तपाईलाई पकेटमारको कोड भाषा थाहा छ ? पकेटमारबाट बच्न जानी राख्नुहोस् यस्ता कोडहरू

तपाईलाई पकेटमारको कोड भाषा थाहा छ ? पकेटमारबाट बच्न जानी राख्नुहोस् यस्ता कोडहरू

काठमाडौ । चाडपर्व नजिकिँदै गर्दा बजारमा बजारमा हुने भीडभाडलाई मध्यनजर गर्दै पकेटमारको चहलपहल पनि बढ्ने गर्दछ । चाडवाडमा हुने चलहपलहसँगै हुने गरेको आर्थिक कारोवारका कारण पकेटमारहरु पनि सल्बलाउने प्रहरीको भनाई छ ।

सोमबार मात्रै प्रहरीले पकेटमारी तथा चोरी गर्ने २०७ जनालाई पक्राउ गरी सार्वजनिक ग¥यो । जनसमध्ये धरौटी बुझाउन नसकेका  ४६ जनालाई काठमाडौं जिल्ला अदालतको आदेशपछि कारागार चलान समेत गरिएको छ । 

पकेटमारहरु सिजनल र सदाबहार गरी दुई प्रकारको हुने प्रहरीले बताएको छ । चाडपर्व र जात्राको बेला मात्र पाकेट मार्नेहरू सिजनल पकेटमार हुन् भने उनीहरू विशेषगरी असन, इन्द्रचोक, मख्खन गल्लीलगायतका किनमेल हुने क्षेत्रहरुमा बढी हुनछन् । त्यस्तै सडक बालबालिका र दुर्व्यसनी मा फसेका युवायुवती सदाबहार पकेटमार हुन् ।

प्रहरीका अनुसार असन, पुरानो बसपार्क, भृकुटीमण्डपलगायत क्षेत्र सबैभन्दा धेरै पकेटमारी हुने क्षेत्र हुन् । त्यस्तै बनेपा, भक्तपुर र कीर्तिपुरबाट आएका गाडीमा धेरै पकेटमारी हुने प्रहरीको भनाई छ । उनीहरु सार्वजानिक बसहरुमा समूह बनाएर हिड्ने र एक अर्कालाई कोड भाषा प्रयोग गरेर कुन यात्रुसँग पैसा छ वा छैन भन्ने थाहा पाउने गर्छन् । गाडीमा अगाडि र पछाडिबाट घेरावन्दीमा पारी ठेलमठेलको अवस्था बनाएर मौका छोप्छन् ।

केतिक भाषा प्रयोग गर्दै लुट्छन् र पालैपालो ओर्लिनछन् ।  कतिपय पकेटमारको चालक र सहचालकसँग समेत मिलेमतो हुने गरेको प्रहरी बताउँछन् । 

प्रहरीले पकेटमारदेखि सजग रहनु सर्वसाधारणमा अनुरोध समेत गरेको छ । 
यस्तो छ पकेटमारको कोड भाषा 

पैसा– द
मोबाइल– कान
पकेटमारी पीडित– रामे
पकेटमारी गर्नु– मास्टर–कासी
पैसा धेरै छ– टानको द
पैसा थोरै छ– जुटको द
गाडी– काँचा
केटा– छापा
केटी– भद्री
पुलिस आयो– ठूलदाइ आयो
चालक– मामा
सहचालक– मले
गाडीबाट झरेर भाग– टप्की
गाडीभित्र अगाडि सर– अकल जा
गाडीभित्र पछाडि सर– चिछल जा
पकेटमारी गर्ने (मास्टर) – काशी