प्रधानमन्त्रीको बेसार मन्त्रमा औषधिविज्ञकाे सुझाव

'कलेजोका बिरामीलाई बेसारले हानी गर्न सक्छ'

'कलेजोका बिरामीलाई बेसारले हानी गर्न सक्छ'

विज्ञानमा चलनचल्तीको एउटा शब्द छ, हाइपोथेसिस । हाइपोथेसिस भनेको नेपालीमा परिकल्पना हो । कुनै कुरा प्रमाणित गर्नुपर्‍यो भने यो हाइपोथेसिस वा परिकल्पनाको प्रयोग गर्छन् सिद्धान्तगत परीक्षणकर्ताहरू । उक्त परिकल्पना ठिक हो कि हैन, मैले कसरी परीक्षण गरेँ भनेर पूरा कार्यविधि लेख्छन् । कार्यविधिमा भइरहेको विद्यमान अवस्थामा मैले के कुराको कमी वा दर्द कसरी महसुस भयो ? मेरो नजरमा यो कुरा कसरी पर्‍यो ? जिज्ञासाको समाधानतर्फ लग्न मलाई केके कुरा सहयोगी बन्यो ? मैले कुन कुन कुराको आधारमा परीक्षण योजना बनाएँ ? यी सबै वृत्तान्त प्रस्तुत गर्छन् । यसलाई थेसिस वा प्रोजेक्ट वर्क या सूक्ष्म अनुसन्धान जे भने पनि शोधपत्र नै हुन् । यो नै हाइपोथेसिसलाई गलत प्रमाणित गरेर आफ्नो दाबी सही रहेको निचोड निकाल्ने तरिका हो । 

शोधपत्रका क्रममा त्यसको मुख्य उद्देश्य आफूले तत्कालीन अवस्थामा गरिएको परिकल्पना सही हो वा गलत हो भन्ने प्रमाणित गर्ने र त्यसको आधारमा प्राप्त हुने नयाँ ज्ञानका आधारमा नयाँ अनुमान गरी परिकल्पना गरिन्छ । जस्तो तपाईंलाई लग्यो, फेवातालमा निलो माछा छँदै छैन । यदि तपाईंले फेवातालमा निलो माछा छैन भनी प्रमाणित गर्छु भन्नुभयो र हाइपोथेसिस बनाउनुभयो भने तपाईं जति कोसिस गर्नुस्, यदि निलो माछा भेट्नु भएन भने पनि त्यसको कुनै अर्थ हुने छैन । यथार्थ के हो भने तपाईंले माछा भेट्नु भएन । यसको मतलब यो प्रमाणित हुँदैन कि त्यहाँ माछै छैन । किनकि त्यहाँ माछा हुँदाहुँदै तपाईं त्यसलाई समात्न चुक्नुभएको पनि हुन सक्छ । 

यदि तपाईं फेवातालमा माछा छ भनी हाइपोथेसिस बनाएर जानुभयो भने यदि तापी निलो माछा पक्रन सक्नुभयो भने तपाईंको हाइपोथेसिस गलत प्रमाणित गर्न सक्नुहुन्छ । किनकि माछा भेटियो । तपाईंको शोधपत्र प्रामाणिक बन्यो । यदि तपाईंले माछा समात्न सक्नु भएन भने पनि निष्कर्ष हुन्छ- निलो माछा पक्रने प्रयास सफल भएन । अन्य अनुसन्धानकर्ताहरूलाई आफूले अपनाएको भन्दा अरू विधि विकास गरी फेरि खोजमा जान भनिन्छ । तब मात्र तपाईंको दुवै निर्णय परिपक्व हुन जान्छ ।

आज विज्ञान प्राविधिक शोधहरूमा निकै गहिरो धरातलमा पुगिसकेको छ । हरेक दिन बुझिएका नयाँ तथ्यहरूले पुराना तथ्यहरू अर्धतथ्य रहेको र कतिपय अवस्थामा गलत अनुमान रहेको प्रमाणित गरेको छ । तसर्थ, आज अनुसन्धानहरुमा सकारात्मकताको अनिवार्यता महसुस गरिन्छ । वैज्ञानिक अनुसन्धानमा  हाइपोथेसिसको चरणदेखि सकारात्मकताले मात्र नतिजा दिने खुबीको उपयोग गरिन्छ । किनकि नकारात्मकताको शक्ति सकारात्मकताको तुलनामा निकै कमसल हुन्छ । किनकि नकारात्मकताले मानव विवेकमा तगारो हालिदिन्छ । कम्तीमा मेडिकल क्षेत्रमा यो प्रवृत्ति देखिनु हुँदैन ।   

