने  भयो । अर्ध ज्ञानका कारणले  मेरो  होसहवास् नै उड्यो । परिवारलाई भन्नै सकिन । यो स्वभाविक नै थियो । अरुलाई सम्झाउन ,अर्ती उपदेश दिन सजिलो  हुन्छ । तर त्यहीँ समस्या आफुलाई परेको बखत मानिसले होस् गुमाउछ भन्ने अनुभवलाई  मैले सधैं  सुरक्षित राखेको छ।मानिसले दुःखलाई भुल्दैन।मनको एउटा कुनामा दुःखका दिनहरुलाई  थन्क्याउदो रहेछ।अब उपचारको राम्रो व्यवस्था कसरी गर्ने ? कहाँ गर्ने? र कोसँग गर्ने छट्पटी शुरु भयो । बिरामी भएपछि त्यो छट्पटी हुने विषय अनौठो  हैन । अब जचाउने ठाउँ सबै तिर बुझ्ने अभियान शुरु भयो । सबै तिर फोन गर्दा यस्तो  परीक्षण कतै पनि नपाउदा निराश पनि भयौं । व्यापक खोजतलास पछि बल्ल  तल्ल काठमाण्डौ इमिजिन सेन्टरमा पर्सि पल्टको समय  मिल्यो । पर्सि पनि  मेरो लागि धेरै टाढा भएको थियो । पर्सि आउन नै धेरै कठिन भयो । किनकि  ती दुई दिन मेरा लागि दुई महिनाभन्दा पनि लामो लाग्यो । मलाई  रोगले हो वा पीडाले किन हो  दुईरात बिताउन साह्रै गार्हो भयो । छोरा भर्खर जन्मेको थियो । अब मलाई के हुने हो भन्ने चिन्ताले न निद्रा लाग्छ न कसैसँग कुरा नै गर्न मनलाग्छ । अब रोक भन्दा पनि म शोकले गल्दै गएको अनुभव हुनथाल्यो । आफ्नो भन्दा नवजात शिशुको र श्रीमतीको अन्धकार भविष्यको कल्पनाले मलाई सताउन थाल्यो । जब शरीरमा समस्या आउँछ, त्यसपछि मनमा विविध प्रकारका नकारात्मक  विषयहरुले मानिसका मनमा धेरै  कुराहरु  खेल्दा रहेछन् । ह्दय घात भएर फ्याट्ट गएँ भने त ठिकै ह‍ोला । यदि पक्षाघात भयो भने के होला भन्ने कल्पना र चिन्ताले अझ कमजोर  र अशक्त भएको  अनुभूतिलाई अहिले सम्झदा पनि मन काम्छ । विवाह गरेको दिनबाट आजसम्म श्रीमतीलाई केहि दिन  घुमाउन  केहि  किनिदिन  र रमाइलो गर्न सकेको छैन । उल्टै उनैले सबै गरिदिएकी छिन् । म हिडडुल गर्न नसक्ने भएँ भने  सम्भावित  दःखकष्टको कल्पनाले मेरो आत्मबल कमजोर भएको  विषय अब रोगभन्दा पनि खतरा बन्यो ।

