काठमाडौं। नेकपा माओवादी केन्द्र पार्टी केन्द्रीय समिति बैठकको तयारीमा जुटेको छ। माओवादी केन्द्रको केन्द्रीय समिति बैठक यही पुस २१ र २२ गते बस्दै छ। केन्द्रीय समिति बैठक स्थलको टुंगो लागिसकेको छ।
पार्टी केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले धुम्बाराहीस्थित एक पार्टी प्यालेसमा केन्द्रीय समिति बैठक बस्ने तय गरिएको छ। माओवादीको केन्द्रीय समिति जम्बो आकारको भएकाले बैठकका लागि पार्टी प्यालेस रोजेको हो।
केन्द्रीय समिति बैठकमा ८२५ जना सहभागी हुने पार्टी कार्यालयले जनाएको छ। माओवादीमा पूर्ण केन्द्रीय सदस्य ४०९, वैकल्पिक केन्द्रीय सदस्य २०५, केन्द्रीय आयोगका पदाधिकारी ७५ र प्रदेश समितिका पदाधिकारी १२५ जना छन्।
केन्द्रीय समिति बैठकअघि माओवादी केन्द्रले यही पुस १८ गते स्थायी समिति बैठक बोलाएको छ। स्थायी समिति बैठकले केन्द्रीय समितिका एजेण्डाबारे थप निर्णय गर्ने बताइएको छ। बैठकमा राजनीतिक प्रतिवेदनसमेत पेस गरिनेछ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राजनीतिक प्रतिवेदन लेखनमा लागेकाे प्रचण्डको सचिवालयले जनाएको छ। बैठकमा प्रचण्डले पछिल्ला समामयिक राजनीतिक घटनाक्रम, आगामी कार्ययोजना, प्रतिपक्षमा रहेको पार्टीको भूमिका लगायतको विषय समेट्ने बताइएको छ। पार्टी उपमहासचिव जनार्दन शर्मा प्रचण्डले नेतृत्व छाड्नुपर्नेदेखि प्रदेशस्तरीय परामर्श समितिको बैठकमा आएको सुझावलाई दस्तावेजमा समेट्ने तयारीमा छन्।
शर्माको प्रस्ताव केन्द्रीय कमिटीको बैठकमा पनि छलफलमा लैजाने प्रचण्डले आश्वासन दिएपछि पार्टीभित्र देखिएको तरंग हल भएको थियो। यस्तै, माओवादीले यही केन्द्रीय समितिको बैठकबाट पार्टी एकताको विषयमा पनि निर्णय गर्ने तयारी गरेको छ।
माओवादीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा, महेन्द्रराय यादव नेतृत्वको नेसपासँग एकताको तयारी गरेको छ। यस्तै, विचार मिल्ने शक्तिहरूसँगको पनि एकता र सहकार्यको प्रयास गर्ने नीति लिएको छ।
यही केन्द्रीय समितिको बैठकले पूर्व–उपराष्ट्रपति नन्दबहादुर पुन र लुम्बिनी प्रदेशका पूर्वप्रमुख अमिक शेरचनलाई उपाध्यक्षमा मनोनीत गर्दै आगामी महाधिवेशनको बारेमा पनि बैठकले निर्णय गर्ने नेताहरूले बताएका छन्।
लामो समयको अन्तरालपछि बस्न लागेको माओवादीको केन्द्रीय समिति बैठकले आगामी महाधिवेशन, विभिन्न पार्टीसँगको एकता, प्रमुख प्रतिपक्षीका रूपमा आगामी दिनमा लिने नीति लगायतका विषयमा छलफल गरेर निर्णय लिने बताइएको छ। आफू नेतृत्वको सरकार ढलेर प्रतिपक्षमा पुगेको पाँच महिनापछि प्रचण्डले सिंगो केन्द्रीय समिति बैठक बोलाउनुभएको हो । केन्द्रीय समिति बैठकअघि माओवादीले सबै प्रदेशस्तरीय परामर्श बैठक गरिसकेको छ।
लामो सत्ता यात्रामा रहेको माओवादी अहिले प्रमुख प्रतिपक्षको जिम्मेवारीमा छ। ०८४ सम्म प्रमुख प्रतिपक्षको जिम्मेवारीमा बसेर पार्टीलाई ०६४ को अवस्थामा फर्काउने संकल्पसहित जनतामा जाने माओवादीको तयारी छ। हालै भएको स्थानीय तहको उपनिर्वाचनबाट उत्साहित माओवादीले कांग्रेस र एमाले भ्रष्टाचारी जोगाउन मिलेको भन्दै तल्लो तहसम्म खबरदारी सभा पनि गर्दै आइरहेको छ।
यसैबीच नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीसमेत रहनुभएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि गम्भीर आरोप लगाएका छन्। सोमबार प्रधानमन्त्री ओलीको गृहजिल्ला झापामा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘अहिलेका प्रधानमन्त्री देशको जाली, झेली, कपटी, बेइमानी । मेरो लागि त यति धेरै जाली, यति धेरै झेली मान्छे उनको ठाउँमा म बोल्दै छु । जालझेलबाहेक उहाँ (केपी ओली)को दिमागमा अरू केही छै ।’ यसअघि पटक-पटक सत्ताका सहयात्री रहेका प्रचण्ड र ओलीबीच पछिल्लोपटक कांग्रेससँगको सत्ता सहकार्यपछि सम्बन्ध निकै तीक्ततापूर्ण छ।
अध्यक्ष प्रचण्डले गिरिबन्धु टी-स्टेट घोटालाको फाइल खोलेरै छाड्ने चेतावनी दिए। प्रचण्डले गिरिबन्धु, यती, ओम्नी, वाइडबडी लगायतका फाइल खोलेर छाड्ने प्रतिबद्धता जनाउँदै भने, ‘मलाई जबरजस्ती तानाशाही तरिकाले प्रधानमन्त्रीबाट हटाइएको छ। गिरिबन्धु, यती, ओम्नी, वाइडबडी घोटालाको फाइल खोलेरै छाड्छु भनेको छु। मेरो सुई गिरिबन्धुतिर जाँदै थियो। त्यहाँ जाने भनेको ओलीतिर जाने भनेको हो। बेचन झा गिरफ्तार भइसकेपछि सुई कांग्रेसतिर पनि सोझियो। त्यही भएर आतंक भएको हो, तपाईँले ढुक्कसँग बुझे हुन्छ । फाइल खोलेरै छाडिन्छ।’