काठमाडौं । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी (नेकपा एस) बीच पार्टी एकताको चर्चा हुन थालेको धेरै समय भइसकेको छ । दुई दलबीच एकताको विषयमा छलफल गर्न अनौपचारिक कार्यदलसमेत गठन भइसकेको छ । नेताहरूले एकताको लागि दुई दलबीच धेरै दूरी नरहेको दाबी गर्दै आएका छन् । मुख्यगरी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको नेकपा एससँग एकताको लागि प्रयास गर्दै आएका छन् ।
गत असारमा सरकारबाट बाहिरिएपछि प्रचण्डले नेकपा एससँग पार्टी एकताको लागि तीव्र्र पहल सुरु गर्नुभएको हो । तर, अहिलेसम्म प्रचण्डको प्रयत्नले सार्थकता पाएको छैन । दुई दलबीच पार्टी एकताको चर्चा भइरहँदा नेकपा एसले भने अन्य कुनै पनि राजनीतिक दलहरूसँगको पार्टी एकता अस्वीकार गरेको छ ।
शुक्रबारदेखि सुरु पार्टी केन्द्रीय समितिको बैठकले नेकपा माओवादी केन्द्र वा अन्य कुनै पनि दलहरूसँग तत्काल पार्टी एकताको सम्भावना अस्वीकार गरेको हो । अध्यक्ष माधवकुमार नेपालले एमाले र माओवादीसँग मिल्दै छ भनेर भइरहेको प्रचारको खण्डन गरेका छन् ।
पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफूहरू पार्टी एकताबद्ध बनाएर जाने पक्षमा रहेको उल्लेख गर्दै भने, ‘हाम्रो पार्टीको विषयमा अनेक कुप्रचार हुँदै छन् । कसैले कहिले एमालेसँग यो पार्टी मिल्ने भयो भनेर कसैले माओवादीसँग मिल्न जाने भनेर, यस्ता कुनै पनि कुप्रचारको भ्रममा पर्न आवश्यक छैन ।
हामी हाम्रो पार्टीलाई बलियो र सशक्त बनाउन चाहन्छौँ । आफूहरूले दक्षिणपन्थी अवसरवादको विरुद्ध गरेको विद्रोहको औचित्य दिनदिनै पुष्टि हुँदै गएको छ । अहिले समाजवादी र वामपन्थी शक्तिहरूलाई साथ लिएर अघि बढ्ने पक्षमा रहेका छौँ ।’ केही दिनअघि मात्रै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र उपमहासचिव वर्षमान पुनले एकीकृत समाजवादीसँग चाँडै एकता हुने बताएका थिए ।
नेकपा एसले पार्टीका नेता कार्यकर्ताहरूमा निराशा, हतास, अन्योल, पलायन र निष्क्रिय बस्ने समस्या रहेको स्वीकार गरेको छ । पार्टी महासचिव घनश्याम भुसालले जारी गरेको दोस्रो केन्द्रीय कमिटी बैठकमा पेस गरेको तात्कालिक कार्ययोजनामा दशौँ राष्ट्रिय महाधिवेशनपछि पार्टी जसरी अगाडि बढ्नुपथ्र्यो त्यो हुन नसकेको उल्लेख गरेका छन्।
पार्टीमा समस्या आउनुमा विभिन्न कारणहरू जिम्मेवार रहेको उल्लेख गर्दै महासचिव भुसालले भनेका छन् । तर, जेसुकै भए पनि त्यो कमजोरी नै हो । अहिले पार्टीमा अनेकौँ प्रकारका समस्या छन् । निराशा, हतास, अन्योल, पलायन, निष्क्रियता जस्ता प्रवृत्तिहरू देखिएका छन् । ती समस्याका कारण कतिपय नेता कार्यकर्ताले नेकपा एमालेसँग सामिप्यता खोज्ने, कतिपयले नेकपा माओवादीसँग नजिकिन खोज्ने र आमरूपमा अन्योलग्रस्त प्रवृत्तिहरू देखिएको छ ।
मुलुकको राजनीतिका मुख्य समस्याहरू के हुन्, सामान्य राजनीतिक परिस्थिति कस्तो छ, चुनौती के छन् ?, सम्भावना के छन् र तिनको समाधान गर्ने योजनाबारे खुलाखुलस्त छलफलद्वारा पार्टी पंक्तिलाई एकताबद्ध नबनाए पार्टीले गति लिन सक्दैन । यो तीतो वास्तविकतालाई बिना हिचकिचाहट स्वीकार गरौँ र अगाडि बढौँ ।’