छोराछोरी सानै छन् । यिनीहरुको लालनपालन  र शिक्षादिक्षाको विषय झन् मनमा खेल्न थाल्यो । अब त आफ्नो भन्दा पनि  लालावालाहरुको जीवनको अँध्यारो पक्ष मेरो मनमस्तिष्कमा  खेल्न थाल्यो । कतै उज्यालो  देख्दिन । मेरो किड्नि गएको रहेछ वा  प्यारालाइसिस भयो भने के गर्ने ? भन्ने चिन्ताले मलाई साह्रै सतायो । श्रीमती सोधिरहन्थिन के भयो ? किन अँध्यारो अनुहार ? मलाई  किन  कुरा लुकाएको ?  भन्ने प्रश्नको  उत्तर नै मसँग नभएकोले म ती विषयमा निरुत्तर हुनुको विकल्प पनि थिएन । सबै कुरा भनौं भने सबै परिवार हतोत्साही  हुन्छ भन्ने बुझाईले म किंकर्तव्य विमूख छ ु। पर्सि पल्ट पालो आयो । उत्साह हराएको अवस्थामा  अस्पताल पुगे । परीक्षणको रिपोर्टले  रोग नभएको पुष्टि भयो । त्यो क्षणको खुसीको  अहिले त कल्पना पनि गर्न सक्दिन । मानिस कसरी एकैछिनमा खुसी हुनसक्छ भन्ने अनुभव सगालेको छु तर त्यो अनुभवलाई जस्ताको त्यस्तै अहिले म कागजमा अनुवाद गर्ने क्षमता राख्दिन । मनका दुःखसुखहरुलाई जस्ताको त्यस्तै अनुवाद गर्ने क्षमता विशिष्ट लेखकहरुमा त विरलै पाइएला भने मैले त्यो क्षमता भएन भनेर चित्त दुखाउनु पनि उपयुक्त नहुन सक्छ । सामान्य मानिसले असामान्य अवस्थालाई शब्दमा अनुवाद गर्ने विषय वास्तवमा असम्भव  रहेछ भन्ने अनुभवलाई  नै मैले साटासाट गर्न खोजें । खासै केहि नभएकोले  डाक्टरले प्रेसर घटाउने औषधी दिनुभयो । खानपान  ,शारीरिक ब्यायम साथै जीवनशैली परिवर्तन गर्ने सल्लाह दिनुभयो । जीवनमरणसंग जोडिएको जीवनशैली परिवर्तन गर्ने त्यसबखत  अठोट गरे । पहिलो तीन महिना त पूरै पालन गरे । तीन महिनापछिको परीक्षणमा सामान्य देखियो । अनि कहिले औषधि खाने कहिले नखाने  गर्न थालें । खानामा पनि बार्ने बानी घट्दै गयो । शारीरिक व्यायम पनि  नियमित हुन छोड्यो । ६ महिना पछि डाक्टरकोमा पुग्दा अलि अलि गाली खाईयो । औषधीको डोज थपियो । एवम रितले ६ महिना बर्ष दिनमा डाक्टरकोमा जाने  डाक्टर फेर्नै काम भयो । हप्तौँ औषधी छुटाउने गर्न थालियो । पहिला एउटा औषधी खाने गरेको  निरन्तरता नदिदाँ पछि तिन थरि खान पर्ने अवस्था आयो । बिचमा इसीजी, इको, हल्टर, टिएमटी गरियो । रिपोर्टले सबै खतरामुक्त अवस्था रहेको देखायो । यद्यपि जाडो मौसम ब्लडप्रेसर बढ्ने गर्थो । उपचार गर्दा गर्दौ १२–१४ वर्ष बितिसकेको थियो । 

२०७३ अषार ६ गते शनिबार चितवन जाने काम पर्यो । हामीले पवित्र तिर्थ स्थल देवघाटमा १ सय ३० फिट अग्लो शिवको मुर्ति अष्ट धातुबाट निर्माण गर्न लागेकोले दुई ट्रिप अष्टधातु नेपालगन्जबाट ल्याईएको थियो । त्यो हामीले आईतबार बिहान बुझ्नु थियो, त्यसैले देवघाट जाँदै थियौँ ।  अहिलेको समयमा पनि त्यत्रो लगानीमा मुर्ति बनाउने भन्ने प्रश्न पनि नउठेको होईन तर देवघाट चर्चित पवित्र स्थल, देवताहरुको स्नान ,जपतप गर्ने स्थल, मध्य नेपालमा अबस्थित, सबै नेपाली, पोखरा,चितवन,लुम्बिनी आउने जाने ,पशुपतिनाथ,मुक्तिनाथ दर्शन गर्न आउने बिदेशीहरुलाई सजिलै पुर्याउन सकिने भएको देखिने एउटा मुर्ति बनाउदा राम्रो हुन्छ भन्ने लागेर बनाउन लागि परेको । हामी गाडीमा त्यहि बिषयमा कुरा गर्दै थियौँ तर मैले त्यता ध्यान दिन सकिरहेको थिएन । कलंकीबाट जति तलतिर जाँदै थियौँ मलाई देब्रे छाती तिर पिडा बढ्दै थियो,पसिना आउन थाल्यो गाडीमा ऐसी चलिरहेको छ । मैले डाक्टरहरुको युट्युवमा हृदयघातको लक्षण थाहा भएकोले मलाई त्यो शँका लाग्यो । साथिलाई भने । साथिले बिलम्ब नगरि गाडि फर्काउनुभयो । 