आज वैज्ञानिक आधारमा आफ्नो ज्ञान दिएको दाबी गर्ने विषयविज्ञले कुनै कुरा सही छ वा गलत छ भन्ने कुरा सीधै भन्न सक्ने कुरा हैन । जस्तै- कसैले के बेसार स्वास्थ्यका लागि फाइदाजनक छ  भन्ने प्रश्न गर्छ भने 'हजुर, हालसम्मको अनुसन्धान र अनुभवले त्यही देखाउँछ, तसर्थ आज क्यान्सरजस्ता ओखतीमा पनि यसको प्रयोग हुने क्रम बढ्दो छ' भन्न सकिन्छ ।

'हेर्नुस् त, यो यो पश्चिमा औषधि र यो यो आयुर्वेदिक औषधि बेसार हालेर बनेको छ । डाक्टरहरूले बिरामीलाई दिएकै छन् । हालसम्म बेसारविरुद्ध त्यस्तो कुनै नकारात्मक असर भएको भनी न्यायालयमा क्षतिपूर्ति मागी मुद्दा दायर गरेको वा क्षतिपूर्ति दिएको भन्ने मेरो जानकारीमा छैन । तसर्थ म बेसार स्वास्थ्यका लागि फाइदाजनक छ भन्नेमा विश्वास गर्छु । म दैनिक खानामा बेसार राखी खान्छु । मलाई राम्रै गरेको अनुभव छ' पनि भन्न सकिएला ।

तर त्यही कुरो जन्डिस हुँदा बेसार खान हुँदैन हो भन्ने प्रश्न सीधै 'होइन' वा 'गलत' भन्न सकिँदैन । नेपालमा डाक्टर भनी चिनिने कुनै मेडिकल हाउस अफिसरले विश्वको कुनै कुनामा बसेर आफ्नो जीवनभर जन्डिसका बिमारीलाई बेसार खान दिएको होला । जन्डिसको लक्षण हटेको पनि होला । तैपनि त्यसले जन्डिस बेसार खान हुने र बेसारको कुनै साइड इफेक्ट नहुने प्रमाणित हुँदैन ।

विगतमा हामीसँग प्रविधि नभएका बेला जन्डिस भएको, नभएको हात, अनुहार र आँखा आदिमा पहेँलो भएको, नभएको हेरी पनि यकिन गर्ने चलन थियो । बेसार दलिएको हात र अङ्गले जन्डिस नभएकोलाई पनि जन्डिस भएको ठानी ओखतिमुलो सुरु नहोस् भनी डाक्टरहरू जन्डिस चेक गर्न आउँदा 'बेसार नखाई आउनू' भन्ने गर्थे । त्यो अवस्थाले केही अर्ध जान्ने निक्लिए, जसले जन्डिसमा बेसार खान हुन्न भन्ने प्रचार गरे । थोरै प्रविधि के भित्रिएको थियो, अब बेसार दले पनि, नदले पनि जन्डिस भए, नभएको यकिन हुन सक्ने भयो । विगतमा किन जन्डिस चेक गर्न आउँदा बेसार नखाई आउनु भनियो भन्ने बुझेपछि समाजमा फेरि अर्काथरी 'महाडाक्टर' निक्लिए । भन्न थाले, बेसारले जन्डिसमा कुनै पनि साइड इफेक्ट गर्दैन ।

समाजमा यस्ता कुरा रिसर्चका आधारमा भनिएन । विगतका रूढीवादी चलनको मात्र देन ठानी नयाँ कुरा बताउन थालियो । आफ्नो पाराले नियम र निर्देशन जारी गरे । डाक्टरले भनेपछि ठिक भन्ने मानसिकताको सिकार बन्यो समाज । कुनै कुरा कुनै अमुक डाक्टरले भन्दैमा सही हुने होइन । वैज्ञानिक अनुसन्धानले पुष्टि गरेपछि ठिक मानिने हो । त्यो पनि अर्को भिन्न प्रमाणित तथ्य नआउँदासम्म । समाजको हितलाई आफ्नो स्वार्थ सम्झने जो कोहीले यो दुवै अवस्था औषधि विज्ञानको क्षेत्रको अतिको रूपमा बुझ्नु जरुरी छ । जसलाई मेडिकल क्षेत्रमा बिस्तारै हुर्कँदै गएको अनुशासनहीनता र बौद्धिक अराजकताको द्योतक मान्दा फरक पर्ने छैन ।

मानिसको शरीरका कोशिकाहरू जब जरुरतभन्दा धेरै विभाजन हुन्छ वा मर्नुपर्ने बेलामा मर्दैन, एकातिर बढ्नुपर्ने अर्कोतिर बढिदिन्छ, त्यसलाई नियोप्लाज्म भनिन्छ भने त्यो प्रक्रियालाई नियोप्लास्टिक । हाम्रो सेलहरू जब नियोप्लाज्मको सिकार बन्छ, तब त्यो बढेर घातक क्यान्सरजस्ता रोग हुने वा ट्युमर देखिने अवस्थासम्म आउन सक्छ ।

