कथा

किनेको लोग्ने

किनेको लोग्ने

केही आफन्तको भीड छ । केही रमितेको । र, यो जिल्ला अदालतको इजलास हो । 

थोत्रा बेन्चहरू छन् । आमनेसामने झ्यालबाट घामका केही किरण छिरेका छन् । बत्ती अघि नै गएको छ । त्यसैले झरुँला झरुँला झैँ गरेर हेलिकप्टर आवाजमा घुम्ने पङ्खाहरू रोकिएका छन् । पङ्खाहरू रोकिनु भनेको तराईको गर्मीमा जीवन रोकिनुजस्तै हो । जीवन प्रेसर कुकरभित्रको आलुझैँ बाफिएर सुस्त सुस्त चल्दैछ । र, त्यही  बाफिएका जीवनहरूबाट घेरिएर वकिल आफ्ना तर्क अघि सार्दैछन्, “श्रीमान्, मेरो क्लाइन्टलाई एकदमै झुलाइयो । एक वर्षसम्म उहाँको फाइल गाविसमै थन्काएर राखियो । त्यतिका दिन मेरो क्लाइन्टले आफ्नी श्रीमतीको अनेक हिंसा सहनुपर्यो । उहाँ एकदमै पीडित हुनुभयो श्रीमान् ! त्यसैले मेरो क्लाइन्टलाई छोडपत्र चाहियो । गाली, बेइज्जती, अपमान, एटेम्प्ट टु मर्डर, सबै विषयबारे हामीले निवेदनमा स्पष्ट लेखेका छौँ । एउटी महिला जब यति निर्दयी र हिंस्रक हुन्छे, तब कसरी ऊसँग बस्न सकिन्छ ?” 

“अब्जेक्सन योर अनर ।” 
आफ्नो वकिल आफैँ बनेकी मधु हात ठड्याउँछे । उसको हातको चुरा छिन्द्रिङ छिन्द्रिङ बज्छ । न्यायाधीशबाट अर्डर पाएपछि मधु फेरि बोल्छे । 

“श्रीमान्, मलाई लगाइएका यी कुनै पनि लान्छना सत्य हैनन् । र, यसकै आधारमा म डिभोर्स पनि गर्दिनँ । मैले भनेका दुई शब्दलाई गाली मान्न थाले, मैले सन्चो छैन खाना बनाऊ भन्दा अपमान हुन थाले कसरी जिन्दगी चल्छ ? उनले दुई झ्याप्पु हान्दा मैले फर्काउन खोजे एटेम्प्ट टु मर्डर कसरी हुन्छ ? मैले जागिर खाँदा कसरी परिवारको बेइज्जत हुन्छ ? मैले बुझ्न सकेकी छैन श्रीमान् !”  

“मधुजीको चिल्लो कुरामा नअड्किऊँ श्रीमान् ! उहाँ कछुवाजस्तो बाहिर कडा र भित्र नरम हुनुहुन्न । उहाँ ढुङ्गाजस्तो बाहिर पनि कडा र भित्र पनि कडा हुनुहुन्छ । धेरै ढिला भयो श्रीमान् ! एउटा मान्छेका महत्वपूर्ण वर्षहरू खेर गइरहेका छन् । तपाईं आफैँ सोच्न सक्नुुहुन्छ, उनीहरूबीच यति धेरै मिल्ती हुन्थ्यो भने अहिलेसम्म किन बच्चा भएन त ? मैले भनेँ नि श्रीमान् ! यहाँ प्रेम छँदै छैन, छ त सिर्फ बदलाको भाव, आक्रोश र टर्चर,” वकिलले उसको श्रीमान्को पक्षमा कडा वकालत गर्छन् । 

न्यायाधीश टोपीको दुईतिरबाट बगिरहेका पसिना पुस्छन् । र, बडो गम्भीरतापूर्वक वादी र प्रतिवादीको बहस सुन्छन् । मधु हावाजस्तै सुसाउँछे, “कसले भन्छ हामीबीच प्रेम छैन ? हामीबीच एउटा गज्जबको प्रेम छ श्रीमान् ! एउटा मालिक र उसले किनेको वस्तुमा जति प्रेम हुन्छ, त्यति नै प्रेम छ हामीबीच । आदरणीय वकिल सापले प्रेमको कुरा गर्नुभो । किनेको वस्तुसँग पनि प्रेम हुन्छ नि वकिल साप । किनकि तपाईंलाइ यो बारे थाहा नै छ, कि मैले मेरो लोग्नेलाई नगद अठार लाख रुपियाँमा किनेको हुँ ।”  

