राजन गोदारको पडकास्टमा स्वागत छ । शरीरको तापक्रम सकारण बढेको छ । गिदी नै पग्लिने खालको कस्तो ज्वरो आयो ? हाम्रै दूषित अतीतलाई हेर्दाहेर्दै आँखा रातो भएर आयो । चिड्चिड पसिना छुट्यो । सायद ज्वरो भित्रभित्रै मेरो गिदी पगालिरहेको छ । दूषित अतीत ! हो, हाम्रो दूषित अतीत ।
चारैतर्फ ऐना देखाएर हलचल नगरी उभिएको छ भाइरस । प्रिमियम एचडी क्वालिटीमा विगत ६ महिनादेखि शृंखलाबद्ध चलेको चल्यै छ, एउटा डकुमेन्ट्री– ऐना । चाहेर न पज हुन्छ, न फरवार्ड, न त स्टप नै । अप्सन छ, हरएक साना–ठूला देशका मौलिक संस्करणहरु छन् । कुन संस्करण हेर्ने ?
समय र स्थानको कुनै इज्जत गर्दैन । तपाईंको मुड र मोडको पनि कुनै मतलब छैन । आँखा चिम्ले ठिकै छ । खोले, नहेरी सुखै छैन । शौचालय जाँदा होस् वा सोचमग्न हुँदा, काम होस् वा कामक्रीडा, पीडा होस् वा परमानन्द, जुन बेला जहाँ पनि चलेको चल्यै छ– ऐना । हिजो, आज र भोलि शीर्षकका तिनै अध्यायका खास खास स्वाद छन् । तर सबै अध्याय हेर्दा हाम्रो गिदी पग्लिराख्छ ।
आज एउटा मात्रै शृंखला तपाईंहरुसँग कहन्छु ।
हिजो ।
हिजो, पूरै कालो रङले हाइलाइटेड छ । बिस्तारै यसको पुछारमा खैरो रङले दूषित अतीत पोतिँदै छ । करिब १ मिनेट जुम-इन, जुम-आउट भएपछि देखिने अर्को दृश्य दर्दनाक छ ।
मान्छेका कन्चटमा प्वाल पारेर तिनको गिदी पग्लिँदै तप्पतप्प चुहिरहेको छ । रेडियो, टीभी ब्लास्ट भैरहेको । पत्रपत्रिका जल्दै गरेको । मान्छे भकाभक ढल्दै गरेको । शान्ति शान्ति... जलिरहेको दियो निभाएर विकासे विचार र वाद काँधमा बोकेका मान्छेहरु विषाक्त धुवाँ छोड्दै चौतर्फी दौडिरहेका । त्यो धुवाँ रफ्तारमा फैलँदो छ र मान्छेको भीड त्यही धुवाँमा हराउँदो छ । धुवाँ–धुवाँ छ । मान्छेले लामो लामो सास तान्दै फाल्दै गरेको आवाज ह्वात्त चर्को हुन्छ र बिलाउँदै जान्छ ।
अचानक मुसलधारे पानी पर्छ । पानी र धुवाँको धूमिल दृश्यमा मानव आकारका धर्साहरु देखिन्छन् । आकार सग्लँदै जान्छ । पानीमा धुवाँ सङ्लँदै जान्छ । अनि देखिन्छ, सबै मानिसले टाउको आकाशतर्फ ठड्याएका छन् । तिनको आँखा, कान, नाक, छाला, जिब्रो शरीरबाट फ्वात्त, फ्वात्त बाहिर फुस्किरहेका छन् । फोक्सो, कलेजो ओकल्दै गरेका छन् । त्यो दृश्य फेड-आउट हुन्छ । र देखिन्छ, एउटा बूढो मुढो जहाँ सामाजिक, आर्थिक एवं राजनीतिक परिवर्तन खोपिएको छ । त्यो मुढो केही क्षण गाढा भएर स्क्रिनभरि बस्छ र हराउँदै जान्छ ।
त्यसपछि पूरै कालो हुँदै गएको स्क्रिनबाट कोही बोल्छ :
नेपाली जिन्दगीको सरदर आयुमा ७० वर्षको ट्याग लागेको छ । ७ दशक बिताएर पनि दुई खुट्टाले हिँड्न नसकेको सामाजिक, राजनीतिक परिवर्तनलाई अझै छातीमै टाँसेका छौ । विषाक्त धुवाँ छोडिरहेका विकासे विचार र वादको काखीमा च्यापिएर आज पनि मन मगन छौ । आँखा, नाक, कान, छाला, जिब्रो सबका सब हाइबर्नेसनमा राखेर मस्त मस्त निद्रामा छौ ।
