काठमाडौँः सरकारले लकडाउनको स्वरुप परिमार्जन गरेको छ । अन्तर्राष्ट्रिय सीमा नाका तथा उडानलाई बन्देज गरे पनि आन्तरिक रुपमा भने केही खुकुलो बनाउने निर्णय गरेको छ । बुधबारको मन्त्रिपरिषद बैठकले विकास आयोजना, कृषि क्षेत्र, निर्माण तथा औद्योगिक क्षेत्रलाई खुकुलो बनाउने निर्णय गरेको हो ।
राष्ट्रिय गौरवका आयोजनालाई सुरक्षित रुपमा काम अघि बढाउने निर्णय सरकारले गरेको छ । कृषि तथा पशुपन्छीजन्य कामलाई खुकुलो बनाइएको छ । विरुवा उत्पादन भण्डारण र वितरणलाई सञ्चालन गर्न दिइने भएको छ ।
सबै प्रकारणका अस्पातल तथा मेडिकल अक्सिजन उत्पादन गर्ने उद्योग पनि सञ्चालित हुनेछन् । एग्रोभेट र भेटरीनरी पनि सञ्चालन हुनेछन् ।
पाठ्यपुस्तक पसल खोल्न अनुमति दिने निर्णय सरकारले गरेको छ । ढुवानी सेवाका साधनहरु चालक र परिचालकको स्वास्थ्य जाँच गरी सञ्चालन गर्न दिने निर्णय सरकारले गरेको छ । यस्तो ढुवानी कृषि उत्पादन र स्वास्थ्य सेवासँग सम्बन्धित सवारीसाधन चल्न पाउने व्यवस्था गरेको छ ।
यस्तै, भन्सार जाँचपास भएका र उद्योग प्रतिष्ठानबाट मालसामान लोड भएका सवारीसाधन पनि चल्न दिने निर्णय सरकारले गरेको छ । विकास आयोजनाका निर्माण सामाग्रीका ढुवानी साधन र एम्बुलेन्स सेवा पनि सञ्चालित हुनेछन् ।
विद्यालयका पाठ्यपुस्तक ढुवानीका सवारी सधान पनि सञ्चालन गर्न दिन निर्णय सरकारले गरेको छ । जसका लागि जनक शिक्षा सामाग्री केन्द्रले पास व्यवस्थापन गर्नेछ । अत्यावश्यक सेवाको पास न्यूनतम संख्यामा जारी गर्नेगरि पनि निर्णय भएको छ ।
मन्त्रिपरिषदले लकडाउनको अवधिलाई जेठ ५ गतेसम्म बढाएको छ । यस्तै, हवाइ सेवा जेठ १८ गतेसम्म बन्द गरिएको छ । सीमा बन्दलाई जेठ १८ गतेसम्मलाई निरन्तरता दिइएको छ । मालसामान ढुवानी भने यथावत रहनेछ । बाह्य र आन्तरिक उडान स्थगन हुनेछन् ।
सरकारले विभिन्न ४४ प्रकारका उद्योग व्यवसायलाई सञ्चालन गर्न दिने निर्णय गरेको छ । जसमा खाद्यान्न उत्पादन तथा प्रशोधन, औषधिजन्य व्यवसाय, खानेपानी उत्पादन गर्ने उद्योग, चिनी उद्योग, चिया प्रशोधन, कफी उद्योग, कुखुरा पालन लगायतका छन्।
यस्तै खानी तथा खनिजजन्य उद्योग, बालुवा गिटी तथा सिमेण्ट उद्योग पनि सञ्चालन गर्न पाइनेछ।
विद्युत तथा इन्टरनेटसँग सम्बन्धित व्यवसाय पनि सञ्चलान गर्न दिने निर्णय सरकारले गरेको छ। फलामजन्य उद्योगका काम पनि सञ्चालित हुनेछन्।