काठमाडौँ । पूर्वी पहाडी जिल्लाहरूमा भइरहेको लगातारको वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव दुई लाख क्युसेक प्रतिसेकेन्ड नाघेको छ। सोमबार दिउँसो १२:१५ बजेको मापनअनुसार नदीमा पानीको बहाव २ लाख ७ हजार ४३५ क्युसेक प्रतिसेकेन्ड पुगेको सुनसरी प्रहरीले जनाएको छ।
बढ्दो जलसतहलाई नियन्त्रणमा राख्न कोशी ब्यारेजका कुल ५६ ढोकामध्ये २४ वटा ढोका खोलिएका छन्। पानीको बहाव खतराको तह नजिक पुगेपछि ब्यारेजमा रातो बत्ती बालेर तथा रातो झण्डा फहराएर उच्च सतर्कता अपनाइएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीले नदीको जलसतहमा निरन्तर निगरानी राखिरहेको जनाएको छ। वर्षा जारी रहेकाले बहाव अझै बढ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै प्रहरीले तटीय क्षेत्रका बासिन्दालाई नदी किनारमा नजान र विशेष सजगता अपनाउन आग्रह गरेको छ।