‘राजनीतिक जीवनको उत्तरार्ध’ राजनीतिक संकटमा गाैतम-रावल

‘राजनीतिक जीवनको उत्तरार्ध’ राजनीतिक संकटमा  गाैतम-रावल

काठमाडौं। नेपाली कम्युनिष्ट आन्दोलनमा ६ दशक बढी समय बिताउनुभएका वामदेव गौतमसँग अहिले ‘गतिलो दल’ छैन। उमेरले साढे सात दशक पार गरेका गौतम ‘नेकपा एकता राष्ट्रिय अभियान पार्टी’का संयोजक हुन्।

तर, उनको दलमा न नेता छन् न कार्यकर्ता। नेता भने पनि कार्यकर्ता भने पनि उनी आफैं मात्र हुन्। उनको ‘अस्थिर राजनीतिक चरित्र’का कारण धेरैले क्रमशः साथ छोड्दै गए। उनी ‘दलविहीन’ मात्रै होइन कार्यकर्ताविहीनसमेत भएका छन्।

कुनै बेला नेकपा (एमाले) र तत्कालीन नेकपामा समेत उनको बलियो पकड थियो। तत्कालीन नेकपा विवाद र एमालेको विभाजन अघिसम्म वामदेव ‘निर्णायक मोड’मै थिए। उनको अस्थिर चरित्रको फाइदा केपी ओलीदेखि ‘प्रचण्ड’ र माधव नेपालसम्मले उठाए।

ओली र प्रचण्ड-नेपालले पार्टीभित्रको गुट लडाइँमा वामदेवलाई बारम्बार प्रयोग गरियो। नेकपा विवादमा पार्टी एकता अभियान चलाउने उनले एउटा समूहले पार्टी खोले त्यतै लाग्छु भनेर सबैभन्दा पहिले वक्तव्य निकाले।

पार्टी विभाजन भयो । तर, उनी कतै लागेनन्। एमालेको नवौँ महाधिवेशनका ‘किङ मेकर’ गौतमको शक्ति क्षयीकरण मात्र भएन, राजनीतिक रूपमा पनि एक्लिए।

अहिले उनी दल खोज्दै हिँडेका छन्। ‘मलाई काम चाहियो’ भन्दै एमालेको मुख्यालय च्यासलसम्म पुगेका थिए। तर, एमाले अध्यक्ष ओलीले कुनै चासो दिएनन्। एमालेले भाउ नदिएपछि अहिले उनी दल प्रवेशका लागि नेकपा (एकीकृत समाजवादी)सँग संवादमा छन्।

अर्का एक कम्युनिष्ट नेताको नियति पनि लगभग उस्तै छ। नेपाली राजनीतिमा पाँच दशक समय बिताएका रावल पनि पछिल्लो तीन वर्षदेखि अघोषित रूपमा ‘दलविहीन’ छन्। औपचारिक रूपमा एमालेकै सदस्य रहेका उनी उमेरले सात दशक लाग्दै गर्दा जिम्मेवारीविहीन छन्।

तत्कालीन नेकपा विवादअघि उनी राजनीतिको केन्द्रीय पात्र नै थिए। एमाले विभाजनसम्म आइपुग्दा ओलीकै कित्तामा पुगेका रावल २०७८ मंसिरमा सम्पन्न एमालेको दशौं महाधिवेशनपछि भूमिकाविहीन बन्ने परिस्थिति आएको हो।

दशौं महाधिवेशनमा रावलले ओलीसँग अध्यक्ष पदमा प्रतिस्पर्धा गरेका थिए। अध्यक्षमा लड्ने रावलको त्यो निर्णयले निर्विरोध अध्यक्ष निर्वाचित हुने ओलीको चाहनामा ठेस लागेको थियो।

