काठमाडाैं । माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने र तत्कालीन एमालेसँग एकता गराउने क्रममा वामदेव गौतमको योगदानलाई कम आँक्न हुँदैन र मिल्दैन पनि । उनी त्यो बेलासमेत जनयुद्धको जन्मभूमि रोल्पा पनि पुगेकै हुन् । विभिन्न समय, विभिन्न ठाउँमा भएका वार्तामा सहभागी भएकै हुन् । एक्लो प्रयासमा शान्ति प्रक्रियाको अभियान नै छेडे । तर, दुई वर्षअघि एमाओवादीसँग नेकपा एमालेको एकता हुँदैछ भन्ने भेउ तिनै गौतमलाई दिइएन ।
आफूलाई विभिन्न आरोप लागेको बखत पनि गौतमले मेहनत गर्न छाडेनन् । माओवादीलाई नजिक ल्याउन खोजेवापत माओवादीकै पिछलग्गु बनेको आरोप लगाइयो । उनै गौतमले कहिले माओवादीलाई ठेगान लगाउन आतंककारी विधेयकको समेत नेतृत्व गरे । पछि फेरि त्यहि माओवादीसँग मिल्नुपर्छ भन्दै पार्टीभित्र चर्को लबिङ्ग गर्न पुगे । गौतमका ती गतिबिधिमाथि प्रहार गर्ने समय ढुकेर बसेका एकथरिले माओवादीको पिछलग्गु र परस्त भनेर लामो समयसम्म खेदिरहे । तर, पार्टी एकता गर्दा तीनै एकथरि उनै गौतमलाई भाउ दिएनन् ।
२०७५ जेठ ३ गते पार्टी एकीकरण भयो । आफूलाई अपमानित गरिएको भन्दै सोही वर्षको पुसमा आयोजित स्थायी कमिटी बैठकमा उनले पार्टी एकीकरण गर्नु नै गलत रहेको धारणा व्यक्त गरे । पार्टी एकीकरणको औचित्य नै नरहेको भन्दै फरक मत राख्ने ठाउँसम्म पुगे ।
अहिले फेरि गौतमकै जोडबलले राजनीतिक डिलमा पुगेको केपी शर्मा ओलीको सरकार अडिएको छ । दुईवटा पदमध्ये एउटा छाड्न लगाउने अभियान उत्कर्षमा पुगेको बखत एकाएक प्रचारमा ल्याइएको ‘छ बुँदे मिलन सूत्र’ भित्री रूपमा उनको थिएन । किनकि उक्त सूत्रमा प्रधानमन्त्री ओली पुनः दुईवटै पदमा कायम रहने विषय प्रमुख थियो । त्यसरी केपी ओलीलाई फेरि एकपटक अभयदान दिने नेतालाई पार्टीभित्रको थप विवाद मिलाउन भन्दै गठन गरिएको कार्यदलको बारेमा पनि अत्तोपत्तो नै दिइएन । यसरी पछिल्लो पटक कार्यदलको सम्बन्धमा समेत उनलाई अलपत्र पारियो र नराम्रोसँग ठगिए ।
गौतमको विशेषता नै अनावश्यक ढंगले हौसिने, मच्चिने र थच्चिने
गौतमको विशेषता नै अनावश्यक ढंगले हौसिने, मच्चिने र थच्चिने हो । त्यत्तिले नपुगेर आफूले विगतमा गरेको कुरोसमेत आफैँले थाहा नपाउने र त्यसैको बिरोधमा फेरी उग्र हुने वनको पुरानै स्वभाव हो । आफैँले उठाएको विषयमा पछि कोही कसैको उक्साहटमा पल्टाबाजी खाएपछि मात्रै वास्तविकता थाहा पाउँदा उग्र बन्ने गर्छन् । पछिल्लो सचिवालय बैठकमा कार्यदललाई बैधता दिने प्रक्रिया जब अघि बढ्यो उनले चर्को स्वरमा भने ‘यो कार्यदलको औचित्य के रु समस्या सचिवालयमा देखिन्छ तर त्योभन्दा बाहिरबाट कार्यदल बनाउने रु त्यसले समाधान दिन्छ रु यदि कार्यदलले दुबैजना अध्यक्षलाई पदबाट हट्न भन्यो भने के वहाँहरूले पद छाड्न सक्नहुन्छ रु”
यसरी वामदेवका रूपहरू एकपछि अर्को गरी छर्लङ्ग हुँदै गएको छ । वहाँलाई उपयोग गर्ने अनि अलपत्र पारेर छाड्ने र भुईं पुछेको टालोको हैसियतमा पुर्याउने गरिएको छ । तर पनि आफूलाई बेकम्मा बनाइएको कैयौँ दिनसम्म थाहा नपाउने अवस्थामा गौतम पुग्न थालेको बताइन्छ । उनलाई प्रधानमन्त्री तथा अध्यक्ष केपी ओली समूहले पटक पटक प्रयोग गरेर रछ्यानमा फाल्दै आएको छ । तर, काम सकिएपछि पूर्व एमाओवादीका मणि थापालाई जति पनि महत्व दिइएको छैन । किनभने सचिवालय र स्थायी समितिमा रहेका वहाँसँग नजिक भनिएका हिजो मालेकालमा साथ दिएका किरण गुरुङ्गजस्ता साथीहरू अहिले अर्कै कित्तामा पुगिसकेका छन् ।
संसदमा पनि पत्नी तुलसा थापाबाहेक उनीसँग आफ्ना भन्ने कोही देखिँदैनन् । पार्टीमा पनि आफ्ना को हुन् भनेर सिलो खोज्नुपर्ने भएको छ । राजनीतिक रूपमा खिईँदै गएका छन् । यति हुँदा पनि वामदेव भन्ने एउटा इमेज, पर्सनालिटी, छवि र ओज अहिलेसम्म पनि कायम छ तर समर्थकको पंक्ति पातलिँदै गएको छ । रामकुमारी भाँक्री, जीवनराम श्रेष्ठ, ठाकुर गैह्रे, वसन्त मानन्धरहरू झगडा गर्न जाने अवस्थामा पुगेका छन् । सबैले बिस्तारै छाडेर जाने अवस्था बढ्दै गएको छ । उनको आफ्नो भनिएकी विमला बिक पनि कहिले हो कहिले बालुवाटारले चोरेर उतैको खेमामा पुर्याइसकेको छ । उदेक लाग्छ तैपनि नेताहरूले आफू सिध्ँदिदै गएको समेत चाल पाउन छाडेका छन् ।
जनआस्थाबाट