अध्यक्ष माधवकुमार नेपालले संसद् पुनःस्थापनापछि बनेको सरकारका सहयात्रीहरूले आफूहरूलाई उपयोग गरेको गुनासो गरेका छन् । केन्द्रीय कमिटी बैठकमा ‘नेकपा एकीकृत समाजवादी तात्कालिक कार्ययोजनाः आन्दोलनद्वारा पार्टी निर्माण’ शीर्षकको राजनीतिक प्रतिवेदन पेस गर्दै अध्यक्ष नेपालले कांगेस र माओवादी केन्द्रले आफूहरूलाई उपयोग मात्र गरेको गुनासो गरेका हुन्।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रोपटक प्रतिनिधिसभा विघटन गरेपछि सर्वोच्च अदालतले त्यसलाई उल्टाउँदै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको थियो । त्यसरी बनेको सत्ता गठबन्धनकै दलहरूले आफूहरू सकेसम्म उपयोग गरेको नेपालले प्रतिवेदनमा उल्लेख गरेका छन् ।
प्रतिनिधिसभा पुनःस्थापनामा ऐतिहासिक भूमिका निर्वाह गरे पनि त्यसको श्रेयलाई पार्टी निर्माण र संसदीय निर्वाचनमा स्थापित गर्न नसकेको भन्दै नेपालले भनेका छन्, ‘संसद्को पुनःस्थापना गरेर संविधान जोगाउन हाम्रो जुन ऐतिहासिक भूमिका रह्यो त्यसको श्रेयलाई पार्टी निर्माण र संसदीय निर्वाचनमा स्थापित गर्न सकिएन । गठबन्धनका दलहरूले पनि सकेसम्म हामीलाई उपयोग गर्ने काम गरे ।’ अध्यक्ष नेपालले राजनीतिक नियुक्तिमा पठाउन नसक्दा कतिपय नेताले पार्टी छोडेको टिप्पणी गरेका छन्।
नेकपा एसका महासचिव घनश्याम भुसालले तीनमहिने आन्दोलन कार्यक्रमको तालिका प्रस्ताव गरेका छन्। पार्टीको दोस्रो केन्द्रीय कमिटी बैठकमा महासचिव भुसालले आन्दोलनद्वारा पार्टी निर्माणको तात्कालिक योजनाअन्तर्गत आन्दोलनको कार्यतालिका सार्वजनिक गरेका हुन्।
भुसालले गरेको प्रस्तावअनुसार यही फागुन तेस्रो साता गर्ने पत्रकार सम्मेलनमा मुलुकको अर्थ राजनीतिक संकट र त्यसको समाधानसम्बन्धी अभियानबारे धारणा राख्ने तथा त्यसबारे सार्वजनिक रूपमा सुझावहरू आह्वान गर्ने उल्लेख छ । त्यस्तै, चैत १५ गतेसम्म केन्द्रीय तहमा सुझाव संकलनका विभिन्न कार्यक्रमहरू गर्ने र त्यसअन्तर्गत पार्टीका सबै जनसंगठन, विभागसहित अन्य संघ संस्थाहरूबाट सुझाव संकलन गर्ने प्रस्ताव भुसालको छ ।
त्यसपछि चैत २० गते सरकारलाई पार्टीका माग पेस गर्ने, त्यसबीचमा जिल्ला अधिवेशनहरू गर्ने, वैशाख २० गते प्रदेश सरकार र पालिकाहरूमा माग पेस गर्ने र जेठ १० गते काठमाडौंमा प्रदर्शन गर्ने भुसालको प्रस्तावित योजनामा उल्लेख छ । त्यसैगरी, जेठ तेस्रो साताबाट बजेट र आफ्ना मागका बारेमा पत्रकार सम्मेलन गरी नयाँ कार्यक्रम घोषणा गर्ने कार्ययोजनामा उल्लेख छ । केन्द्रीय कमिटी बैठकले ती योजना पास भएपछि कार्यान्वयनमा जानेछन् । महासचिव भुसालले अबको करिब चार/पाँच महिनामा काठमाडौंमा शानदार जनप्रदर्शन गर्नुपर्नेमा जोड दिएका छन् ।
नेकपा एसका सम्मानित नेता झलनाथ खनालले पार्टी संस्थागत र विधिगत रूपमा चल्न नसकेको भन्दै अध्यक्ष माधव नेपालको कटाक्ष गर्नुभएको छ । शुक्रबारबाट जारी केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै नेता खनालले पार्टीनिकट विद्यार्थी संगठन र युवा संघमा गम्भीर समस्या देखिएकाले त्यसको निकास विधि र प्रक्रियाबमोजिम दिनुपर्नेमा जोड दिएका छन् ।
जनसंगठनहरूमा टिके प्रथा सुरु भएको टिप्पणी गरेका खनालले अबदेखि टिके प्रथा सदाका लागि अन्त्य गर्नुपर्ने धारणा राख्दै भने, ‘कुनै पनि पार्टी र संघसंगठन संस्थागत, विधिगत रूपमा चल्नुपर्छ । अबदेखि टिके प्रथा सदाका लागि अन्त्य हुन जरुरी छ ।’ पार्टीभित्र अन्य समस्याहरू पनि रहेको र ती समस्याहरू केन्द्रीय कमिटीले हल गर्छ कि अरू कसैले गर्छ ? भन्दै खनालले अध्यक्ष नेपाललाई प्रश्नसमेत गरेका छन् ।
