नयाँ उद्योग शुरु गर्नेलाई सरकारको ५० लाख अनुदान, यस्तो छ प्रक्रिया

नयाँ उद्योग शुरु गर्नेलाई सरकारको ५० लाख अनुदान,  यस्तो छ प्रक्रिया

सरकारले नयाँ उद्योग सञ्चालन गर्ने व्यक्ति वा संस्थालाई ५० लाख रूपैयाँसम्म अनुदान दिने भएको छ । सरकारले नवीनतम ज्ञान, सीप र क्षमता भएका उद्यम व्यवसाय संचालन गर्न चाहने व्यक्तिलाई अनुदान दिने भएको हो । राष्ट्रिय योजना आयोगले अनुदानका लागि आवेदन पेश गर्न बैशाख २९ सूचना प्रकाशन गरेको थियो । सूचना प्रकाशन भएको ३० दिनभित्रमा आवेदन दिनु भनिएको छ । आवेदन व्यक्ति र संस्था दुबैले दिन सक्ने छन् ।

नयाँ क्षेत्रमा व्यवसाय गर्न चाहने व्यक्ति वा व्यवसायी आफूले गर्न खोजेको काम, त्यसको जोखिम, सम्भावित प्रतिफल, आवश्यक पर्ने रकम, सरकारबाट अपेक्षा गरिएको अनुदान रकम र त्यसबाट अर्थतन्त्रमा पर्न सक्ने सकारात्मक प्रभाव लगायतका विषय उल्लेख गरी प्रस्ताव पेश गर्न सकिने व्यवस्था कार्यविधिले गरेको छ ।

योजना आयोगका कार्यक्रम निर्देशक शिवरञ्जन पौडेलले नवीन आविष्कार र उद्यम गर्नेलाई सरकारले ५० लाख अनुदान दिने बताए । नयाँ व्यवसायमा सरकारले दिए जति नै रकम व्यक्ति वा संस्थाले पनि लगानी गर्नु पर्ने छ ।प्रस्ताव छनोट भएमा आविष्कारक, उद्यमी वा व्यवसायी व्यक्ति वा संस्थासँग प्रस्ताव कार्यान्वयन गर्ने अवधिका विषयमा समितिसँग सम्झौता गर्नुपर्छ । अनुदान लिएर नवप्रवर्तनको काम गर्नेले प्रत्येक चार महिनामा आफूले गरेको काम कारबाहीको प्रतिवेदन समिति समक्ष पेश गर्नुपर्ने छ ।

छनोट भएका प्रस्ताव कार्यान्वयन शुरू भएपछि पहिलो किस्ता, कार्य प्रगतिको आधारमा दोस्रो किस्ता र काम सम्पन्न भएपछि तेस्रो किस्ताको रकम पाउने व्यवस्था कार्यविधिमा गरिएको छ ।

स्टार्टअप कम्पनीहरूको प्रस्तावलाई निर्देशक समितिले मूल्याङ्कनका लागि प्रस्ताव मूल्याङ्कन उपसमितिमा पठाउनुपर्ने व्यवस्था कार्यविधिमा गरिएको छ । उपसमितिले ३० दिन भित्रमा प्रस्ताव मूल्याङ्कन गरी निर्देशक समितिमा सिफारिस गर्ने छ ।