डढेलोको कारण संसारका वैज्ञानिक किन चिन्तित ?

डढेलोको कारण संसारका वैज्ञानिक किन चिन्तित ?

वैज्ञानिकका अनुसार नेपाल र उत्तर भारतका केही इलाकामा लागेको डढेलो पछिल्लो १५ वर्षको सबैभन्दा भीषण हो । युरोपेली संघको कपरनिकस एटमोस्फेरिक मनिटरिङ सर्भिस (सीएएमएस) का अनुसार पछिल्लो एक महिनामा उत्तराखण्डको जंगलमा लागेको डढेलोका कारण ०.२ मेगा टन कार्बन उत्सर्जन भएको छ । यो सन् २००३ पछिको सबैभन्दा धेरै हो ।

एजेन्सीले सेटलाइटबाट खिचिएको तस्बिर विश्लेषण गरेर यतिबेला नेपालमा १८ मेगा टन कार्बन उत्सर्जन भएको जानकारी दिएको छ । यो सन् २०१६ पछिको सबैभन्दा धेरै हो । त्यस वर्ष २७ मेगा टन कार्बन उत्सर्जन भएको थियो । सीएएमएसका शीर्ष वैज्ञानिक मार्क पेरिङ्टन भन्छन्, ‘यसले यो बताउँछ कि यो क्षेत्रमा आगो कस्तो तीब्रतामा फैलिरहेको छ । यो चिन्ताको कुरा हो ।’ नेपाल र उत्तरखण्डको डढेलाका कारण हालसम्म २० जनाको मृत्यु भएको सूचना छ । लाखौं हेक्टर जङ्गल जलेर खसानी भइसकेको बताइन्छ । यद्यपि, आधिकारिक आँकडा जारी भएको छैन ।

नेपालमा अघिल्लो महिना एकैपटक पाँच सयभन्दा बढी जङ्गलमा आगलागी भएको थियो । पछिल्ला केही दिनदेखि नेपालको हावाको स्तर खतरनाक भएको छ ।नेपालका थुप्रै राष्ट्रिय उद्यान र जंगल भारतका उद्यान र जङ्गलसँग जोडिन्छ जसको अर्थ यो हो कि नेपालबाट भारत र भारतबाट नेपालमा आगो फैलन सक्छ । पछिल्ला केही महिनादेखि नेपाल र उत्तर भारतका थुप्रै इलाकामा वर्षा भएको छैन । जसका कारण जङ्गल सुख्खा भएका छन् । भारतको नैनीताल क्षेत्रमा जङ्गलको इतिहासका विशेषज्ञ प्राध्यापक शेखर पाठक भन्छन्, ‘थुप्रै महिनादेखि न त वर्षा भएको छ न नै हिउँ परेको छ । यसैकारण हत्तपत्त नसल्कने रुख पनि बल्न थालेका छन् किनभने जमिन पूर्ण रुपमा सुख्खा छ ।’

चिन्ताको कुरा यो हो कि साधारणतया भीषण डढेलो मे महिनामा लाग्छ । अझै यो समय आउन बाँकी नै छ । यस्तोमा जङ्गलको डढेलोले थप भयावह रुप लिने हो कि भन्ने चिन्ता छ । वैज्ञानिकका अनुसार यी क्षेत्रमा डढेलो लाग्नुमा जलवायु परिवर्तनको प्रत्यक्ष असर परेको त छैन तर यसैकारण यहाँका क्षेत्र सुख्खा भएका छन् । 

यस्तै नेपाल र भारतका अधिकारीका अनुसार थुप्रै स्थानमा जङ्गल नजिकैका खेतमा सुख्खा बोटबिरुवा बालिएका कारण पनि जङ्गलमा डढेलो सल्किएको छ । तर विशेषज्ञका अनुसार यो समस्या मौसम र सुख्खा बोटबिरुवामा आगो लगाइनु मात्रै सिमित छैन ।अक्फ्यामसँग सम्बन्धित तथा भारतको छत्तीसगढमा काम गर्ने प्राकृतिक संसाधन प्रबन्धन विशेषज्ञ विजेन्द्र अजनबी भन्छन्, ‘सरकारका नीति निर्मातालाई लाग्छ कि जङ्गलको काम कार्बनलाई अक्सिजनमा बदल्नु हो तर उहाँहरुले यो बिर्सनुहुन्छ कि जङ्गलमा डढेलो पनि लाग्छ र यस कारण पनि कार्बन उत्सर्जन हुन्छ ।’