मधुको तीखो प्रहारले उसको लोग्नेको इज्जत धुजाधुजा भएर च्यातिन्छ । लोग्ने पक्षका वकिल मूर्तिवत् उभिन्छन् । इजलासका दर्शकहरू एक प्रकारको सुस्केरा हाल्छन् । मधु बोलिरहन्छे, “जब मैले केही चिज किन्छु, त्यो मेरो वस्तु हो । मेरो निजी । त्यसलाई मन लागुन्जेल प्रयोग गर्न पाउनु र जसरी पनि प्रयोग गर्न पाउनु मेरो अधिकार हो ।”

“अब्जेक्सन योर अनर । मान्छेलाई वस्तुसँग तुलना गर्नेसँग कदापि सम्बन्ध हुन सक्दैन । फेरि सबैले बुझ्नुपर्ने कुरा के छ भने दहेज हाम्रो समाजमा चलेको चलन हो । हाम्रो समाजमा बिहे गर्दा केटा पक्षले पैसा लिन्छ । अझ पहिले पहिले त केटाको तौलअनुसार सुन जोखेर दिइन्थ्यो भन्छन् । त्यसैलाई आधार बनाएर वस्तुसरह व्यवहार गर्ने, दिनरात किचलो झिक्ने र दुनियाँ हँसाउने काम कदापि राम्रो होइन । यसको एउटै उपाय हो डिभोर्स,” वकिल कड्किन्छन् ।

न्यायाधीश मौन छन् । कडा पावरको चस्मा थोरै तल झार्छन् र भन्छन्, “दुवैको साक्षी बुझ्नका लागि सुनुवाइ अर्को हप्ता सार्ने निर्णयका साथ आजको बहस टुङ्ग्याइन्छ ।” मधुका बाआमा र श्रीमान्का आफन्त यो अचम्मको बहसले रन्थनिएका छन् । उनीहरू विश्वासै गर्न सकिरहेका छैनन्, आखिर यो के हुँदैछ ? मधु किन यो सब गर्दैछे ? 

...
आमा भन्थिन्, “केटी मान्छे भएपछि शिर निहुराएर कुरा गर्नुपर्छ । धेरै बोल्नु हुँदैन । लजाएर हिँड्नुपर्छ, पुरुषहरूसँग जिस्कनु हुँदैन र भरसक पुरुषको सङ्गतै नगर्नू ।” बीए अन्तिम वर्षमा पढ्थी मधु र पनि आमा उसलाई यस्तै कुराले प्रत्येक दिन सतर्क बनाइरहन्थिन् । तर, ऊ केटाहरूसँग बोल्थी मन लागेजति । 

कलेजको अन्तिम दिन मधु र उसका साथीहरू चौरको एक छेउमा उभिएका थिए । केटाहरू अलि पर अशोकको रूखामुनि देखिन्थे । केटाहरूको भीडबाट सुमित भन्नेले उसलाई घरीघरी चिहायो । सूर्यले बादल छिचोलेर पृथ्वीतिर चियाएझैँ । मधुलाई थाहा थियो, तीन वर्षसम्म उसले यसैगरी हेरिरह्यो । तर, केही भन्न सकेन । आज मधुले पनि हेरी गाजलु आँखाले । सुमित झस्कियो र साथीहरूसँग कुरा गर्न थाल्यो । जब उसले फेरि मधुतिर हे-यो, अघि नै मधु उसको अघि पुगिसकेकी थिई । मधुका अगाडि ऊ बाँसझैँ पूरै झुक्यो ।  

“मलाई तिमीसँग कुरा गर्नु छ,” मधुले भनी, “एकछिन समय छ ?” 
सुमित केही नभनी भीडबाट अलग भयो । मधुले अलि पर लगेर सोधी, “तिमी मलाई किन एकोहोरो हेरिरहन्छौ ?”
“तिमी...मन पर्छ,” सुमितले बल्ल बल्ल भन्यो । 
“बिहे नै गर्ने गरी कि त्यत्तिकै ?” मधुले सजिलै सोधी । 
“तिमी मान्छौ भने बिहे नै,” बिस्तारै तर थरथराएर सुमित बोल्यो । 
“दाइजो कति लिन्छौ ?”
“लिन्नँ,” सुमित मधुतिर हेरेर मुस्कायो । सायद अलि हिम्मत आयो उसमा । 

