लकडाउनको साठी दिनः समयको बर्बादी

लकडाउनको साठी दिनः समयको बर्बादी

–हिरा बहादुर कार्की
“त्यो कुर्सी”मा बसेर भन्दिए पुग्ने लकडाउनको जुक्ती लगाउँदै कति दिन, महिना, साल गुजार्ने योजना छ ? यो बल्छी थापेर कुन माछा मार्ने ? पर्खेको के हो थाहा छैन । कहिलेसम्म अस्तव्यस्त रहन सकिन्छ ? लकडाउन लम्बाउनु कुनै काम नै होइन । “त्यो कुर्सी”मा जोकोही निकम्मा गएर बसोस् । हरकोहीले यस्तो काम गर्न सक्छ ।

यो पनि काम हो भन्ने हो भनेपनि यस्तो काम गर्न केही काम नै गर्नुपर्दैन । केही चाँहिदा पनि चाँहिदैन । छ भने– बुद्धि, विवेक, क्षमता आदि ईत्यादी त्यो बेला चाहिन्छ जतिबेला सबै चिज चलायमान गराएर पनि सुरक्षित राखिरहने जाँगर चल्छ । जतिबेला मनदेखी नै यो देश र देशवासीको माया लाग्छ, यिनका लागि काम गर्नुपर्छ भन्ने संकल्पको जन्म हुन्छ ।

मानिस र जिन्दगी स्वभाविक रुपले चलायमान हुन्छन् । मान्छेको जिन्दगीलाई सडाउन धेरै दिन फ्रिजमा कोचेर राखिरहनु पर्दैन । लकडाउनको नुनले गलाइराख्नु पनि पर्दैन । लकडाउनको फ्रिजभित्रै जिन्दगीहरु सडेर गन्हाउन थालेपछि ज्ञात हुनेछ– लकडाउन कति महँगो प¥यो । जति धेरै लम्बाउँछौ त्यती धेरै आर्थिक सामाजिक क्षती निश्चित छ । यो भाइरसले के मार्छ, जति अब भोक, शोक र डिप्रेसनले मार्छ ।

क्षण क्षणको महत्व हरेक क्षण बढ्दै गइरहेको समयमा दुई महिना चानचुने समय होइन । दुई महिनामा कैंयन जिन्दगीहरु त्यही फ्रिजभित्र सडिसकेका छन् । बाहिर झिक्ने अनुमति नभएर पो । नभए यसको दुर्गन्ध सोझै सिंहदरवार, बालुवाटार दरवारमा पुगिसक्थ्यो । एन९५ मास्कले यसको गन्ध के छेक्न सक्थ्यो । दुई महिनामा भएका, भनिएका उपलब्धीहरुको सुक्ष्म अध्ययन गर्ने हो भने सिन्को पनि भाँचिएको छैन । गाली मात्रै गर्छ भन्नुहोला, ताली पिट्न त काम पनि गर्नुपर्यो नि ।
हाम्रो अवस्था त भित्रभित्रै धेरै विकराल भैसक्यो । यसलाई ब्युँताउन लगभग मर्नै पर्ने जस्तो भैसक्यो । हाम्रो यस्तो अवस्था भैसक्दा सरकारको अवस्था र व्यवस्था बलियो छ भन्ने कुरामा दुई पैसाको पनि विश्वास छैन । भरोसा त परको कुरा । साथीभाइसँग लकडाउनको विकल्पको कुरा गर्छु । मौका मिल्दा केही विज्ञहरुसँग पनि यो कुरा राखिहाल्छु । मतमताउने गरी बहुजनको प्रतिक्रिया यस्तै यस्तै आउँछः

यो कोरोना महामारीमा हामीसँग लकडाउनको बाहेक अर्को विकल्प छैन । न हामीसँग हरेक हिसाबले तम्तायर अस्पताल छन्, न स्वास्थ्यकर्मि । महामारीबाट जोगिन न तयारी छ, न पुर्वाधार छ । न समाज बुझ्ने छ, न बुझेको व्यवहारमा उतार्छ । सरकारले आफ्नो नागरिकको जिवनरक्षा गर्नै पर्छ । त्यसका लागि लकडाउनको विकल्प लकडाउन नै हो । अर्को विकल्प हुनै सक्दैन ।
लकडाउन एउटा उपाय थियो । अब होइन । संसारका महत्वाकांक्षी प्रयोगशालाहरुमा कैंयन विशेषज्ञहरु हरक्षण प्रयास गरिरहेका छन् । कुनै दिन यो भाइरसको पुर्ण पाठ त आउँछ नै । तर कहिले? अझै कतिन्जेल लम्बाउन सक्ने हैसियत छ? यो दुई महिनाको लकडाउन गर्न पनि हैसियत कहाँ थियो र। न भौतिक न आर्थिक । सरकार सँधै निद्रालु छ र पो त होश नभएको । नागरिकको जिवनरक्षा हेतु तिनलाई अनिश्चितकाल सम्म घरभित्रै थुनेर बचाईरहन मुश्किल होइन असम्भव छ ।
हामीभन्दा धेरै समृद्ध राष्ट्रहरुले लकडाउन खुकुलो बनाउँदै लगिसके । कति राष्ट्रहरुले लकडाउन खुकुलो बनाउँदै लग्ने चरणबद्ध योजना सार्वजनिक गरिरहेका छन् । कोराना संक्रमित बढेपनि उपचार गर्ने सम्पुर्ण स्रोतसाधन तम्तयार भएर त्यसो गरेका होइनन् । लकडाउनको वर्तमान प्रभाव र भावी असरको सुक्ष्म अध्ययन गरेर नै त्यस्ता निर्णयहरु लिइएका हुन् । नपत्याए, अध्ययन टोली खटाइयोस् । मै पनि सघाउँला । घाँटी हेरेर हाँड निल्नुपर्छ । यो लकडाउन घाँटीमै अड्केला है अड्केला !

