सदर चिडियाखाना  : १ वर्षमा १७ करोड ७५ लाख रुपैंया आम्दानी

सदर चिडियाखाना  : १ वर्षमा १७ करोड ७५ लाख रुपैंया आम्दानी

काठमाडौं । सदर चिडियाखानाले १७ करोड ७५ लाखभन्दा बढी आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७९/८० मा ३ करोड भन्दा बढी आम्दानी गरेको भएतापनि अझै लक्ष्यमा पुग्न सकेको छैन । 

जावलाखेलस्थित सदर चिडियाखाना गत आवमा उक्त स्थानमा १० लाख ८६ हजार ६ सयले अवलोकन गरेका थिए । त्यसबाट १७ करोड ७५ लाख ७१ हजार आम्दानी गरेको चिडियाखानाले जानाएको छ । अवलोकनकर्ताले प्रवेश शुल्क (टिकट) नै यहाँको मुख्य आम्दानीको स्रोत हो । गत आर्थिक वर्षका लागि २० करोडको लक्ष्य लिएको चिडियाखानाले लक्ष्यभन्दा तीन करोड कम आम्दानी गरेको चिडियाखानाले जनाएको छ । 

अघिल्लो आर्थिक वर्षमा आठ लाख ४३ हजार छ सय ३० ले चिडियाखानाको अवलोकन गर्दा १४ करोड १८ लाख ४२ हजार आम्दानी भएको थियो । विगतका तीन वर्षमा कोरोनाका कारण अवलोकनकर्तामा कमी आएकाले आम्दानी कम भएको थियो । गत आवमा उलेख्यरूपमा अवलोकनकर्ता आएकाले आम्दानी बढेको चिडियाखानाका पदाधिकारीहरुको दावी छ । कोरोनाको त्रास हटेसँगै दैनिक तीन हजार अवलोकनकर्ता आउने गरेको तथ्यांक छ । अवलोकन गर्न विदेशीका लागि रु. ७ सय ५०, सार्क देशका लागि रु.५ सय, नेपालीलाई रु.२ सय तथा नेपाली विद्यार्थी र ज्येष्ठ नागरिकका लागि रु.९० शुल्क निर्धारण गरिएको छ ।
अवलोकनबाट उठ्ने शुल्कबाट नै चिडियाखानाले कर्मचारीलाई तलबभत्ता र जीव, जनावरलाई खाना खुवाउनेलगायत व्यवस्थापनको काम गर्दै आएको छ ।

चिडियाखानामा एक सय १० प्रजातिका एक हजार ६८ जीव, जनावर रहेका छन् । त्यहाँका मुख्य आकर्षणका रूपमा बाघ, भालु, चितुवा र रातो हाब्रे हुन् ।
यहाँ रहेका जीव जनावर तथा पशु पन्छीमध्ये ३३ स्तनधारी, ६१ चरा, आठ उभयचर र १७ प्रजातिका माछा छन् । नेपालमा लोप हुन लागेको भनी सूचीकृत ३८ दुर्लभ वन्यजन्तुमध्ये १५ लाई चिडियाखानाले संरक्षण गरी राखेको छ ।

तत्कालीन राणा प्रधानमन्त्री श्री ३ जुद्धशम्शेर जङ्गबहादुर राणाले सन् १९३२ मा यो चिडियाखाना स्थापना गरेका हुन् । विसं २०११ देखि सर्वसाधारणका लागि खुला गरिएको चिडियाखानाको वि.सं. २०५२ देखि व्यवस्थापनको जिम्मेवारीसहित राष्ट्रिय प्रकृति संरक्षण कोषबाट सञ्चालित छ ।