महाधिवेशनमा ओलीलाई निर्विरोध हुन रोकेएका उनले त्यसपछि आफ्नो अडान लिन थाले। सुरुमा केन्द्रीय सदस्यको शपथ नै लिएनन्। राजनीतिक निर्णयमा पनि रावल अलग भूमिकामा देखिए। प्रतिनिधि सभामा एमसिसी निर्णयार्थ प्रस्तुत हुँदा एमालेले तटस्थ बस्ने निर्णय लिएको थियो। तर, रावलले विपक्षमा मतदान गरे। त्यसपछि उनी एमालेमै रहे पनि किनारमा रहे।

रावललाई गत चुनावमा अछाम-१ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने सर्वसहमत निर्णय गरेको थियो। तर, ओलीले टिकट दिएनन्। टिकट खोसिँदा रावलको संसदीय बाटो मात्रै बन्द भएन एमालेको सक्रिय राजनीतिक करिअर पनि बन्दजस्तै भयो। त्यसपछि एमालेले उनलाई कुनै जिम्मेवारी दिएको छैन।

रावलले आफू राजनीतिको एउटा घुम्तीमा पुगेको बताउँदै आएका छन्। तर, अब कता मोडिने भन्नेबारे कुनै निर्णय गरेका छैनन्। पहिलो त उनले दल (एमाले)मै जिम्मेवारी खोजिरहेका थिए/छन्। तर, त्यो सम्भावना अत्यन्तै न्यून भइसकेको छ ।

राजनीतिक जीवनको उत्तरार्धमा रहेका पुराना दुई कम्युनिष्ट नेतालाई पार्टीमा ल्याउन नेकपा (एकीकृत समाजवादी)ले पहल थालेको छ। एकीकृत समाजवादीले नेता भीम रावल र वामदेव गौतमलाई पार्टीमा भित्र्याउन छलफल गरिरहेको छ।

दुई नेतासँग अध्यक्ष माधव नेपालसहित नेताहरूले पटक-पटक भेटेर वार्ता गरिसकेका छन्। दुईमध्ये नेता गौतमले एसमा आउन ‘ग्रिन सिग्नल’ दिइसकेका छन्।

अध्यक्ष नेपालले नै वार्ता गरेपछि गौतमलाई पार्टीमा तेस्रो वरीयतामा राख्नेबारे छलफलसमेत भइरहेको छ। अध्यक्ष नेपाल गौतमलाई भेट्न उनकै निवासमा पुगेका थिए। हालै सम्पन्न एकीकृत समाजवादीको स्थायी समिति बैठकले पनि गौतमलाई पार्टीमा भित्र्याउने निर्णय गरेको थियो। एकीकृत समाजवादी स्रोतका अनुसार गौतमले चाहिँ केही पदीय जिम्मेवारी पनि पाए हुन्थ्यो भनेका छन्।

तर, पदीय जिम्मेवारी दिनबारे भने केही टुंगिएको छैन। अध्यक्ष नेपालसँगको भेटमा वामदेवले आफूलाई वरिष्ठ उपाध्यक्ष दिए प्रवेश गर्न तयार रहेको बताएका थिइ। एमालेमा फर्किन गौतमले धेरै प्रयास गरे पनि ओलीबाट सकारात्मक जवाफ नपाएपछि विकल्पमा नेकपा एसमा जान चाहेका हुन्।

यसैगरी, रावललाई भित्र्याउन पनि नेकपा एस तयार छ। तर, रावलले पार्टीमा आउने स्पष्ट सिग्नल दिएका छैनन्। रावललाई भने जिम्मेवारी दिन कुनै हिचकिचाहट नहुने नेकपा एसकै नेताहरू बताउँछन्।

रावललाई नेकपा एसले महाधिवेशनअघि नै रोजेको पद दिन तयार भएको सन्देश पठाउँदासमेत अहिलेसम्म कुनै जवाफ दिएका छैनन्। उनले उपयुक्त समयमा आफूले आगामी कदम चाल्ने तर्क गरिरहेका छन्।