“तिम्रा बाआमाले माने भने कुनै पनि दिन माग्न आउनू,” मधुले भनी । सुमितले कुनै जवाफ दिएन । उसले मधुको यति बोल्ड कुराको अपेक्षा गरेको थिएन । त्यसैले ऊ जस्तो जेस्चरमा उभिएको थियो, त्यही अवस्थामा फ्रिज भयो । मधुले बिदा मागी र सुमितको नजरबाट बिस्तारै टाढा भई । 

मधुको परिवार रतुलीबाट जनकपुर सरेको धेरै भएको थिएन । बाबाले अलिअलि पैसा जम्मा गरेपछि उनीहरू जनकपुरमा घर बनाएर सरे । बाबा अहिले पनि रतुलीमा प्राविधिक सहायक छन् । उनी बाहिर अरूसँग खुसी देखिन्थे तर घरमा दुःखी । मधुको विवाहको कुरा गर्दा छातीमा निकै ठूलो बोझ महसुस गर्थे । उनी भन्थे, “बेटी त आब ब्याचलरो पास भागेल । निक घरबर खोजीका विहाइ दैतियै त निचैन भ जैतौ ।” 

आमा पनि त्यो कुरामा सही थाप्थिन् ।
मधुको मनमा लागिरहन्थ्यो, बाको मुखबाट छोरीले अब जागिर खाओस्, आफ्नो खुट्टामा आफैँ उभियोस् भन्ने वाक्य निक्लियोस् । तर, बाले कहिल्यै त्यस्तो भनेनन् । त्यसैले एक दिन मधुले आफैँ भनी, “म अब जागिर खान्छु । बिस्तारै बिहेका बारेमा सोच्छु ।”

उसको कुरा भुइँमा खस्न नपाउँदै बा पड्किए, “परेको छैन । यतिन्जेल तिमी हाम्रो मर्जीले चल्यौ । अब बिहेसम्म त्यसरी नै चल्नेछौ ।” 
बालाई उसले यति कठोर कहिल्यै देखेकी थिइन । त्यसैले ऊ चुप लागी ।

मधु घरमै बस्थी । चुपचाप । ऊ मास्टर्स पढ्न चाहन्थी । आफ्नो इच्छाका लागि उसले घरमा विद्रोह गर्ने सोच पनि बनाई तर सकिन । आफ्नै बाआमाविरुद्ध उत्रिन उसलाई कता कता अप्ठ्यारो भयो । तैपनि भनी, “बा म पढ्छु । त्यत्तिकै बसिरहन मन छैन मलाई ।” बाले सम्झाए, “अब केही दिन हेरुँ । तिम्रो बिहे पक्का होला जस्तो छ ।”
बाको वचन नसकिँदै मधुको छाती डम्म फुलेर आयो । एकखालको अप्ठ्यारो लागिरह्यो र अचम्म पनि । उसले सम्हालिँदै सोधी, “कोसँग ?”  “डाक्टर हुन् ।” 
मधुको सातो गइहाल्यो । त्यसैले त्यो भन्दा बढी केही सोधिन । 

साँझ आमालाई गुलियो चिया बनाई उसले । आमाले मीठो मानेर चिया पिइन् । घरभरि फैलिएका लामखुट्टेले रगत चुसेका आफ्ना नरम हातलाई सलभित्र लुकाई र आमाछेउ बसी । आमाले भनिन्, “अब धेरै दिन तेरो हातको मीठो चिया खान नपाइएला मधु ।” मधुले सोधी, “किन र आमा ?” 
“अब बिहे गर्नु परेन ? बिहे गरेपछि तँ हामीबाट टाढा हुन्छेस् नि त ।” 

“कुरामात्र चल्या त हो नि । पक्का भएको छैन क्यारे ।” 
“डाक्टरसँग जीवन बिताउन पाउनु त भाग्य हो ।” 

