नेपाली सेयर बजारमा डिम्याट खोल्ने लगानीकर्ताको संख्या ४४ लाख नाघेको छ। आफूसँग भएको आईपीओ बेच्न अहिले दैनिक रुपमा टीएमएस खोल्नेहरुको संख्या पनि बढ्दो छ।
सेयर बजारका अधिकांश नवप्रवेशी लगानीकर्ता आफूसँग भएको आईपीओ कहाँबाट र कसरी बेच्ने रु भन्नेबारे अनभिज्ञ छन्। अहिले नयाँ लगानीकर्ताको अनभिज्ञताका फाइदा उठाउँदै टीएमएस अकाउन्ट खोल्ने बहानामा लगानीकर्ताबाट रकम असुल्ने समूहहरु बजारमा सक्रिय भएका छन्।
‘मनकामना लघुवित्तको सेयर परेको थियो। पहिलोपटक आईपीओ परेकाले कसरी बेच्ने थाहा थिएन। फेसबुक ग्रुपहरुमा सेयर बेच्नका लागि टीएमएस अकाउन्ट खोल्न ५०० रुपैयाँ तिरेमा २४ घन्टामै अकाउन्ट बन्छ भन्ने पोस्ट देखेँ’, एक लगानीकर्ताले भने, ‘टीएमएस अकाउन्ट खोलेपछि बल्ल थाहा भयो टीएमएस त निःशुल्क खोल्न सकिने रहेछ भन्ने।’
ब्रोकरहरु भने विगतमा भन्दा अहिले टीएमएस अकाउन्ट खोल्न धेरै सहज भएको बताउँछन्। ‘पहिला नयाँ टीएमएस अकाउन्ट खोल्ने लगानीकर्ताहरुको संख्या धेरै थियो। त्यसैले अकाउन्ट खोल्न केही दिन लाग्थ्यो।
अहिले लगानीकर्ताहरुले ब्रोकरको वेबसाइटबाट पनि सजिलै खाता खोल्न सक्नुहुन्छ’, एक ब्रोकरले भने, ‘विगतको तुलनामा अहिले धेरै सहज भएको छ।’
अहिले गाउँघरमा सोझासाझा लगानीकर्ताबाट टीएमएस अकाउन्ट खोल्दिने बहानामा पैसा उठाउने गरेको पाइएको ती ब्रोकरले बताए। ‘ब्रोकरकोबाट निःशुल्क खोल्न सकिने टीएमएस अकाउन्टको पैसा लिनु गलत हो’, ती ब्रोकरले भने, नियामक निकायहरुले यस्ता समूहलाई कानुनी रुपमा कारबाही गर्नुपर्छ।’
सेयर बजारको फ्रन्ट लाइन रेगुलेटर नेप्सेका निमित्त प्रमुख निरान्जन फुयाँलले कुनै व्यक्तिले मात्र नभएर ब्रोकर पनि संलग्न भएर यस्तो काम भएको हुन सक्ने बताए।
‘लगानीकर्ताहरुले निःशुल्क पाउनुपर्ने सेवामा ब्रोकरको पनि संलग्नता भएको प्रमाणसहित पेस गरेमा कानुनबमोजिम कारबाही हुन्छ’, उनले भने, ‘कुनै व्यक्तिले ब्रोकरको संलग्नता बिना नै यस्तो कार्य गरेको भेटिएमा उक्त व्यक्तिलाई ठगी मुद्दा अनुसार कारबाही गर्नुका साथै लगानीकर्ताको पैसा ब्याजसहित फिर्ता दिनुपर्छ।’