मोरङका दुई स्थानमा दुई पुरुषको शव फेला, अनुसन्धान जारी

मोरङका दुई स्थानमा दुई पुरुषको शव फेला, अनुसन्धान जारी

विराटनगर । मोरङका दुई फरक स्थानमा दुई पुरुष मृत अवस्थामा फेला परेका छन् । उर्लाबारी र बेलबारी नगरपालिकामा सोमबार साँझ र मंगलबार बिहान फेला परेका शवको मृत्युको कारण हालसम्म स्पष्ट हुन सकेको छैन । दुवै घटनाको प्रहरी अनुसन्धान विभिन्न कोणबाट अगाडि बढाइएको छ ।

उर्लाबारीमा सुशील लिम्बू मृत फेला

उर्लाबारी नगरपालिका–२ निवासी २३ वर्षीय सुशील लिम्बू मंगलबार बिहान आफ्नै घर नजिकको धानखेतमा मृत भेटिएका हुन् ।
इलाका प्रहरी कार्यालय उर्लाबारीका अनुसार, उनको शव खेतमा घोप्टो परेको, नाकबाट रगत बगेको र हातखुट्टा कक्रिएको अवस्थामा फेला परेको हो ।

घटनास्थलमै पुगेको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धान गरेपछि शवलाई मंगलबारेस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा पोस्टमार्टमका लागि पठाइएको छ ।

प्रहरी स्रोतका अनुसार, लिम्बू सामान्यतः मादक पदार्थको धेरै सेवन गर्ने व्यक्ति भएको प्रारम्भिक जानकारी आएको छ । तथापि, वास्तविक मृत्युको कारण पोष्टमार्टम रिपोर्टपछि मात्र स्पष्ट हुने प्रहरीले जनाएको छ ।

बेलबारीमा डमरु ऋषिदेवको शव

त्यसैगरी, बेलबारी नगरपालिका–७ गिरी टोलका ४१ वर्षीय डमरु ऋषिदेव सोमबार साँझ खेतमा मृत फेला परेका हुन् । उनी साँझ करिब ६ः३० बजे युरिया मल छर्न घरबाट निस्किएका थिए । तर केही समयपछि स्थानीयले खेतमै घोप्टो परेको अवस्थामा मृत देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

इलाका प्रहरी कार्यालय बेलबारीका अनुसार, उनको शवमा देखिने गरी कुनै घाउचोट नदेखिएको बताइएको छ । शवलाई पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ ।

प्रारम्भिक विवरणअनुसार ऋषिदेव शारीरिक रूपमा अघिल्लो समयसम्म स्वस्थ रहेको र घटनाको वास्तविकता बुझ्न थप अनुसन्धान आवश्यक रहेको बताइएको छ ।
 

अनुसन्धान विभिन्न कोणबाट जारी

मोरङ प्रहरी प्रमुख डिएसपी कोपिला चुँडालका अनुसार दुवै घटनालाई गम्भीर रूपमा लिएर अनुसन्धान भइरहेको छ । उनले भनिन्,‘उर्लाबारीको घटनामा मादक पदार्थको अत्यधिक सेवनको आशंका प्रारम्भिक रूपमा आएको छ । तर हामी कुनै पनि निष्कर्षमा पुग्न हतार गर्ने छैनौं । बेलबारीको घटनाबारे पनि हामी विभिन्न कोणबाट अनुसन्धान गरिरहेका छौं ।’

पोस्टमार्टम रिपोर्ट आएपछि मात्र दुवै व्यक्तिको मृत्युको यथार्थ कारण थाहा हुने डिएसपी चुँडालले बताइन् ।
घटनाको प्रकृति हेर्दा हत्या, आत्महत्या, दुर्घटना वा स्वास्थ्य जटिलता जस्ता सबै सम्भावनालाई ध्यानमा राखेर अनुसन्धान अगाडि बढाइएको प्रहरीको भनाइ छ ।