एमाले-माओवादी तिक्तता : कांग्रेसलाई लाभ

एमाले-माओवादी तिक्तता : कांग्रेसलाई लाभ

काठमाडौं।  सत्तारुढ नेपाली कांग्रेस आफ्ना मुख्य दुई प्रतिस्पर्धी दलहरू नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच तिक्तता बढाउन सफल भएको छ। एमाले-माओवादी गठबन्धनलाई तोड्दै गत असारमा सत्तारोहण गरेको कांग्रेसविरुद्ध दुवै कम्युनिष्ट पार्टी नरम देखिँदा आपसमा भने पानी बाराबारको स्थितिमा पुगेका छन्।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको पछिल्लो बैठकले वाम ध्रुवीकरणको सम्भावनालाई तत्कालका लागि रोकेको छ। विगतमा पार्टी नै एकता गरेर नेपाल कम्युनिष्ट पार्टी चलाइसकेका एमाले र माओवादीबीच झागिँदै गएको विवादको लाभ कांग्रेसले प्रत्यक्ष रूपमा लिने नै छ । सत्ता राजनीतिको निर्णायक तागतका रूपमा पनि रही रहनेछ।

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) दुवै आ-आफ्नो पार्टी बैठकमा एकअर्काविरुद्ध आरोप-प्रत्यारोप गर्दै राजनीतिक प्रतिवेदन प्रस्तुत गरे। दुवै पार्टीले पारित गरेका प्रतिवेदन केलाउँदा तत्कालका लागि एमाले-माओवादी सम्बन्ध सुधार असम्भव झै देखिएको छ।

नेकपा एमालेका अध्यक्ष ओलीले प्रस्तुत गरेको प्रतिवेदनमा माओवादी अध्यक्ष प्रचण्डले उग्र जातिवादीसँग मोर्चाबन्दी गरेको, राजावादीसँग साँठगाँठ गरेको लगायत आरोप छन्। ओलीले प्रचण्डकै कारण सत्ता राजनीतिमा संकट परेको र एमालेले नेतृत्व लिनुपर्ने परिस्थिति आएको आरोप लगाएका छन्।

‘परिवर्तनविरोधी शक्तिहरू खुलेआम संविधानलाई चुनौती दिँदै लोकतान्त्रिक गणतन्त्रको विरोधमा उत्रिने र दिनै तोकेर राजा फर्काउने अभिव्यक्ति दिन थाल्दासमेत प्रचण्ड संवेदनशील हुन सकेनन्’, ओलीको आरोप छ। अर्कोतिर माओवादी अध्यक्ष प्रचण्डले केन्द्रीय कमिटीमा राखेको विचारमा एमालेलाई राजनीतिक रूपमा कटु आलोचना गरिएको छ।

एमालेलाई उदार पुँजीवादी बुर्जुवा संस्कृतितिर अगाडि बढेको आरोप लगाउँदै प्रचण्डले एमालेभन्दा माओवादी लोकतान्त्रिक पार्टी भएको समेत टिप्पणी गरेका छन्। एमालेमा भीम रावल, विन्दा पाण्डे, उषाकिरण तिम्सेनालगायत नेतासँग गरिएको व्यवहारको चर्चा गर्दै प्रचण्डले ‘एमालेभित्र रहेका इमानदार, प्रगतिशील र वामपन्थी नेता कार्यकर्ताले हिसाब गर्नुपर्ने’ बताएका छन्।

एमाले पार्टीप्रति मात्रै नभएर प्रचण्डले ओली नेतृत्वको सरकारको समेत आलोचना गरेका छन्। माओवादी बैठकले नै संविधान संशोधनको नारा देखाएर सत्ता जोगाउने प्रपञ्च रचिएको आरोपसमेत लगाएको छ। विगतमा आफ्नो सरकारले थालेका सुशासनका प्रयासलाई ओली सरकारले अवरोध गरेको भन्दै वर्तमान सरकार आए पनि ‘भ्रष्टाचार बढेको’ टिप्पणी माओवादी प्रतिवेदनमा छ।

