काठमाडौँ । हमास र इजरायबिच युद्धविराम भएपछि दुवैतर्फका बन्धक धमाधम रिहा भइरहेका छन् । तर, नेपाली युवा विपिन जोशीको हालसम्म कुनै टुंगो लागेको छैन । हमास समूहले सन् २०२३ अक्टुबर ७ मा इजरायलको अलमिम कबुजबाट विपिनलाई बन्धक बनाएको थियो ।
उनी बन्धकमा परेको झण्डै डेढ वर्ष हुन लागेको छ । हालै युद्धविरामपछि दुवैतर्फका बन्धकहरू रिहा हुँदा विपिनको परिवार पनि रिहाइको बाटो हेरेर बसिरहेका छन् । विपिन रिहाइका लागि नेपालको तर्फबाट परराष्ट्रमन्त्री र प्रधानमन्त्रीले पनि पहल गरिरहेका छन् ।
परराष्ट्रमन्त्री डा।आरजु राणा देउवाले यस विषयमा कतारका विदेशमन्त्रीसँग पटक पटक फोनमा कुरा गरेकी छन् । नेपालका लागि कतारी राजदूतलाई बोलाएर उनले छलफल गरेकी थिइन् ।
२०८० मंसिरको पहिलो हप्ता नेपाल भ्रमणमा आएका कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखैरीसँगको भेटघाटमा पनि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विपिनको रिहाइका लागि पहल गर्न आग्रह गरेका थिए । तत्कालीन परराष्ट्रमन्त्री साउदले पनि राज्यमन्त्री मुखैरीसँगको भेटघाटमा रिहाइको कुरा उठाएका थिए ।
तर, हालसम्म विपिन छुट्ने अत्तोपत्तो छैन । परराष्ट्रविज्ञ जयराज आचार्यले नेपालबाट कस्तो खालको पहल भएको हो, त्यो बुझ्न नसकिएको बताए । कतार र इजिप्टलाई मात्र फोन गरेर नहुने उनी बताउँछन् । विपिन हालसम्म रिहा नहुनुको कारण नेपालको पहल नुपुगेकोजस्तो देखिएको उनको बुझाइ छ ।
तर, परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले भने आफूहरूको तर्फबाट हरेक ढंगको प्रयास जारी रहेको बताए । भने, ‘जोशी रिहाइका लागि नेपाल सरकारको तर्फबाट गर्नुपर्ने हरेक पहल भइरहेको छ, चाँडै रिहा हुनेमा हामी आशावादी छौँ ।’
विपिनलाई गर्न गरिनुपर्ने सबै कूटनीतिक पहल गरिरहेको र प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री राणा स्वयमले पहल गरिरहेका उनले बताए । भने, ‘अहिलेलाई यति बुझौँ, हामी आशापूर्ण ढंगले लागेका छौँ ।’
हमासको बन्धकबाट सबभन्दा बढी थाई नागरिक रिहा भएका छन् । यसो हुनुको कारण इरान र थाइल्यान्डबिच बलियो कूटनीतिक सम्बन्ध रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
इरानले पहल गरेपछि थाई नागरिकहरू रिहा भएको बताइन्छ । थाईहरूसँगै बन्धकमा परेका विपिन भने रिहा हुन सकेनन् । यस्तोमा कूटनीतिक पहल नपुगेको यससम्बन्धी मामिलाका जानकारहरूको बुझाइ छ ।