नेपालमा जुनसुकै बेला ठुलो भूकम्प जान सक्छ, सतर्कता अपनाउँ: विज्ञ

नेपालमा जुनसुकै बेला ठुलो भूकम्प जान सक्छ, सतर्कता अपनाउँ:  विज्ञ

काठमाडौँ  । पश्चिम नेपालमा पटक–पटक भूकम्प जानु सामान्य रहेको विज्ञहरूले बताएका छन् । तर यसबाट जोगिनका लागि ‘आफू र आफ्नो परिवार जोगाउन सक्छु ’ भन्ने सोचले सतर्कता अपनाउनु पर्ने सुझाएका छन् ।

मुलुक नै भूकम्पको जोखिममा रहेकाले व्यक्ति आफू र आफ्नो परिवार जोगाउन सक्छु भन्ने तरिकाले सतर्क हुनुपर्ने जानकारहरू सुझाव दिन्छन् । यो सोचले आफूलाई सतर्क राखेमा मानवीय क्षति कम हुने भूकम्पविद् डा. सुवेदी सुझाउँछन् ।

 ‘जोगिनका लागि पहिले नै तयारी गरेको हुनुपर्छ,’ उनले भने, ‘भूकम्प जतिबेला पनि जान्छ म र मेरो परिवारलाई बचाउन यसो यसो गर्छु भनेर सोच्नु पर्‍यो । खुला क्षेत्र, निकास पहिल्यै जानकारी गराउनुपर्‍यो । यसो गरेमा कम्तीमा मानवीय क्षति कम गर्न सक्छौँ ।’

बैतडी केन्द्रबिन्दु बनाएर आज (मंगलबार) बिहान मात्रै ४.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । यसअघि पनि पटक पटक बझाङ, मनाङ, बाजुरा, दार्चुला र जाजरकोटमा भूकम्पका धक्का महसुस हुँदै आएको छ । 

यसो हुनुमा गत वर्ष जाजरकोटमा गएको भूकम्पको पराकम्प भएको भूकम्पविद्को भनाई छ । २०८० असोज १६ गते जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रबिन्दु बनाएर ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो । 

खानी तथा भूगर्भ विभागकी उपमहानिर्देशक मोनिका झा पश्चिम नेपालका अहिलेका भूकम्प जाजरकोट, बझाङ लगायत क्षेत्रमा गएको भूकम्पको पराकम्प भएको बताउँछिन् । उनको भनाइमा जाजरकोटपछि मात्रै पश्चिम नेपालमा पाँच सयभन्दा बढी पराकम्प गइसकेका छन् ।

पश्चिम नेपालमा सञ्चय भएको शक्तिका कारणले लगातार भूकम्प गइरहेको उनको भनाइ छ । सो क्षेत्रमा पश्चिम नेपालमा पाँच सय वर्ष यता ठुलो भूकम्प गएको छैन । यसको मतलब त्यहाँको जमिनमुनि ठुलो भूकम्पीय शक्ति सञ्चय भएर बसेको छ । 

तत्कालीन पश्चिमाञ्चल विकास क्षेत्रमा पर्ने मुस्ताङमा उक्त भूकम्प गएपछि मध्यपश्चिम र सुदूरपश्चिम नेपालमा ठुलो भूकम्प जान सकेको छैन । शक्ति सञ्चितिलाई आधार मान्ने हो भने उक्त क्षेत्रमा ८ म्याग्निच्यूड बराबरको भूकम्प निम्त्याउन सक्ने शक्ति सिञ्चित भइसकेको छ । यसले गर्दा पनि पश्चिम नेपालमा ४ देखि ६ म्याग्निच्यूडका भूकम्प जानु स्वाभाविक रहेको झाको भनाइ छ ।