प्रजिअ र सुरक्षा प्रमुखलाई प्रचण्डले भने, संवेदनशील भएर रिङ्कु सदाको मृत्युबारे सत्यतथ्य अनुसन्धान गर्नुस्

प्रजिअ र सुरक्षा प्रमुखलाई प्रचण्डले भने, संवेदनशील भएर रिङ्कु सदाको मृत्युबारे सत्यतथ्य अनुसन्धान गर्नुस्

काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सिरहाका प्रमुख जिल्ला अधिकारी र जिल्लास्थित सुरक्षा प्रमुखसँग रिङ्कुकुमारी सदाको शंकास्पद मृत्यु तथा घटनाको अनुसधान प्रक्रियाबारे जानकारी लिएका छन् ।

जनतासँग माओवादी, तराई मधेस जागरण अभियानको क्रममा सिरहा आएको बेला उनले प्रजिअसहित सुरक्षा प्रमुखलाई बोलाएर घटनाबारे जानकारी लिएका हुन् ।

अध्यक्ष प्रचण्डले शोकमा रहेका परिवार र आन्दोलनमा रहेको संघर्ष समितिसँग आजै भेट गरेका थिए । सो घटनालाई परिवारले हत्या नै भएको आशंका गरिरहेको बताउँदै प्रचण्डले संवेदनशील भएर सत्यतथ्य अनुसन्धान गर्न आग्रह गरे ।

बलात्कारपछि पञ्चायतले मिलापत्र गराउन खोजेकाले बलात्कार भएको देखिएपनि हत्या वा आत्महत्या के हो यथार्थ छानबिन हुनुपर्ने र दर्ता भएका सबै जाहेरीमा अनुसन्धान हुनुपर्ने उनले बताए । अध्यक्ष प्रचण्डले सिरहामै दाइजोसँग जोडिएको घटनामा अर्को एक महिलाको पनि मृत्यु भएको र यसको अनुसन्धानमा ध्यान नपुगेको परिवारबाट गुनासो आएकाले सो घटनाको पनि यथार्थ अनुसन्धान गर्न आग्रह गरे ।

जवाफमा प्रजिअ र सुरक्षा प्रमुखहरुले प्राप्त जाहेरीका आधारमा अनुसन्धान भइरहेको र अनुसन्धान प्रक्रियामा दवाब नरहेको जानकारी गराए ।