कम्युनिष्ट पार्टीमा केन्द्रीय कमिटीबाट पारित राजनीतिक दस्तावेजमो विशेष महत्व हुन्छ। दुवै पार्टीले आफ्ना प्रतिवेदनमार्फत एकअर्काविरुद्ध प्रस्तावहरू पारित गरेका छन् । यस्तो अवस्थामा एमाले–माओवादी सम्बन्धमा अझ दरार पैदा हुने देखिन्छ।

एमाले र माओवादी दुवैले आ आफ्ना राजनीतिक प्रतिवदेनमा कांग्रेसप्रति उदारता देखाएका छन्। एमालेले त कांग्रेससँगको सहकार्य लामो समय जाने संकेत गरेको छ भने माओवादीले पनि उपयुक्त परिस्थिति बन्दा कांग्रेससँग सहकार्य हुने अवस्थालाई प्रतिवेदनमा नकारेको छैन।

कांग्रेसको भूमिकाका कारण वामपन्थी दलहरूभित्र टकराव बढेको नभए पनि त्यसको प्रत्यक्ष राजनीतिक लाभ उसले लिने देखिन्छ। एमाले र माओवादी मिल्दा विगतमा पार्टीले व्यहोर्नुपरेको क्षतिप्रति सजग देखिएको कांग्रेस अबको निर्वाचनसम्म कम्युनिष्ट एकता हुन नदिने पक्षमा छ। त्यसका लागि एमाले र माओवादी दुवैका बैठक कांग्रेसका लागि उपलब्धिपूर्ण भएका छन्।

‘२०७४ मा कम्युनिष्टहरू मिल्दा हामीले संसदीय शक्ति गुमाएकै हो । त्यसैले अबको चुनावमा पनि माओवादी र एमालेलाई मिल्न नदिने रणनीति कांग्रेसको हुने नै भयो । त्यसमा कांग्रेसले केही नगरी काम भइरहेको छ भने हामी त दुःखी छैनौ नि ’, कांग्रेसका एक पदाधिकारले भने। उनका अनुसार नेपालमा कांग्रेस र एमालेबीचको सहकार्यलाई नै अझै केही समय लैजाने सहमति शीर्ष तहमा भइसकेकाले पनि एमाले-माओवादी मिल्ने सम्भावना कम छ। ‘ओलीले २०८७ मा संविधान संशोधन गर्ने भन्नुभएको छ । संविधान संशोधन कांग्रेस-एमालेको साझा एजेण्डा हो । यसको अर्थ कम्तीमा २०८७ सम्म हामी मिल्छौं भन्ने नै हो’, कांग्रेस नेताको भनाइ छ।

एमालेसँग सत्ता सहकार्य गरिरहेको कांग्रेसभित्र पनि वर्तमान गठबन्धनलाई नै लामो समय लैजानुपर्ने मत छ । सभापति शेरबहादुर देउवा ओलीको दुई वर्षे कार्यकालपछि २०८३ असारमा छैटौं पटक प्रधानमन्त्री बन्ने प्रतीक्षामा छन्। त्यसअघि एमालेसँग सम्बन्ध बिग्रन नदिन देउवाले सचेतता अपनाएको । सरकारको विरोध हुने परिस्थिति बन्न नदिन कांग्रेसले नियमित बैठकहरू समेत गरेको छैन ।

कांग्रेसका कुनै पनि पदाधिकारीले सरकारको कामकारबाहीबारे आलोचनासम्म गरेका छैनन् । माओवादीसँग मिल्दाभन्दा एमालेसँग मिल्दा राजनीतिक सन्तुलन र लाभ दुवै मिल्ने कांग्रेसको बुझाई छ । ‘माओवादीसँग हिजो गरिएका सहकार्य सुखद् भएनन् । एमालेसँगको सहकार्य दीर्घकालीन होस् भन्ने बुभाई कांग्रेस नेतृत्वको छ’, एक कांग्रेस नेताले भन्नुभयो । ओली र देउवा पार्टी नेतृत्वमा रहँदासम्म अहिलेको गठबन्धन कुनै कारण समस्यामा नपर्ने कांग्रेस नेताहरूको दाबी रहँदै आएको छ।