त्यस्तै, हाम्रो शरीर विभिन्न समयमा यसका विभिन्न भागहरू सुन्निने, चर्को दुखाइ अनुभव हुने समस्याबाट ग्रसित हुन्छ । जुन शरीरले आफूले आफैलाई उपचार गर्दै गरेको अवस्था हो । हाम्रो शरीरमा हुने बाहिरी वा आन्तरिक चोटपटक तथा सङ्क्रमण लगायतका कारण र हाम्रो शरीरको आफ्नै प्रतिरक्षा प्रणालीले गल्तीले आफ्नै स्वस्थ तन्तुहरूलाई आक्रमण गरिदिँदा हामीलाई दर्द महसुस हुन्छ । उक्त दर्द अलि लामै भइदियो भने शरीर सुन्निने, दुख्ने हुन्छ । जसलाई इन्फ्ल्यामेसन र सुजन वा स्वैलिङ् भनिएको देखिन्छ । हाम्रो शरीरले आफूले आफैलाई उपचार गर्ने क्रममा यो नियोप्लास्टिक, इन्फ्ल्यामेसन तथा सुजनको प्रतिरोधका लागि आफ्नो प्रतिरक्षा प्रणाली तयार गर्न आफूलाई जरुरी हुने कच्चा पदार्थ धेरैजसो हामीले खाने खाना र अलि अप्ठ्यारै अवस्थामा दिइएका ओखतीहरूबाट पूर्ति गर्ने गर्छ । जुन खाना वा ओखतीले शरीरलाई उक्त गुण दिन सक्छ, तिनीहरूलाई एन्टी-नियोप्लास्टिक (एन्टी-क्यान्सर) र एन्टी-इन्फ्ल्यामेटरी गुणयुक्त खाना वा ओखती भनिन्छ ।   

बेसार मानिसको खानामा परम्परागत रूपमा लामो समयदेखि प्रयोग हुँदै आएको एक पूरक जडीबुटी हो । बेसारमा एन्टी-नियोप्लास्टिक र एन्टी-इन्फ्ल्यामेटरी गुण हुने कुरा आयुर्वेदले पाँच हजार वर्षदेखि भन्दै आएको भए तापनि पश्चिमा औषधिविज्ञानले भर्खर भर्खर मात्र उक्त कुरा प्रमाणित गरी खाना र ओखती दुवैमा बेसारको प्रयोग अधिकतम बढाएको छ ।

बेसार आज राम्रो ओखतीको रूपमा समेत संसारभर प्रख्यात छ । पश्चिमा ओखतीहरूको तत्काल रहेको समस्या छोटो समयमै समाधान त गर्ने तर उक्त समस्या समाधान गर्दै गर्दा कम्तीमा तीन वा सोभन्दा धेरै अन्य झन् चर्को समस्याको दलदलमा मानव जीवनलाई हुत्त्याइदिने मन्द विषयुक्त बैगुनको अगाडि बेसारजस्ता आयुर्वेद र हर्बल ओखतीहरू उत्कृष्ट देखिएका छन् । यसको अर्थ आयुर्वेदिक ओखती साइड इफेक्टशून्य छैनन् । तुलनात्मक रूपमा शून्य बराबर रहेको मान्न सकिने कुरा मात्र तर्कसङ्गत मान्न सकिन्छ ।      

सजिलोका लागि एउटा फ्युजन हेल्थको बेसारबाट बनेको कर्कुमिंन सी-थ्री नामक कर्कुमिंन कम्प्लेक्सको उदाहरण हेरौँ । 'कर्कुमिंन एडभान्स' नाम दिइएको उक्त ओखतीको क्याप्सुल १३ ग्राम बेसार, १९० मिलिग्राम बेसारको सारतत्त्व कर्कुमिनोड़, ३.७५ ग्राम अदुवाको पाउडर, ११० मिलिग्राम मरीचको धुलो, ५.१ मिलिग्राम मरीचको सारतत्व पेपरिन, १५० मिलिग्राम सल्लकी गुगलेको सारतत्व बिटाबोसवेलिक एसिड तथा ३.७५ ग्राम गमरेजिन (सल्लकी) मिलाई बनाइएको हुन्छ।