मधु केही बोलिन । उसले डाक्टरको घरवाली भएको कल्पना गरी । एकछिन लजाई । आखिर ऊभित्र पनि त एउटा नारी मन नै त थियो ।
तीन दिनपछि बा र आमा कोठामा गुनगुन गरेको सुनियो । सुरुमा त मधुलाई सुन्न मन लागेन । तर, कता कताबाट डाक्टरको नाम हावामा उडेर आएपछि उसले कान ठाडो पारी । बाले भने, “डाक्टरसँग मधुको बिहे गर्न नसकिएला जस्तो छ ।” 
“किन ?” 
“चालीस लाख माग्छन् ।” 

मधु झसङ्ग भएर दुख्ने गरी जिब्रो टोकी । उसले अहिलेसम्म त्यति धेरै पैसाको कल्पना पनि गरेकी थिइन । उसले मनमनै सोची, साँच्चै कति महँगा रहेछन् डाक्टर ! 
“ऋणै गरेर भए पनि दिऊँ न त । डाक्टर राम्रा पनि छन् ।” 
“सकिन्न, अलिकति भएको पैसाले यहाँ घर बनाइयो । अब त्यत्रो पैसा म कसै गरी जुटाउन सक्दिनँ ।”
“घट्लान् कि त ?” आमा अलिकति आशावादी भइन् ।
“फिक्स्ड रे !”

त्यसपछि मधुले केही सुनिन । डाक्टरको कुरा सकियो । त्यो कुरा भुलेर पनि दोहोरिएन । मधुको जीवनमा पतिका रुपमा भिन्न भिन्न रुप र वर्ण भएका व्यक्ति सिफारिस हुँदै गए । तर, कोही ऊसँग जीवन चलाउने सम्झौतापत्रमा हस्ताक्षर गर्न राजी भएनन् । यी सब कुरा उसलाई चित्त बुझेको थिएन । ऊ आफैैँसँग र परिवारसँग नराम्रोसँग चिढिई ।
बा अझै थाकेका थिएनन् । आमा पनि होमा हो मिलाएर मधुका लागि केटाको सिफारिस गरिरहेकी थिइन् । प्रहरी, शिक्षकदेखि आफूलाई नयाँ सोचको ठान्ने पुरुषहरू पनि आए उसलाइ हेर्न । तर, ती सबै उसका लागि महँगा भए, ज्यादै महँगा । 

धेरै ठाउँबाट लत्याइएपछि मधु आफ्नो टोलका सबैको आँखामा बिझाई । अझ ऊसको भन्दा पनि बाआमाको इज्जतको धज्जी उड्यो । कसै कसैले यसो पनि भने– छोरीलाई भनेजति पैसा दिएर अन्माउन नसक्नेलाई धिक्कार छ !

मधुलाई राम्ररी निद्रा पर्न छाड्यो । उसको मनमा कता कता छटपटी चल्यो । ऊ ठूलो युद्ध लडिरही आफ्नै मनसँग र हर प्रहर हारिरही । छेउमा सुतिरहेकी बहिनी उठी र सोधी, “दिदी के भयो ?” 
“केही हैन त्यत्तिकै ।” 
“तिमी जहिल्यै केही हैन भन्छौ । तर, धेरै थोक भइसकेको हुन्छ ।” 
“तँ सुत्,” मधुले अनुरोध गरी । 
“दिदी हमरा बुझल छै, तु कथिला दुःखी छि । एउटा बात कहियो ?” बहिनीले मधुलाई सोधी । 
“कह ।”
“तिमीलाई माया गर्ने कलेजको केटो थियो नि । त्यहीसँग विवाह गर ।”
“नचाहिने कुरा... ती सबै केटाकेटीपन हुन्” मधुले टार्न खोजी । 
“साँच्चै हो, उसले तिमीलाई माया गर्छ जस्तो लाग्छ । उसले तिमीलाई पक्कै बिहे गर्छ ।” 

बहिनीसँग मधुले जीवनका धेरै कुरा बाँडेकी थिई । दुःख, कष्ट, पीर, हाँसो र सफलता । त्यसैले मधुलाई बहिनीको कुरा नराम्रो लागेन । सुमितलाई त उसले पहिल्यै भनेकी हो । ऊ नै आएन त के गरोस् मधु ?