सुन,
भाइरसको घण्टी बजेदेखि फोक्सो, कलेजोविहीन राजनीतिक परिवर्तन र सत्ताको जग फुत्कनै लागेको बंगाराजस्तो हलहल हल्लिएको छ । तिमीले हिजै सोध्नुपर्ने प्रश्न, आज भाइरसले सोधिदिएको छ । टेको लगाएर अर्को ७० वर्ष यसैगरी गुजार्ने गुरुयोजनामा तिम्रा सर्वदलीय मुखियाहरु पसिना बगाउँदै छन् ।
तिमी के गर्दै छौ ? लोभलाग्दा सपना देख्यो, निदायो । कहिलेकाहीँ तिनै मुखियाले जगाइदिन्छन्, तिनकै लागि जाग्यो । तिनैले फेरि सुताइदिन्छन्, सुत्यो । जाग न हो, जाग ।
कथित सामाजिक, राजनीतिक परिवर्तनका मुखिया र तिनका भरौटेहरुले अनवरत रुपमा गाउँगाउँ बस्तीबस्तीलाई नीदगोली कोचाउँदै आएको तिमीले चाल पाएनौ । हुन त तिमीले बेहोसी बाँचेकै ७ दशक भयो । हेर, छाम त, तिम्रो गिदी पग्लिँदै छ । नीदगोलीको ओभरडोजले तिम्रो गिदी पगाल्दै छ । जाग न हो, जाग ।
भाइरस आएपछि मुखियाहरुको भण्डारमा नीदगोलीको हाहाकार छ । मुखियाहरु ओभरइटिङले सिकिस्त छन् । हिङगोलीले नपचेर उनीहरु थला परेको बेला छ । खै के के भट्टाइरहेका छन् ?
हो, यही बेला हो । ब्युँझनुको विकल्प छैन । नियतिलाई दोष नदेऊ । हेर, जस्तो रोजाइ त्यस्तै भोगाइ । आजसम्म जस्तालाई जिन्दगीको ठेक्का दियौ, त्यस्तै परिणति भोग्दै छौ ।
जाबो, भाइरसका सामुन्ने तिमी यति धेरै असहाय भएको देख्दा, दया त कति लाग्छ कति । तर, दशकौं दशक जसरी बाँच्यौ, तिम्रो पनि त खोट छ । तिमी पनि त अपराधी हौ । अन्धविश्वास पनि अपराध हो । मौनता पनि ।
कृपा गर, जाग । अब त प्रश्नोत्तर सुरु गर । गाँस, बास, कपास, स्वास्थ्य, शिक्षाका कैंयन सवाल छन् । तिमीले प्रश्न नगरुन्जेल तिम्रो मुखियाले जवाफ दिँदैन । कामको कुरा त धेरै परको कुरा, तिमीले हिजै प्रश्न गरेको भए, आज यो भाइरस तिम्रा लागि यति भयंकर हुँदैनथ्यो । उठ, जाग । यो ऐनामा हेर । तिमीले इतिहासमा गरेका सबै गल्तीको फेहरिस्त छर्लंग छ । सिक र आफैलाई बदल । जाग न हो, जाग ।
तिम्रो आफ्नै परिवर्तनबिना तिम्रो ठेकेदारको परिवर्तन सम्भव छैन । यो भाइरस त तिमीलाई ऐना देखाउन आएको फगत एक दूतमात्रै हो । तिमी नीदगोलीको कुलतमा रहुन्जेल रामराज्य सपनामात्रै हो । तिमीले आफ्नो कर्म नगरुन्जेल, रामराज्य कल्पना मात्रै हो ।
चुनावमा आफैले दिएको मत आज यसरी आफैलाई भतभती पोल्छ भन्ने तिमीले सायद कल्पना पनि गरेका थिएनौ । तिम्रो शक्ति भनेको तिम्रो मत र तिम्रो विवेक हो । विवेक हराएर होइन, जगाएर बाँच ।
अर्को शृंखला अर्को हप्ता । ऐनाको आज शृंखला लिएर अर्को हप्ता तपाईसँग प्रस्तुत हुनेछु । लेट्स वेक अप । जागौं । गाँस, बास, कपास, स्वास्थ्य, शिक्षाका कैंयन सवाल छन् । तिनलाई टुंगो लगाऊँ । हामी यस्तै त हो नि, कम्तीमा भावी सन्ततिका लागि त जागौं ।
जागौं । लेट्स वेक अप ।