कोरोनाको आवरणभित्र महिला हिंसाको महामारी

कोरोनाको आवरणभित्र महिला हिंसाको महामारी

काठमाडौं । असार २ मा राष्ट्रिय सभाका सांसदहरूले महिलाका लागि छुट्टै क्वारेन्टाइन व्यवस्था र सुरक्षाको सुनिश्चितता माग गरे । महिला संक्रमितको संख्या कम भएकाले महिला स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीसहित जिल्लागत रुपमा छुट्टै क्वारेन्टाइन व्यवस्था गर्नुपर्ने भनाइ सांसदहरुको छ ।

कैलालीको लम्की चुहा नगरपालिकास्थित सहिद स्मृति माविको क्वारेन्टाइनमा राति सुतिरहेकी एक महिलामाथि तीन स्वयंसेवकबाट सामूहिक बलात्कार भएपछि प्रश्न उठेको छ, महिलाहरु कहाँ सुरक्षित छन् ? क्वारेन्टाइन स्थलमा सम्भावित हिंसा तथा जोखिम मध्यनजर गर्दै महिला तथा बालबालिकाका लागि छुट्टै क्वारेन्टाइन तथा बढी प्रभावित क्षेत्रमा मनोपरामर्श सेवा प्रवाह गर्नुपर्ने अवस्था आइसकेको छ ।

कोरोना भाइरसको महामारीपछि देशभरि बनेका क्वारेन्टाइनहरु बेथितिको केन्द्रजस्तो भएका छन् । महिला र पुरुषलाई एकै ठाउँ राखिएका छन् । देशैभरि मापदण्डविपरीत बिना सुविधा सञ्चालन गरिएका क्वारेन्टाइनको एउटै कोठामा २० जनासम्म खाँदिएको छ । 

कैलालीमा बलात्कारजस्तो जघन्य अपराधको घटना सार्वजनिक भएका बेला नेपाली कांग्रेसको भगिनी संस्था नेपाल महिला संघले मुलुकभरका क्वारेन्टाइनमा रहेका महिलामध्ये १ हजार ६ सय ८४ जनामाथि हिंसा भएको भयावह तथ्य सार्वजनिक गरेको छ । महिला संघले आफ्नो जिल्लास्थित संयन्त्रमार्फत विवरण संकलन गरेकामध्ये अधिकांश महिला हिंसा गुपचुप छन् ।

लकडाउनका कारण मानिसहरु घरबाहिर निस्कन पाएनन् । घरेलु हिंसा भोग्दै आएका महिला पनि आफूलाई शारीरिक एवं मानसिक यातना दिने पुरुषसँग एउटै घर–कोठाभित्र थुनिन विवश भए । तर नेपाली महिलाहरुले आफ्नो उत्पीडन अथवा हिंसाको उजुरी गर्न सकेनन् । लकडाउनमा त्यस्ता घटना कम दर्ता हुनु नै महिला हिंसा घट्नु होइन । 

महिला पुनःस्थापना केन्द्र (ओरेक)का अनुसार लकडाउनमा २४ जिल्लामा २ सय ३१ वटा महिला तथा बालबालिकामाथि विभिन्न प्रकारका हिंसा भए । त्यसमा १ सय ३३ वटा घरेलु हिंसा, २१ वटा सामाजिक हिंसा, ३४ वटा बलात्कार र ७ वटा बलात्कारको प्रयास, २ वटा हत्या, २ वटा हत्याको प्रयास, २ वटा आमहत्याको प्रयास, १० वटा यौन दुर्व्यवहारका घटना, १४ वटा आत्महत्या, ४ वटा साइबर अपराधसँग सम्बन्धित घटना छन् ।

हिंसा गर्ने व्यक्ति सबैभन्दा बढी १०५ जना पति र ४५ जना परिवारका सदस्य, ४६ जना छिमेकी, १२ जना प्रेमी ठानिएका व्यक्ति, ५ जना साथी,  ४ जना घरधनी रहेका छन् भने २५ जना पीडकको पहिचान खुल्न बाँकी छ । त्यस अवधिमा भएका ३४ वटा बलात्कारका घटनामध्ये २ वटा सामूहिक बलात्कारका छन् । त्यस घटनामा २ जना प्रेमी ठानिएका व्यक्ति र उसका ११ जना साथी संलग्न रहेको पाइएको छ । 

