काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी केन्द्रीय कमिटीमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदन तयार भएको छ। माओवादीको बिहीबार बसेको स्थायी कमिटी बैठकमा प्राप्त सल्लाह, सुझावहरू समेटिने गरी प्रतिवेदन पारित भएको हो। सो प्रतिवेदन अब आइतबारबाट सुरु हुने केन्द्रीय कमिटी बैठकमा पेस हुनेछ ।
माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले अध्यक्ष प्रचण्डले स्थायी कमिटीमा पेस गर्नुभएको राजनीतिक प्रतिवेदन पारित भएको जानकारी दिनुभयो । ‘स्थायी कमिटी बैठकले केन्द्रीय कमिटीको एजेण्डा तय गरेको छ। अध्यक्ष कमरेडको प्रतिवेदन पारित गरेको छ’ सापकोटाले भने। प्रचण्डको प्रतिवेदनलाई ‘पार्टी रूपान्तरण पुनर्निर्माणको संकल्प आजको आवश्यकता’ शीर्षक दिइएको छ।
प्रवक्ता सापकोटाका अनुसार केन्द्रीय कमिटीमा सबैभन्दा पहिले अध्यक्ष प्रचण्डले ब्रिफिङ गर्ने छन्। दोस्रोमा प्रदेश अध्यक्षहरूले रिपोर्टिङ गर्ने र तेस्रोमा अध्यक्षले राजनीतिक प्रतिवेदन पेस गर्नेगरी कार्यसूची तय भएको छ। प्रतिवेदनउपर पर्याप्त छलफल गरेर निष्कर्षमा पुगिने प्रवक्ता सापकोटाले बताए। माओवादीले नेताहरूको कार्यविभाजन, आगामी कार्ययोजना निर्माण, राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थितिको विश्लेषण, समसामयिक प्रस्ताव लगायतका विषयलाई केन्द्रीय कमिटी बैठकको एजेण्डामा समेटेको छ । पुस २१ गतेदेखि धुम्बाराहीको एक पार्टी प्यालेसमा हुने बैठकमा ८५० भन्दा बढी माओवादी केन्द्रीय सदस्यहरू सहभागी हुँदै छन्।
प्रतिवेदनमा के छ ?
पुस २१ गतेबाट सुरु हुने केन्द्रीय कमिटी बैठकमा माओवादी अध्यक्ष प्रचण्डले पेस गर्नुहुने प्रतिवेदनमा पार्टी निर्माण र विचार मिल्नेहरूसँगको एकतामा जोड दिइएको छ । बैठकले विप्लव नेतृत्वको नेकपा लगायतका दलसँग एकता गर्ने विषयमा निर्णय लिने अपेक्षा छ । सोही सन्दर्भमा अध्यक्ष प्रचण्डले आफ्नो प्रतिवेदनमा पार्टी एकता र संगठन सुदृढीकरणको विषयलाई मुख्य प्राथमिकता दिइएको छ।
‘पार्टी पुनर्निर्माण गरी माओवादी आन्दोलनलाई सुदृढ गराउने विषय प्रतिवेदनमा छ । मूल रूपमा आन्तरिक र विचार मिल्नेहरूसँगको एकतालाई प्राथमिकता दिएर अध्यक्षको प्रतिवेदन तयार भएको छ’, एक माओवादी नेताले हिमालय टाइम्ससँग भन्नुभयो । उहाँका अनुसार प्रतिवेदनमा वर्तमान सत्ता गठबन्धनको भण्डाफोर गरिएको छ। ‘संविधान संशोधनको नारा दिएर कांग्रेस एमालेले सत्ता प्राप्तिका लागि गरेको गठजोडले मुलुकलाई हित नगरेको र अन्तर्राष्ट्रिय शक्ति सन्तुलन बिग्रिएको टिप्पणी प्रतिवेदनमा छ’ ती नेताले भने।
माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा पूर्व-उपराष्ट्रपति नन्दबहादुर पुन पनि उपस्थित थिए। सामान्यतया राष्ट्रपति र उपराष्ट्रपति भइसकेका व्यक्तिहरू सक्रिय राजनीतिमा नफर्कने क्रम रोक्दै पुन माओवादीको राजनीतिमा पुनः सक्रिय भएका हुन्। माओवादी केन्द्रले उनलाई उपाध्यक्षका रूपमा जिम्मेवारी दिने तयारी गरेको छ।
त्यस्तै, लामो समय पार्टी बैठकमा अनुपस्थित पूर्वसभामुख कृष्णबहादुर महरा पनि स्थायी कमिटी बैठकमा सहभागी भएका छन्। उनीविरुद्ध सुन तस्करी प्रकरणमा जोडिएपछि उनी पार्टी गतिविधिबाट अलग रहँदै आएका थिए। माओवादीले केन्द्रीय कमिटीको बैठकमार्फत पूर्व-उपराष्ट्रपति पुन, पूर्वसभामुख महरा र पूर्वप्रदेश प्रमुख अमिक शेरचन लगायतका नेताहरूलाई जिम्मेवारी दिने तयारी गरेको छ।