नेकपा एसले पार्टी सदस्यता शुल्कबापत सदस्यहरूबाट वार्षिक सय रुपैयाँ लिने भएको छ । जारी दोस्रो केन्द्रीय कमिटीमा विधानअनुसार तयार पारेर पेस भएको नियमावली–२०८१ को परिच्छेद २ मा सदस्यतासम्बन्धी व्यवस्था गरिएको छ ।
जसमा पार्टी साधारण सदस्यता लिन आवेदन दिन रु १० तिर्नुपर्ने छ भने संगठित सदस्यताका लागि रु २० तिर्नुपर्ने व्यवस्था गरेको उल्लेख छ । हरेक पार्टी सदस्य र संगठित सदस्यले विधानको धारा २२ बमोजिम पार्टी सदस्यता लिन एक सय र संगठित सदस्यका लागि दुई सय तिर्नुपर्ने व्यवस्था गरेको छ । त्यसरी लिइएको सदस्यता शुल्कको १५ प्रतिशत केन्द्रीय कमिटीमा, १५ प्रतिशत प्रदेशमा, १५ प्रतिशत जिल्लामा, १५ प्रतिशत सम्बन्धित प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय कमिटीमा, १५ प्रतिशत सम्बन्धित प्रदेशसभा निर्वाचन क्षेत्रीय कमिटीमा, १५ प्रतिशत नगर वा इलाका र १० प्रतिशत वडा शाखा कमिटीमा रहने व्यवस्था गरेको छ ।
नेकपा एसले १३ बुँदे आचारसंहिता तय गरेको छ । जारी केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष माधवकुमार नेपालले पार्टीका नेता कार्यकर्तालाई आचारसंहितामा कडाइ गर्ने प्रस्ताव राखेका हुन् ।
आचारसंहितामा भनिएको छ, ‘पार्टीका आन्तरिक छलफलमा हरेक सदस्यले स्वतन्त्रतापूर्वक पार्टीका हरेक विषयमा बोल्न र मत राख्न पाइन्छ तर पार्टी निर्णयकाविरुद्ध आफ्नो पार्टी कमिटीभन्दा बाहिर गएर बोल्न र मत राख्न पाइँदैन । आफ्नो फरक मत वा धारणा भए पनि पार्टी निर्णयको अवज्ञा गर्न पाइँदैन । पार्टी निर्णय लागू गर्नुपर्दछ । अरूका विचारको सम्मान गर्नुपर्दछ । यही हो जनवाद र अनुशासनको सन्तुलन वा सीमा । यस सीमाभित्र रहनु सबैको कर्तव्य हो, यसलाई नाघ्नु दण्डनीय हुन्छ ।’
पार्टीका नेता तथा कार्यकर्ताको आर्थिक र नैतिक आचरण शुद्ध हुनुपर्ने उल्लेख छ । नेता कार्यकर्ताको खानपान, रहनसहन, बस उठ सरल र सामान्य हुनुपर्नेमा जोड दिँदै आचारसंहितामा भनिएको छ, ‘हामीले व्यवहारमा यही कम्युनिष्ट नैतिकता प्रदर्शन गर्नुपर्दछ, गर्नेछौँ । परपुरुष–परस्त्री शारीरिक सम्बन्ध राख्ने र विवाहपूर्व तथा वैवाहिक सम्बन्धबाहिर शारीरिक सम्बन्ध राख्ने कार्य अनैतिक मानिन्छ । कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ताले यस्तो अनैतिक कार्य गर्नु हुँदैन । महिलाप्रति एकनिष्ठताको व्यवहार गर्नुपर्दछ ।’
नेकपा एसको शुक्रबारदेखि सुरु भएको दोस्रो केन्द्रीय कमिटी बैठकको पहिलो दिन केन्द्रीय सदस्य तथा सांसद किसान श्रेष्ठसहित ४० जना अनुपस्थित छन् । पदाधिकारीमध्ये नेता प्रमेश हमाल र सचिव सावित्रा भुसाल पनि अनुपस्थित थिए।
तर, उनीहरू ब्राजिलमा आयोजित एक कार्यक्रममा पार्टीको प्रतिनिधित्व गर्दै पुगेका छन् । अनुपस्थित हुने सदस्यहरूले अनुपस्थितिको कारण खुलाएका छैनन् । नेकपा एसका एक केन्द्रीय नेताले बताएअनुसार अनुपस्थित हुने केन्द्रीय सदस्यहरूलाई अनुपस्थितिको कारण सोधिने भएको छ । ती केन्द्रीय सदस्यको नामावली महासचिव घनश्याम भुसालले संकलन गरेर आफूसँगै राखेको बताइएको छ । नेकपा एसको विभिन्न केन्द्रीय आयोगसहित ३४४ सदस्यीय केन्द्रीय कमिटी रहेको छ । केही समयदेखि पार्टीको नियमित गतिविधिमा नदेखिएका सांसद किसान श्रेष्ठ पनि बैठकमा अनुपस्थित रहनुभएको छ । भारतको प्रयागराजमा जारी १२ वर्षे कुम्भ मेलामा आफू परिवारसहित गएको कारण पार्टी केन्द्रीय कमिटीको बैठकमा सहभागी नभएको उनको दाबी छ ।