एमालेमा फेरि चर्कियो असन्तुष्टि, ओलीले मापदण्डबिनै कार्यविभाजन गरेको आरोप

एमालेमा फेरि चर्कियो असन्तुष्टि, ओलीले मापदण्डबिनै कार्यविभाजन गरेको आरोप

काठमाडौं । अध्यक्ष केपी शर्मा ओलीले ‘बिनामापदण्ड’ राखेको प्रस्तावमा केन्द्रीय सदस्य मनोनयन, पोलिटब्युरो तथा स्थायी कमिटी गठन र कार्यविभाजन गरिएको भन्दै एमाले नेताहरू असन्तुष्ट बनेका छन् । ४४ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गर्दा तथा ९९ सदस्यीय पोलिटब्युरो र ४५ सदस्यीय स्थायी कमिटी बनाउँदा छलफल नगरिएको भनी ओलीनिकट नेताहरूले समेत गुनासो गरेका छन् ।

भक्तपुरमा बसेको केन्द्रीय कमिटी बैठकमा ओलीले नाम प्रस्ताव गरेलगत्तै उपाध्यक्षद्वय अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीका साथै उपमहासचिव पृथ्वीसुब्बा गुरुङले मापदण्डबिनै नाम आएको भन्दै विरोध जनाएका थिए । ‘कम्तीमा १९ पदाधिकारीबीच छलफल गरेर मापदण्ड बनाउनुपर्थ्यो । त्यसो गर्दा सबैले चित्त बुझाउने ठाउँ हुन्थ्यो । पार्टीलाई सामूहिक नेतृत्वमा चलाउनुपर्छ,’ बैठकमा ज्ञवालीले भनेका थिए ।

उपाध्यक्ष शाक्यले अध्यक्षको प्रस्तावले पार्टीमा न्याय नभएको भन्दै असन्तुष्टि जनाएकी थिइन् । ‘महत्त्वपूर्ण कमिटी गठन र केन्द्रीय सदस्यको मनोनयनमा अध्यक्षले सल्लाह गरेको भए सजिलो हुन्थ्यो । यसअघि छलफल र सल्लाह भएन । मूल्यांकनको परिपाटी हिजो थियो । आज त्यसलाई नजरअन्दाज गरियो,’ शाक्यको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने ।

अध्यक्ष ओलीले व्यक्तिगत निर्णय लिएको भन्दै उपमहासचिव गुरुङले असन्तुष्टि जनाएका थिए । मापदण्ड नबनाई व्यक्तिगत निर्णय गर्दा वरिष्ठ नेताहरूसमेत पोलिटब्युरोमा छुटेको उनको भनाइ थियो । ‘विधिसम्मत तरिकाले छलफलबाट सबै टुंग्याउनुपर्थ्यो । व्यक्तिगत निर्णय लिनु गलत हुन्छ । पार्टीलाई सामूहिक निर्णय प्रणालीमा लैजानुपर्छ,’ गुरुङले भनेका थिए । केन्द्रीय सदस्यको मनोनयन र पोलिटब्युरो गठनमा उपाध्यक्ष सुवास नेम्वाङ, सचिव गोकर्ण विष्ट र योगेश भट्टराई तथा स्थायी कमिटी सदस्य घनश्याम भुसालले पनि असन्तुष्टि राखेका थिए । नेम्वाङले इलामबाट मणि लिम्बूलाई केन्द्रीय सदस्यमा मनोनयन गर्नुपर्ने बताएका थिए । भुसालले अन्यायपूर्ण र अपमानपूर्ण प्रस्ताव आएको टिप्पणी गरे ।

केन्द्रीय सदस्य भगवती चौधरीले कार्यविभाजनमा अन्याय भएको बताइन् । ‘मभन्दा जुनियरलाई कुन मापदण्डबाट पोलिटब्युरो बनाइयो रु’ उनले भनिन् । केन्द्रीय सदस्यहरू श्रीमाया थकाली, टुका हमाल, ममता गिरी, लालबहादुर थापालगायतका नेता पनि पोलिटब्युरोमा नपरेपछि असन्तुष्ट छन् ।

बैठकले केन्द्रीय पदाधिकारीको वरीयताक्रम पनि तय गरेको छ । अध्यक्ष ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलपछि उपाध्यक्षको पहिलो वरीयतामा युवराज ज्ञवाली छन् । त्यसपछि उपाध्यक्षहरू अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, विष्णु पौडेल, सुवासचन्द्र नेम्वाङ र सुरेन्द्र पाण्डे छन् । महासचिव शंकर पोखरेलपछि तीन उपमहासचिवमा प्रदीप ज्ञवाली पहिलो वरीयतामा छन् । दोस्रोमा पृथ्वीसुब्बा गुरुङ र तेस्रोमा विष्णु रिमाल छन् । सचिवमा पूर्वमाओवादी नेता टोपबहादुर रायमाझी पहिलो र लेखराज भट्ट दोस्रो वरीयतामा छन् । त्यसपछि रघुवीर महासेठ, छविलाल विश्वकर्मा, गोकर्ण विष्ट, योगेश भट्टराई, पद्मा अर्याल छन् । एक नेताका अनुसार सचिव विष्ट र भट्टराई वरीयता र कार्यविभाजनप्रति असन्तुष्ट छन् ।

केन्द्रीय सदस्य झपट रावलले अध्यक्ष ओलीको बोली र व्यवहार फरक देखिएको बताए । यसअघि ओलीले पार्टीमा कसैलाई पक्षपात र अन्याय नगर्ने भने पनि व्यवहारमा प्रतिशोध देखिएको उनको भनाइ छ ।