बहिनीको कुराले एकाएक मधुको आँखा वरिपरि सुमितको अनुहार घुम्न थाल्यो । ऊ साँच्चै राम्रो थियो । कलेजमा सबभन्दा प्यारो । उसले त अन्तिममा बिहे गर्छु समेत भनेको थियो । बरू मधुले नै पत्याएकी थिइन ।

बहिनीले आमालाई मधुका बारेमा सबै कुरा बताई । आमा त्यो थाहा पाएर पहिले त रिसाइन् तर पछि के सोचेर मत्थर भइन् । आमाले बालाई र बाले आफन्तलाई त्यो कुरा सुनाए । आफन्तबाट सुमितको घरपरिवारसम्म कुरा पुग्यो । सम्बन्धको एउटा गोरेटो कच्ची बाटो खनियो । 

एक दिन सुमितका बा मधुको घरमै आए । कुराको सुरुमै मुख फोरे, “बीस लाख दिनोस् अनि मात्र कुरा अघि बढ्छ ।” उनले छोराको हुर्काइ खर्चदेखि पढाइ खर्चको हिसाब गरे र जुँगालाई ताउ दिँदै आफूले कम पैसा मागेको दाबी गरे । मधुका बाले भने, “मैले पनि छोरी हुर्काएको छु । तपाईंको छोराजति नै पढाएको छु ।” 
“त्यसो भन्नु भो भने त कुरै मिल्दैन, के गरौं ?” सुमितका बाले धम्कीको भाषामा बोले । 
मधुका बाले अन्तिममा हार खाएर भने, “ठीकै छ अठार लाखमा कुरो टुङ्ग्याऊँ न त ।”

यसले मधुको मनमा ठूलो आँधी आयो । उसले सुमितलाई फोन गरी र अठार लाखका बारेमा सोधी । सुमितले भन्यो, “बुबाले बढी माग्छु भन्दै हुनुहुन्थ्यो । मैले त्यतिमै कुरा मिलाउनुस भनेँ । किन पीर गरेको ? दिस इज आवर कल्चर ।”  “कल्चर हैन, ब्याड कल्चर,” मधुले फोन राखी । उसलाई सुमित सार्है झूटो लाग्यो । सार्है ढोँगी । एउटा शिक्षित मूर्ख । 
उसले बालाई सोधी, “यो विवाह रोक्न मिल्छ ?” 
“मिल्दैन, मैले वचन दिइसकेँ । यसपालि पनि भएन भने तिम्रो विवाह कहिल्यै हुँदैन ।” 
 
“यत्रो पैसा कहाँबाट आउँछ ? यति खर्चेर किन मेरो विवाह गर्नुहुन्छ तपाईं ? हुन्न भने बरू हुन्न ।”
“चलन हो, तिम्रो राम्रो घर बसेको हेर्न मन छ मलाई ।” 
“पैसाबिना विवाह हुन्न यहाँ ?” 
“अहँ, सम्भव छैन । कोसिस नगरेको पनि होइन,” बा त रुन पो लागे । मधुको अनुहार पनि अँध्यारो भयो ।
...

अन्ततः मधु नयाँ घरकी बुहारी भई । सुमितकी स्वास्नी बनाइदिन बाले घर बन्धकी राखे । उसले चुपचाप हेरी त्यो सब । सुमितको परिवारलाई धनी बनाइदिन बा अत्यन्त गरिब र लाचार बने । उसले चुपचाप सही त्यो सब । 

दाइजोमा पाएको मोटरसाइकल चढेर सुमित जागिर आउजाउ गर्न थाल्यो । उसले त्यो पनि हेरी । अरू छिमेकी घरमा विवाह गरी आउनेहरूका व्यथा पनि सुनी । त्यहाँ पीडाबाहेक केही थिएन । सबैले पैसा तिरेर आआफ्ना लोग्ने किनेका थिए । 

विवाहपछि त भविष्यको कल्पना गरिन्छ, योजना बनाइन्छ तर मधु त झन् झन् पीडित र विचलित हुँदै गई । उसले आफ्नो अगाडि दुइटा बाटो स्पष्ट देखी । एउटा चुपचाप सहेर अघि बढ्ने बाटो, अर्को विद्रोहको बाटो । दुवै बाटोका सकारात्मक र नकारात्मक पक्ष केलाई उसले । एउटा मेसिनजस्तो बुहारी बनेर जिन्दगी चलाउने कुरा उसको मनले मान्दै मानेन । अन्तिममा विद्रोहको बाटो रोजी । 