बाटोमा ढुँगेअड्डामा पर्ने  बागेश्वरी हस्पिटलमा इसीजी गराए । मुटुको असामान्य चाल अनि देखिएपछि चिकित्सकले ४ चक्कि एस्पिरन खान दिनुभयो । ट्वाईलेट जान मन लाग्यो साथिहरुले चुकुल लाउन दिनुभएन । अनि हामि अघि बढ्यौ । बिकल्प नर्भिक कि गँगालाल । नर्भिक जाऊँ भने अहिले धरौटि राख्ने पैसा  आफन्त आएर सहि गर्नु पर्ने त्यो प्रकृया पुर्याउँदा मेरो बिदाई हुन सक्ने सोचेर गँगालाल तर्फ लाग्यौ । श्रीमतीलाई फोन गरेँ भने आत्तिएर उनिलाई केहि होला भन्ने लाग्यो र भाई कान्छोलाई अबस्थाबारे जानकारी गराए । शनिबार बाटो खाली नै भएकोले गँगालाल चाडंै नै पुगियो । त्यो बिचमा मैले खोक्ने, युट्युबमा सिकेको प्रकृया अपनाउदै गेटमा पुग्यौ । निजि गाडीको लागि नखोलेपछि म आफै झरेर इमर्जेन्सीमा पुगेँ । आफ्नो स्वास्थ्यमा देखिएको समस्याबारे भने । डा.दिवाकर शर्माको टिम तयारी अवस्थामा रहेछ । आधा घण्टा भित्र मेरो मुटुको अवरुद्ध भल्भ खोलेर स्टेन राख्ने काम भयो । पैसाको कारणले केही रोकिएन सबै हस्पिटलले व्यवस्था गर्यो । बिच बिचमा डा.चन्द्रमणि अधिकारीले सोध्ने गर्नु हुन्थ्यो, सायद होस छ कि छैन भनेर हो कि ? म घरि घरि वहाँहरुको बार्तालाप सुन्थे ।  सायद म अर्ध होसमा थिएँ होला । मलाई ल्याबबाट बाहिर निकालियो । गेटमा मेरो परिवार कुरिरहेका रहेछन् । मलाई सोझै आइसीयूमा लगियो । त्यहाँ डाक्टरहरु भेन्टिलेटरमा राख्ने कुरा गर्नुहुन्छ । म आफूलाई स्वस्थ महसुस गरिराखेको छु तर वहाँहरुले मलाई नाजुक देखिरहनु भएको छ । लाग्यो मान्छे महसुस गरिगरि सजिलै मर्दोरहेछ । पछि एबिजि रिपोर्ट हेरेपछि मलाई भेन्टिलेटरको सहयोग चाहिएन । आईसीयूमा जुरुक्क उठ्न पनि नपाईने । एउटा बिरामीलाई एउटा मृदुभाषी नर्सले  आफ्नो सबैभन्दा नजिकको आफन्तलाई जस्तो व्यवहार गर्ने । हामि त छोरीबहिनीलाई भगवान मानेर ढोग्ने व्यवहार गर्ने सँस्कारमा हुर्किएको ति नर्स नानीले ढाडमा पाउडर लगाइदिने लगायत गरेको सेवाले साह्रै पाप गरेको महसुस भयो । आइसियूमा ट्याँ ट्याँ आबाज, डाक्टर नर्सहरुको दौडधुप , एकै छिनमा बोलिरहेको बिरामीको मोनिटर अर्कै आवाज डाक्टर नर्सको भरमग्दुर प्रयास । अनि असफलता सेतो कपडाले मुखसहित शरिर छोप्ने यस्तै हेर्दै सातदिन आइसियूमा बिताईयो । सुरक्षा गार्ड, डाक्टर  नर्स सबै भन्थे भेटघाटमा आउनेको अगाडी बिरामी नै बनिदिनुस् न । तपाईको कारणले अरु बिरामीलाई पनि डिस्टर्ब भयो । तपाईको भिजिटर र अन्य सबै बिरामीको भिजिटर उत्तिकै भयो । हामिले भर्खर ३ नम्बर प्रदेशको मुख्यमन्त्रीको उपचार गरेर पठाएको यत्तिको भिड उहाँको पनि थिएन । सात दिन पछि मलाई जनरल वार्डमा सारियो । २ दिन त्यहाँ भिडभाड बनाएपछि नवौँ दिनमा डायटिसियन, फिजिसिएन, मुटुरोग बिशेषज्ञ लगायतको टिमले काउन्सिलिङ गरि १५ दिन पछि आउने गरि मलाई घर पठाईयो । 

म आफू त एसी कोठामा । सबै सेवा लिई आनन्द सँग सुतिरहेको । बाहिर मेरा घर परिवार आफन्तलाई परेको पिर । हस्पिटलमा श्रीमतीको फोन चोरी भएछ । उनि सातै दिन  रात राम्रो सँग नसुति बसिछिन् । आफन्त शुभचिन्तकको शुभकामना शुभाशीष । पछि हेर्छु सामाजिक सन्जालमा सयौँ शुभचिन्तकको शुभकामना । हस्पिटलमा नजिकका आफन्तले जिम्मेवारी लिएर हस्ताक्षर गर्न पर्ने एउटा साथिले म बहिनी ज्वाई भनेर सहि गर्नु भएछ ।  गँगालाल हस्पिटल राम्रो सस्तो सरकारी हस्पिटल । त्यहाँका डाक्टर  नर्स, स्वास्थ्यकर्मी सबै साँच्चिकै उच्चकोटीका मानव । उहाँहरुको व्यवहारले गँगालालमा धेरैले पुनर्जीवन पाएका छन् । बिरामी कुरुवालाई कुनै ब्यबस्था नभएको ले त्यता ध्यान दिन पर्ने देखिन्छ । यस्तै हस्पिटल सबै प्रदेशमा भए धेरैले पुनर्जीवन पाउने थिए । 
औषधी बेलामा नखाने, शारिरिक व्यायम, खानपानमा ध्यान नदिदा परिवारलाई साह्रै सास्ती हुन्छ ।

                                                                                                                                       –ऋषीश्वर थपलिया