बेसारको कडापनलाई बढाएर मरीच हाली थोरै परपराउँदो बनाएको अदुवासँग मिसाएर गमको सहायताले प्रभावकारी बेसारको क्याप्सुल बनाइएको छ । परम्परागत रूपमा हाम्रो बारीको आलै हलेदोबाट बन्ने बेसारको झोल होस् वा अर्गानिक हलेदो सामान्य घाममा सुकेको चाना पिनेर बनेको बेसारमा हुने तागत औषधिको क्याप्सुल बनाउने क्रममा हुने ढुवानी, प्रशोधन र भण्डारणमा हुने क्षतिलाई पुन:  सकेसम्म धेरै निर्माण हुने गरी कर्कुमिंन एडभान्सको फर्मुलेसन तयार गरिएको छ । जसमा तपाईं गर्भवतीलाई डाक्टरको सल्लाहबिना कर्कुमिंन एडभान्स नखान भनिएको छ । आज विश्व बजारमा कर्कुमिंन एडभान्सजस्ता हजारौँ हलेदोका ओखती उपलब्ध छन् ।

हालै अस्ट्रेलियाका नाम चलेका विभिन्न आठ अस्पतालका प्रायः सेक्टरका विशेषज्ञ समावेश हुने गरी बनेको नौ डाक्टरको टोलीले सन् २००६ देखि २०१८ सम्म बेसारले कलेजोमा हानि पुर्याइरहेको घटना र जन्डिसमा बेसारको असरबारे महत्त्वपूर्ण २६ वटा केसस्टडी गरे । जसमा दुइटा केसमा कर्कुमिंन एडभान्सबाट कलेजोमा गम्भीर हेपाटाइटिस समस्या देखियो ।

जुन २९ अप्रिल २०१९ को हिन्दावी केस रिपोर्ट इनहेपाटोलोजीमा भोलुम- २०१९ 'टरमरिक इन्डियुस लिभर इन्जुरी: अ रिपोर्ट अफ टु केसेस' शीर्षकमा प्रकाशित गरियो । जसमा कलेजोका डाक्टरहरुलाई बेसारले कलेजोको बिमारीमा हुने समस्याबारे सचेत हुन समेत सुझाएको छ । संसारमा यस्ता धेरै केसहरू छन्, जहाँ कलेजो (जन्डिस) को बिमारीमा बेसारले हित हैन, खती पुर्‍याएको छ । त्यति हुँदाहुँदै पनि सामान्य तय कलेजोको बिरामीले बेसार बारिहाल्नुपर्ने भन्ने हैन । तर कतिपय कलेजोको कम्प्लिकेसनमा बेसारले क्षति पुर्‍याएको प्रशस्त प्रमाणहरू हाम्रासामु छन् । उपलब्ध प्रमाणहरूले बेसारबाट कलेजोको बिमारीलाई हानि हुँदैन भन्ने साबित गरिरहेको अवस्था छैन।

बेसारमा लगभग ३% एन्टी-नियोप्लास्टिक (एन्टी-क्यान्सर) र एन्टी इन्फ्ल्यामेटरी गुणयुक्त करकुमिनोइड हुने र त्यसको अलावा मानिसलाई दैनिक जरुरी हुने आइरनको १५%, म्याग्निज ९%, पोटासियम ७% र कपर ५% मात्र एक चम्चा बेसारले पूर्ति गरिदिने हुँदा संसारका मानिसहरुमा जेमा पनि बेसार हाली खाने लत विकास हुन थालेको छ । किनकि यसका कारण रगत सफा गर्ने, हड्डी दह्रो बनाउने, आन्द्रा, स्तन र फोक्सोको क्यान्सर रोक्ने जस्ता गुण लोभलाग्दो छ । त्यस्तै गठिया, हड्डीका जोर्नी दुखेको, सुन्नेको ओखती हुने निकै लाभकारी कुरा हुन् ।

सामान्य तथा गर्भवती रहँदा र बच्चालाई दूध खुवाउने आमामा बेसारले राम्रै गरेको भेटिएको छ । तैपनि आज जुन हदमा बेसार खाने क्रेज मानिसमा छ, त्यो कतिपय गर्भवती आमाका लागि सुखद नरहेको समेत भेटिएको छ । एनसीबीआईको गर्भवती र दूध खुवाउने आमाहरूका लागि लेखिएको डाटाबेसमा बेसार सामान्यतय उच्च मात्रामा समेत सुरक्षित नै मानिन्छ ।  कतिपय महिलामा यसले वाकवाकी लगाउने र डायरिया समेत गराउने, कसैमा दुर्लभ एलर्जी गरिदिने तथा वारफेरिन र एन्टिपलेटलेट ड्रग लिइरहेकाहरूमा रक्तस्रावको जोखिम बढाइदिने गरेको देखिएको छ । गर्भवती र बच्चालाई दूध खुवाउने अवस्थाका आमामा बेसार पूर्ण साइड इफेक्टरहित भन्ने तर्कलाई पुष्टि गर्ने अवस्था रहेन । (खाद्य तथा औषधिविज्ञ)