विवाहको केही दिनपछि मधुले भनी, “विवाह दर्ता गर्न जाऊँ ।”
सुमितले मान्यो । 

फेरि मधुले भनी, “नागरिकता बनाउँछु ।” सुमितले त्यो पनि मान्यो ।  
एक दिन मधुले डरधक केही नमानी भनी, “म तिमीसँग सन्तुष्ट हुन सकिरहेको छैन ।” मधुका कुराले सुमित लाजले रातो भयो । ऊ मधुकै अगाडि थरथर काँप्यो र टाढियो । मधुलाई आफ्नोे ठूलो घरको एक छेउमा बास दिएकोमा गर्व गर्ने सुमित हीनताबोधले पानी पानी भयो । 
अर्को दिन मधुले सुमितलाई भनी, “अब म जागिर गर्छु ।” 

जागिरको कुराले घरमा बबन्डर भयो । सासूले त सीधै भनिन्, “तु डगियाहि । आब तोहर बातमे हमर बेटा नै लाग्तै ।” ससुरा झन् चर्केर बोले, “यस्तै ताल हो भने घरबाट निकालिदिन्छु एक दिन । सस्तोमा भित्र्याएर ठूलो गुन लगाएका छौँ हामीले तँलाई र तेरो परिवारलाई ।” 
मधुले त्यो गुन के रहेछ भनी सम्झन खोजी तर सकिनँ । 
अनि मधुले आफ्नो अडान राखी, “तपाईंहरू जे भन्नुस्, म जागिर खान्छु ।” 
“कस्ताकी सन्तान परिछे । बेकारको घाँडो भिरेर,” सासू बोलिन् । 
“भिरेको हैन, बिहे गरेर आएकी हुँ,” ऊ अझै कडा सुनिई, “यो घर मेरो पनि हो । मैले आफ्नो इच्छाअनुसार चल्न पाउँछु ।”  
“के भनिस् रे ? तँलाई यहाँ भात खुवाउन मात्र ल्याएको हैन हाम्ले,” सासूले खाउँला झैँ गरेर भनिन् ।
“धेरै नहेप्नुस्, यहाँ मेरो पनि सम्पत्ति छ । मैले तपाईंको छोरालाई अठार लाखमा किनेकी हुँ । त्यसैले केही बोल्नुभन्दा पहिले सोच्नुस्,” मधुले औँला ठड्याई । 
“के भनिस् ?” सासूले मधुलाई झम्टिइन् । 

“पैसा तिरेपछि म यो घरको मालिक हुँ । नोकर हैन,” मधु आवेशमा आई । सासू एकछिन मझेरीमा फनफनी घुमिन् । भनन रिङ्गटै लाग्यो उनलाई । ससुरा स्तब्ध भए । 

साँझ सुमित आएपछि झगडाले अर्को मोड लियो । सुमितले मधुको गालामा एक झापड बजार्यो । मधुले साटोमा अर्को झापड सुमितको गालामा बजारी । हिसाब बराबर । 
घर, घरजस्तो भएन । जताततै झगडाका बिउ रोपिए । मधु आफ्नै कुरामा मस्त भई । ऊ सदरमुकाममा जागिर गर्न थाली । एउटा पोलिक्लिनिकको एकाउन्टेन्ट । सबेरै हिँड्थी, साँझ फर्किन्थी । सुमितलाई भन्थी, “नामर्द !” 

सासूले फेरि भान्सादेखि घरको सबै काम गर्न थालिन् । मधुले भ्याउँदै भ्याइन । भ्याएको दिन पनि भान्साको काममा वास्ता नगर्ने भई । 

एक दिन मधुले सुमितलाई आफ्ना कपडा धुनका लागि भनी । सुमित रिसले आगो भयो । त्यसको अर्को दिन मधुले सुमितसँग भनी, “मलाई जागिर गर्न टाढा भयो । अबदेखि हामी सदरमुकाममा बसौँ ।”

त्यही दिन घरका सबै मधुमाथि जाइलागे । दुई, चार लात बजारे । मधले कसो कसो फुत्केर छेउको हँसिया समाई र जोडले चिच्याई, “अब एक, एक गरेर छिनाउँछु ।” 
मधुको हातको हँसियाले सबलाई तितरबितर पा-यो । उसले सासू र लोग्नेको पिछा गरी तर भेट्न सकिन । रिसलाई बाँधेरै घर फर्की । ढोका लगाई र थाकेको शरीरलाई मझेरीमा फाली । लाज, क्रोध र अपमानले भरिएर भोलिपल्टै सुमितले डिभोर्सका लागि गाविसमा उजुरी हाल्यो । मेलमिलाप गर्ने भन्दै गाविसमा एक वर्ष झुलियो र फाइल बल्लतल्ल घस्रिँदै अदालत पुग्यो । 
...