लकडाउनको अवस्थामा बलात्कारका घटनामा कमी नहुनु, भएका घटना पनि जन्मदिने बुवासहित आफन्त र छिमेकीबाट भएको सुन्दा महिलाले सुरक्षा खोज्न कहाँ जाने भन्ने प्रश्न उठ्नु स्वाभाविकै हो । सरकारले कोरोनाभाइरस महामारीपछि गत चैत ११ देखि लकडाउन लगाएको थियो । 

कोरोनाभाइरसको आवरणभित्र महिला हिंसा पनि महामारीकै रुपमा फैलिँदै गएको छ । 'यस्तो विषम परिस्थितिमा पनि महिलाहरु घरदेखि क्वारेन्टाइनसम्म महिला असुरक्षित छन्,' नेपाल महिला संघकी अध्यक्ष उमा अधिकारी भन्छिन्,  'म २०४८ देखि चौथो चोटि सांसद भएँ । बजेट तथा नीति कार्यक्रममा वर्षेनी महिला हिंसा अन्त्य गर्ने भनिएको छ । तर कागजमा छ, व्यवहारमा छैन ।'

लकडाउन अवधिमा सामाजिक अपराध डरलाग्दो गरी बढेको छ । क्वारेन्टाइन दौरान घरभित्र हिंसाका घटना किन बढे  ? के आर्थिक समस्या, बेरोजगारी, एक्लोपन, संक्रमणको त्रास र मानसिक तनावले गर्दा पीडक एक्कासि हिंस्रक भए होलान्  ? लेखिका अर्चना थापा भन्छिन्, 'घरेलु हिंसाका कभरेज पढ्दा लाग्छ, मानौं हिंसाको दोषी क्वारेन्टाइन हो, पीडक होइन । मानौं महामारीबाट सिर्जेको असहज परिस्थितिले गर्दा पीडकले नियन्त्रण गुमाउँछ र ऊसित हिंसा गर्नेबाहेक विकल्प हुँदैन । महिला हिंसा पहिला पनि हुन्थे, क्वारेन्टाइनमा र पछि पनि भइरहन्छन् ।' क्वारेन्टाइनले भन्दा पनि हिंसाको पराकाष्ठा बढेकाले महिलाको ज्यानको खतरा बढेको थापाको भनाइ छ ।

महिलालाई दोहोरो पीडा छ, घरबाहिर कोरोना, घरभित्र हिंसा । संयुक्त राष्ट्रसंघको महिलासम्बन्धी कार्यक्रम ‍(यूएन वुमन)को प्रतिवेदन अनुसार विश्वभरि नै लकडाउनपछि महिला हिंसासम्बन्धी घटनामा ३० प्रतिशत वृद्धि भएको छ । त्यसो त संविधान र कानूनले महिलाका हकहितका विषयमा व्यवस्था नगरेको होइन, तैपनि समाजमा हुने विभिन्न खालका अपराध र घरेलु हिंसाविरुद्ध महिलाले प्रतिवाद गर्ने र कानूनी उपचारका लागि सम्बन्धित निकायसम्म पुग्न सक्ने अवस्था छैन । 

नेपाल प्रहरीको तथ्यांक अनुसार गत वर्ष महिलाविरुद्ध हुने हिंसाको ७८.८४ प्रतिशत घरेलु थियो । घरेलु हिंसापछि नेपाली महिलामाथि बलात्कार तथा बलात्कारपछि हत्या पनि त्यत्तिकै छ । प्रहरीकै गत वर्षको तथ्यांकले १७.१७ प्रतिशत बलात्कार, बलात्कार प्रयास तथा यौन हिंसाको घटना भएको देखाएको छ । कोरोनाकै कारण यस वर्ष त्यो सङ्ख्या बढ्ने जोखिम छँदै छ ।