लकडाउन गरेरै प्रभावकारी नियन्त्रणको फुँई लगाइरहेको नेपाल सरकारलाई संक्रमितको बढ्दो संख्याले यतिबेला थाङनामा सुताईदिएको छ । यो र त्यो भएको, भैसकेको र हुँदै गरेको भनेर जति नै फलाकेपनि के गर्नु । बोलेर हुँदो रैछ र? अझैपनि यहि शैली र कार्ययोजनाको निरन्तरताबाट नै कोरोना भाइरसको प्रभावकारी नियन्त्रणको प्रयास गर्न खोज्नु एउटा अन्त्यहीन दुष्चक्रमा फँस्नु र फँसाउनु हो । यस्तो दुष्चक्र कि सुनामी खोज्न जानुपर्दैन । र त्यो सुनामीले अर्थतन्त्र, सामाजिक सदभाव, मानवियता सोहोरेर लैजान्छ । र बाँकी रहन्छ, रोग (मानसिक एवं शारिरीक), भोक र शोक । रोग, भोक र शोकले जन्माउने दुरावस्था सम्झिँदै कहालीलाग्दो छ ।

मान्छे मार्ने कुविचार पोखिस् भन्ने आरोप लागे पनि लागोस् । यथार्थ यही हो । यो भाइरस फैलेला । मसहित केही जिन्दगीहरु गन्तव्यमा पुग्लान् । लोकस्वास्थ्यका नाममा लकडाउन गरिराख्ने कि यो दुरावस्थाबाट जोगाउन व्यवस्थित जोखिम मोल्ने? परिक्षणको दायरा बढाउने कुरा बोलीमै सिमित रहिरहने हो, क्वारेन्टिन र सिमाबाट आवतजावतको निगरानीको अवस्था यस्तै हुने, सँधै हामीसँग अभाव छ र हामीसँग क्षमता छैन मात्रै भनिरहने र गर्नैपर्ने सबै काम कछुवाकै गतीमा लसक लसक हिँडिराख्ने हो भने लकडाउन लम्बाएर के गर्नु ?

आज व्यवस्थित जोखिम मोल्न दुई महिना पहिलेदेखी गृहकार्य शुरु गर्नुपर्थ्याे । जबजब देशले परिक्षा लिन खोज्छ सरकारको नामनिशान खोजेर पाइँदैन । यो जोखिम मोल्न पुर्वतयारीका नाममा एउटा मोबाइल एप कोभिडएनपी आएको छ । आएको छ के भन्नु, अधुरो भर्सन को झारो टार्ने उद्घाटन भएको छ भनौं । सबैलाई अनुरोध छ, निदाइरहेको सरकारलाई झकझकाउँ । लकडाउन खोल्ने जोखिम मोल्न चरणवद्ध कार्ययोजनाको विवरण र भैपरी आउने अवस्थाको लागि पुर्वतयारीको पुर्णपाठ माग्न थालौं । मागेको माग्यै गरौं । हाम्रै सरकार हो, हामी नब्युँझिकन उ कहाँ ब्युँझन्छ र?

जनवरी देखी विश्व आतंकित थियो । हामी निदाएकै थियौं । अहिले आतंकित छौं तर अझै सावधान छैनौं । साँच्चिकै नागरिकलाई जोगाउने नै हो भने विश्वसनिय परिक्षणको गेयर चेन्ज गर्नुपर्यो, सचेतनात्मक अभियान दुरदराजको गाउँ गाउँसम्म पुग्नु पर्यो, संक्रमित सम्पर्कको पहिचान र तिनको आइसोलेसनको व्यवस्थित व्यवस्थापन गर्नुपर्यो । स्वास्थ्य तथा उपचारसम्बन्धि कुनै पनि किसीमको सामग्रीको अभाव तुरुन्त सम्बोधन गर्नुपर्यो । र सरकारको सम्पुर्ण शक्ति, समय, बुद्धि, विवेक यो महामारी अन्त्य नभउन्जेल यसमै केन्द्रित हुनुपर्यो ।

कोरोनाको एेना नांगो भएको छ हाम्रो स्वास्थ्यप्रणाली । सिकौं र सुधारौं । कोरोना अन्तिम महामारी होइन, भावि महामारीबाट जोगिन पनि बलियो जग बसालौं ।

Twitter: @Karkihira