आज अदालतको अर्को सुनुवाइ । बत्ती छ । त्यसैले हेलिकप्टरको आवाजमा पङ्खाहरू घुम्दैछन् । सुनुवाइमा सुमितका परिवार, मधुको परिवार र आफन्त जम्मा भएका छन् । चाहेको भए मधुले यो भन्दा अघि नै मुुद्दा टुङ्ग्याउन सक्थी तर मधुले त्यसो गरिन । 

अधिकारकर्मी, महिलावादी, पत्रकार सब अदालतको दर्शकदीर्घामा उपस्थित छन् । कठघरामा मधुकी सासू उभिएकी छन् । साक्षीका रुपमा बोल्न आग्रह गरेपछि उनी बकबकाउँछिन्:
“सा-है दुःख पायो मेरो छोराले । लोग्नेको मानमर्यादा के हो भन्ने यो केटीलाई थाहा छैन । कतिपल्ट मैले आफ्नै कानले मेरो छोरालाई नामर्द भनेको सुनेकी छु । यसले मेरो छोरालाई भड्काएर हामीसँग छुटाएर सहर लान खोजी । हुँदा हुँदा ज्यान मार्नका लागि लखेटी । यसले मेरो बोली भुइँमा खस्न पनि दिन्न । देश दुनियाँको अगाडि हाम्रो नाक काटी । त्यति राम्रो घर दुई चिरा पारी र आधामा आफू बसी । यो घरमा बुहारी बनेर भित्रिएपछि खुसी भन्ने चिज कहिल्यै आएन श्रीमान् ! त्यसैले आजै र अहिले नै छोरो एक्लियोस् भन्ने चाहन्छु ।”

मधु सासूनजिक जान्छे र सोध्छे, “मैले ल्याएको अठार लाखको कुरा गर्नुहुन्न ? सुमितले चढेको बाइकको कुरा झिक्नुहुन्न ?” 
“ल्याएको हो, मैले पनि ल्याएकी थिएँ । त्यसमा के नौलो कुरा छ र रु पढाइमा लागेको खर्च, पाल्न लागेको खर्च हामीले उठाएका हौँ,” सासूले भनिन् । 
“तपाईं कुरा अन्त मोड्दै हुनुहुन्छ,” सुमितका वकिल मधुलाई कराउँछन् । 

“एकछिन... म कुरा गर्दैछु । तपाइ यसरी छोराको खर्च उठाउन चाहनुहुन्छ भने किन पाउनुभयो त उसलाई ? तपाईंको केही कर्तव्य र दायित्व नै रहेनछ त के खालि ससुरालीले (केटीका माइतीले) पैसा देलान् भनेर हुर्काउने ? ससुरालीले पैसा देलान् भनेर पढाउने ? यति पनि आश नभएको भए के सानैमा मारिदिनुहुन्थ्यो छोरालाई ? अनि हामी छोरीहरू के हामी मान्छे होइनौँ ? के हामीलाई हुर्काउन र पढाउन बाआमाले खर्च गरेका छैनन् ? अझै पनि हामीले तपाईंहरूका छोरालाई पैसा दिएर किन्नुपर्ने ? सुनेको थिएँ, सहरतिर दिनदिनै वयष्क महिलाहरू पैसामा बिक्छन् र तिनलाई वेश्या भनिन्छ । तर, यहाँ त वयष्क पुरुषहरू बिकिरहेछन् । तपाईंका छोराहरू बिकिरहेछन् र यिनलाई के भनिन्छ ? मलाई थाहा छैन । 

