कर्जा र निक्षेप वृद्धिदरमा संकुचन, एक खर्ब अठहत्तर अर्बले बढ्यो कर्जा

कर्जा र निक्षेप वृद्धिदरमा संकुचन, एक खर्ब अठहत्तर अर्बले बढ्यो कर्जा

काठमाडौं । चालु आवको पाँच महिनामा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा एक खर्ब ७८ अर्ब २९ करोड (३.५ प्रतिशत) ले बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा एक खर्ब १० अर्ब एक करोड (२.३ प्रतिशत) ले बढेको थियो ।

वार्षिक बिन्दुगत आधारमा २०८१ मंसिर मसान्तमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ७.० प्रतिशतले बढेको छ । निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैरवित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६४.१ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३५.९ प्रतिशत रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३.१ प्रतिशत र ३६.९ प्रतिशत थियो । समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकको कर्जा प्रवाह ३.६ प्रतिशतले, विकास बैंकको २.७ प्रतिशतले र वित्त कम्पनीको कर्जा प्रवाह ४.३ प्रतिशतले बढेको छ ।

यस्तै, चालु आर्थिक वर्ष २०८१/८२ को पाँच महिनामा कुल आन्तरिक कर्जा १.६ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको आव २०८१/८२ को पाँच महिनाको तथ्यांकअनुसार अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा २.८ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८१ मंसिर मसान्तमा यस्तो कर्जा ४.९ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा मौद्रिक क्षेत्रको सरकारमाथिको खुद दाबी १०.८ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दाबी ३.२ प्रतिशतले घटेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८१ मंसिर मसान्तमा यस्तो दाबी ४.२ प्रतिशतले घटेको छ । समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ४.५ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दाबी ३.८ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८१ मंसिर मसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ६.८ प्रतिशतले बढेको छ ।

एक खर्ब बहत्तर अर्बले बढ्यो निक्षेप
 

चालु आवको पाँच महिनामा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप एक खर्ब ७२ अर्ब ३२ करोड (२.७ प्रतिशत) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप दुई खर्ब ६३ अर्ब ७२ करोड (४.६ प्रतिशत) ले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८१ मंसिर मसान्तमा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप १०.९ प्रतिशतले बढेको छ ।

चालु आवको मंसिर मसान्तमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ५.३ प्रतिशत, ३३.६ प्रतिशत र ५३.० प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश व्रmमशः ६.३ प्रतिशत, २६.३ प्रतिशत र ६०.७ प्रतिशत रहेको थियो । गत मंसिर मसान्तमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३५.८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको मंसिर मसान्तमा यस्तो निक्षेपको अंश ३६.७ प्रतिशत थियो ।

पाँच महिनामा वाणिज्य बैंकको नाफा ३० अर्ब २४ करोड
 

पाँच महिनामा वाणिज्य बैंकहरूले ३० अर्ब २४ करोड रुपैयाँ नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार २० वाणिज्य बैंकले मंसिर महिनासम्म सो बराबरको नाफा कमाएका हुन् । कात्तिक मसान्तसम्म यस्तो नाफा २२ अर्ब २९ करोड रुपैयाँ थियो । यसअनुसार मंसिर महिनामा मात्रै बैंकहरूले सात अर्ब ९४ करोड रुपैयाँ बराबरको थप नाफा कमाएको देखिन्छ । अघिल्लो वर्षको पाँच महिनामा बैंकहरूले २८ अर्ब ३६ करोड रुपैयाँ नाफा कमाएका थिए । यो आधारमा हेर्दा यस वर्षको नाफा ६.६० प्रतिशत बढी हो ।

यो अवधिसम्म नबिल बैंकले सबैभन्दा धेरै तीन अर्ब ४९ करोड रुपैयाँ कमाएको छ । त्यस्तै, ग्लोबल आइएमई बैंकले दुई अर्ब ८३ करोड, नेपाल इन्भेस्टमेन्ट बैंकले दुई अर्ब ४९ करोड, कुमारी बैंकले एक अर्ब ९९ करोड तथा प्राइम कमर्सियल बैंकले एक अर्ब ९६ करोड, प्राइम कमर्सियल बैंकले एक अर्ब ९४ करोड तथा एनएमबी बैंकले एक अर्ब ९० करोड रुपैयाँ बराबरको नाफा कमाएका छन् ।

त्यस्तै, प्रभु बैंक एक अर्ब ८३ करोड, लक्ष्मी सनराइज बैंक एक अर्ब ६४ करोड, नेपाल बैंक एक अर्ब ५१ करोड, स्ट्याण्डर्ड चार्टर्ड बैंक एक अर्ब ३७ करोड, नेपाल एसबिआई बैंक एक अर्ब ३४ करोड, हिमालयन बैंकले एक अर्ब ३३ करोड रुपैयाँ नाफा कमाएका छन् ।

त्यस्तै, सिद्धार्थ बैंक ९७ अर्ब ९० करोड, सानिमा बैंक ९० करोड ४१ लाख, राष्ट्रिय वाणिज्य बैंक ८६ करोड ७१ लाख, माछापुच्छ्रे बैंक ८२ करोड ७४ लाख, सिटिजन्स बैंक ६९ करोड ४९ लाख, एनआइसी एसिया बैंकले ६ करोड ३३ लाख नाफा कमाउँदा कृषि विकास बैंक तीन करोड ५२ लाख रुपैयाँ नोक्सानमा रहेको देखिन्छ ।