कोरोना सर्ने डरले सातौं दिन पनि उठाइएन आइसोलेसनको शव

कोरोना सर्ने डरले सातौं दिन पनि उठाइएन आइसोलेसनको शव

बुटवल : पतिको मृत्यु भएको छैटौँ दिन पनि रीता थापालाई रातभर छट्पट् भइरह्यो। न त छोराहरू नै निदाउन सके। ठूलो छोरा कुशल र सानो छोला रिजनले बेलाबेलामा सोधिरहे–‘मम्मी, हामी बाबालाई लिन कहिले जाने’ प्रश्नले रीतालाई झस्काउँथ्यो। उत्तर आफूसँग पनि थिएन त्यसैले सुत बाबु रात धेरै बितिसक्यो भनेर मात्रै टारिन्।

सैनामना–४ सिसौडाँडाको एक घरमा बहालमा रहेका यी तीन आमा छोराको अघिल्ला ५ वटा रात पनि यसरी नै बितेका थिए। तर, चैत ७ गते दुबईबाट बाबुराम फर्कंदाको रात रीता र छोराहरू खुसीले दंग थिए। छोराहरू बाबाले ल्याइदिएको मिठाई खाँदै नयाँ कपडा सुम्सुम्याएका थिए। पत्नी रीता केही समय अगाडि ऋणधन गरेर किनेको घडेरीमा केही समयपछि घर बनाउने योजना बाबुरामले सुनाउँदा फुरुंग थिइन्।

खुसी चुँडिन धेरै समय लागेन। घर फिरेको ९ दिनपछि गत आइतबार बुटवलको धागो कारखानामा बनाइएको कोरोना विशेष अस्थायी अस्पतालमा कोरोनाको आशंकामा उपचार गराइरहेका बाबुरामको सास फेर्न निकै गाह्रो मान्दामान्दै मृत्यु भयो। अहिले बाबुरामको पार्थीव शरीर लुम्बिनी प्रादेशिक अस्पतालको शवगृहमै लडिरहेको छ।

आएनन् आफन्त, न त जनप्रतिनिधिकै चासो

मृत्यु भइसकेपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा दुईपटक बाबुरामको घाँटीबाट लिइएको ‘स्वाब’ परीक्षण गर्दा दुवैपटक कोरोना संक्रमण नरहेको पुष्टि भयो। तर, मृतक कोरोनाकै कारण मरेको हुनसक्ने आशंकामा उनका आफन्त भने रीताको दुःखबाट पन्छिरहेका छन्। उनीहरू अस्पतालबाट शव उठाउन त परै जाओस्, मृत्यु भएको ७ लिन बितिसक्न लाग्दा पनि रीतालाई सहानुभूति दिनसमेत आएका छैनन्।

पतिको मृत्यु भएको थाहा हुँदाहुँदै पनि रीताले मृत्यु स्वीकार गर्न सकस मानिरहेकी छन्। उनलाई पतिको अरू कारण नभई अस्पतालको लापहरबाहीका कारण मृत्यु भएको भन्ने लागेको छ। त्यसैले मृत्युको ठोस कारण नखुल्दासम्म उनले शव नलिने अडानमा छिन्। ‘अस्पतालले गर्नुसम्म गर्‍यो। सुरुबाटै उपचार नगरेर ज्वरो मात्रै नाप्यो। मृत्युको वास्तविक कारण थाहा नपाउँदासम्म मैले शव नै बुझ्दिनँ।’ थाहाखबरसँगको कुराकानीमा उनले सुनाइन्। 

‘शनिबार साँझ पनि मसँग कुरा भएको थियो। बिहान एकैपटक त्यस्तो खबर आयो। अरू रोग लागेको भए पनि कारोना भनेर उपचार गरिएन’ उनले भनिन्, ‘आखिर कोरोना पनि होइन रहेछ।’  पतिको मृत्युको कारण खुलाउन उनले अस्पताललाई आग्रह गरेकी छन्। उनले कोरोना परीक्षण नेगेटिभ भए मृत्युको यथार्थ रिपोर्ट डाक्टरले दिनुपर्ने बताइन्। ‘अस्पतालमा समेत उहाँलाई राम्रोसँग उपचार गरेका थिएनन् रे। केही नभएको मान्छे कसरी एकैपटक मर्न सक्छ? खास कुरा के हो भनेका छैनन्’ उनले भनिन्। यता अस्पतालको भने आफ्नै बुझाइ छ।

लुम्बिनी प्रादेशिक अस्पतालले बाबुरामको मृत्युको कारण ‘एआरडिएस’ रहेको आधिकारीक धारणा बनाएको छ। एआरडिएस फोक्सोमा भएका साना हावाका थैलीहरूमा झोलीलो पदार्थ भरिएर रगतमा अक्सिजनको मात्रा कम हुने अवस्था हो। एआरडिएस हुनुमा निमोनियाको कारण रहेको चिकित्सकको बुझाई छ। बाबुराम आईसोलेशनमा भर्ना भएकै दिनदेखि निमोनियाको औषधि चलाएको थियो। अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट राजेन्द्र खनालले अस्पतालले कारण खुलाइसकेको बताउदैं मृतकको परिवारसँग संवाद गर्न सक्ने निकाय निकम्मा भएका कारण समस्या बल्झीएको बताउँछन्। ‘कोरोनाको डरले आफन्त आउन खोजेका छैनन्। मृतकको परिवारसँग कुरा गरेर समाधान निकाल्न जनप्रतिनिधि अथवा नागरिक समाज निस्क्रीय देखिएका छन्’ उनले भने।