अनि हामी महिलाहरू तिनलाई लाख लाखमा किनिरहेका छौँ, किन ? यौनका लागि ?छोराछोरीका लागि ? कि यो समाजका लागि ? जवाफ पाऊँ श्रीमान्,” मधु चिच्याउँछे । 
स्तब्ध हुन्छ इजलास । न्यायाधीश चस्माभित्रबाट चारैतिर हेर्छन् । सुमितकी आमा जहाँको तहीँ स्थिर छन् । सुमितको वकिल  सोचमग्न देखिन्छन् । सुमितलाई आफूले चाहेको डिभोर्स पाउनेमा  शङ्का लाग्छ । उसको ओठ थरथराएको छ र आँखा भासिएका छन् । त्यसैले ऊभित्रका आशाहरू ढुनमुनिँदै कतै बसाइँ सर्छन् । 

त्यही बेला, ठीक त्यही बेला मधु बोल्छे, “जसले मबाट छुटकारा पाउन यहाँसम्म धाएको छ, जसलाई आफूले गरेको गल्तीको थोरै भए पनि प्रायश्चित्त भइरहेको छ । उसलाई अब म धेरै अड्काइरहन चाहन्नँ । म उसको बाटोबाट पन्छिन्छु वा भनौँ उसलाई म मेरो बाटोबाट पन्छाउँछु । तर, मैले पो विद्रोह गरेर यति भन्न सकेँ, गर्न सकेँ तर कैयन् दिदीबहिनी अझै पनि घरेलु हिंसामा छन् । पैसा तिरेर लोग्ने किन्दा पनि बेवास्ता गरिएका छन् । तिनको के ? कमसेकम अब तिनले मलाई हेरेर केही त सिक्लान् कि ? त्यसैले मैले यो जीवन फालिदिएँ श्रीमान् ! नत्र म चुपचाप अठार लाखमा किनेको लोग्नेसँग बसेर एक दर्जन छोराछोरी पाउँथेँ र सकिन्थेँ । अनि छोरो भए भोलि तीस लाख पाउने आशामा स्याहार्थें र छोरी भए उसका लागि पैसा जोरजाम गर्थें ।”

त्यसपछि मधु चुपचाप न्यायाधीशतिर हेरिरहन्छे । लेखनदास असिनपसिन भएर फाइलमा कलम घुमाउँछन् र न्यायाधीशतिर बढाउँछन् ।

अर्को दिन, 
न्यायाधीश बाक्लो फाइलमा केही लेख्छन् । एकछिन दर्शकदीर्घातिर नजर फ्याँक्छन् र सुनाउँछन्, “वादी र प्रतिवादीको बहस सुनियो । वादीले विभिन्न बहानामा आफ्नी श्रीमतीबाट पीडा भोग्दै आएको पनि वादीका वकिल तथा साक्षीबाट थाहा हुन आयो । तसर्थ वादीको माग दाबीअनुसार लोग्नेस्वास्नीको महलको ! को देहाय ! बमोजिम लोग्नेस्वास्नीको सम्बन्धबिच्छेद भएको फैसला गरिदिएँ । प्रतिवादीको निवेदनमा उल्लेख भएबमोजिम उनले विवाह हुँदा ल्याएको अठार लाख फिर्ता हुनुपर्ने निर्णय पनि साथै गरिदिएँ ।”
...
मधुका बा दर्शकदीर्घामै बसेर आँसु झार्छन् । आमालाई खपिनसक्नुको पीडाबोध हुन्छ । सबै भावविह्वल हुन्छन् । मधुले एउटा यस्तो प्रश्न उठाई कि जसको उत्तरमा सबका सब स्तब्ध छन् । सबैलाई लाग्छ, मधुको प्रश्न सही छ, मधुको कुरा सही छ । तर, उनीहरू सही हो भन्न सकिरहेका छैनन् ।

गाउँमा मधुकै कुरा छ । जिल्लामा मधुकै कुरा छ । हुँदा हुँदा पत्रिकामा पनि मधुकै कुरा आउँछ । उसको कदमलाई दाइजो प्रथाविरुद्धको एउटा सशक्त विद्रोहका रुपमा हेरिन्छ । धेरै दिनदेखि मधुको कुरा गाउँ, समाज र सहरमा सेलाएको छैन र सायद सेलाउँदैन । हिजोआज प्रत्येक घरमा श्रीमान्हरू सशङ्कित छन् । उनीहरू लाज, ग्लानि र आत्मसम्मानमा परेको चोटले श्रीमतीका अगाडि आधा नुङ्गिएका छन् ।