पाथीभराको काफ्लेपाटीबाट सशस्त्रको क्याम्प हटाउन युवाहरुको चेतावनी, संस्कृति जोगाउँछु भन्दा गोली खानुपर्ने ?

पाथीभराको काफ्लेपाटीबाट सशस्त्रको क्याम्प हटाउन युवाहरुको चेतावनी, संस्कृति जोगाउँछु भन्दा गोली खानुपर्ने ?

काठमाडौं। केवलकार विपक्ष आन्दोलनरत पक्षले ताप्लेजुङको पाथिभरामा केवलकार बनाउने नाममा मुकुम्लुङको सभ्यता मास्न खोजेको भन्दै विरोध जनाएको छ । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै युवाहरुले तत्काल काफ्लेपाटीबाट सशस्त्रको क्याम्प हटाउन सरकारसमक्ष माग गरेका छन् ।


आन्दोलनरत पक्षका अगुवा मेघराज थापाले ताप्लेजुङका सिडिओ नेत्रप्रसाद शर्मालाई कसको आडमा जनताको छातीमा गोली हान्न आदेश दिएको भन्दै प्रश्न तेर्साए । उनले भने,‘म यहाँबाट सिडिओ नेत्रप्रसाद शर्मालाई चूनौति दिन्छु–कुन शक्तिको आडमा प्रहरीलाई, सशस्त्र प्रहरीलाई निर्देशन दिएर गोली हान्न भन्नुभयो ? हाम्रो धर्म, सम्पदा र संस्कृति जोगाउँछु भन्दा हामीले गोली खानुपर्ने ? पाथीभरा नेपालको सम्पत्ति होईन ? राज्यले संरक्षण गर्ने दायित्व हुँदैन ? जनताले संरक्षणको आवाज उठाउँदा गोली हान्ने ? सांस्कृतिक सम्पदा बचाउँछु भन्न नपाउने । सिडिओलाई कारबाही गरियोस । म क्षतिपूर्तिको माग गर्न चाहन्छु ।’

सो क्रममा उनले आन्दोलनको क्रममा राज्य पक्षको दमनबाट घाइते भएकाहरुको जीवन रक्षाको माग गरे । उनले पाथीभरामा केवलकार बनाउने चन्द्र ढकाललाई त्यहाँबाट निस्किन चूनौतिसमेत दिए । उनले भने,‘यो सरकार आम जनताको चिन्ता लिँदैन् । काफ्लेपाटीमा राखिएको सशस्त्र क्याम्प हटाईनुपर्छ । पाथीभराजस्तो पवित्रस्थलमा व्यापारीको आँखा परेको छ । विकासको नाममा चरम विनाश भैरहेको छ । हामीलाई स्विकार्य छैन् ।’


अर्का वक्ता होम मगरले पनि मुकुम्लुङ ऐतिहासिक स्थल भएकोले यसको संरक्षण गर्नुपर्ने सबैको दायित्व भएको बताए । मगरले केवलकारको नाममा आफूहरुको सभ्यता समाप्त पार्न नदिने अडान लिए । उनले केपी ओली सत्तामा हुँदा रैथाने धरोहरमाथि प्रहार हुने गरेको पनि आरोप लगाए ।

उनले भने,‘केपी ओलीले देशको नेतृत्व लिँदा रैथाने धरोहरमाथि प्रहार भएको छ, गुठी, खुवालुङ हुँदै अहिले पाथीभरा (मुकुम्लुङ) मा नजर परेको छ । साम, दाम, दण्ड, भेद लगाएका छन् । पाथीभरा बचाउँछु भनेर प्रत्येक नेपालीले भूमिका खेल्ने बेला आयो । आइएमई ग्रुपको यो दुस्प्रयासको मूल्य ७ पुस्ताले चुकाउनुपर्छ । हामी अब आइएमइ बैंक बहिष्कार गर्छौं । हामी ब्रिटिश सेनासँग लडेको मान्छे हौं । हामीलाई खेलाँची नठानियोस । पाथीभराको आँशुले तपाईंहरुलाई पोल्नेछ । केपी ओली सरकारलाई पनि पोल्नेछ ।’