उपनिर्वाचनको परिणाममा प्रमुख दल खुसी

उपनिर्वाचनको परिणाममा प्रमुख दल खुसी

काठमाडौं। सामान्यतः निर्वाचनको परिणामले कसैलाई उत्साहित अनि कसैलाई निराश बनाउनुपर्ने हो। स्थानीय तह उपनिर्वाचनको परिणामले भने प्रमुख दलहरू सबैलाई उत्साहित बनाएको छ। नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले स्थानीय तह उपनिर्वाचनको परिणाम सन्तोषजनक रहेको प्रारम्भिक समीक्षा गरेका छन्।

निर्वाचन आयोगले मंसिर १६ गते देशभरका विभिन्न स्थानीय तहका ४१ वटा पदमा भएको उपनिर्वाचनको मतपरिणाम सार्वजनिक गरेको छ। कुल ४४ पद रिक्त रहेकोमा तीन पदमा निर्विरोध चयन भएको थियो। प्राप्त मत परिणाममा सबैभन्दा धेरै स्थान जिते पनि नेपाली कांग्रेसले विगतमा जितेका सिट गुमाएको छ।

कांग्रेसले पहिले जितेका दैलेखको महाबु गाउँपालिका अध्यक्ष, दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्ष र बाजुराको स्वामिकार्तिक गाउँपालिका उपाध्यक्ष पद गुमाएको छ। कांग्रेसले कीर्तिपुर नगरपालिकाको मेयर भने जोगाउन सफल रहृयो। कांग्रेसले कुल १९ स्थानमा जित हासिल गर्‍यो।

उपनिर्वाचनमा एमालेले एक गाउँपालिका अध्यक्ष र दुई उपाध्यक्ष थप गर्‍यो। उसले आठ वडा अध्यक्ष पनि जित्यो। जितको आँकलन गरिएको कीर्तिपुर र काठमाडौं १६ मा हारे पनि समग्रमा अघिल्लो निर्वाचनमा भन्दा एमालेलाई उपनिर्वाचनबाट लाभ नै भयो।

उपनिर्वाचबाट अधिक लाभ लिनेमा नेकपा माओवादी केन्द्र रहृयो। उसले मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष थप्यो भने रुकुमको पुथा उत्तरगंगा र हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष जोगायो। माओवादीले ६ वडा जित्दै उपनिर्वाचन परिणाममा कांग्रेसपछिको स्थानमा आफूलाई उभ्याउन सफल भयो।

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपनिर्वाचनको परिणाम सन्तोषजनक र उत्साहवर्धक रहेको बताएका छन्। सामाजिक सञ्जालमार्फत धारणा राख्दै महामन्त्री शर्माले विगतमा गठबन्धन गरेर हासिल भएको संख्यात्मक नतिजाभन्दा यसपटक एक्लै लडेर हासिल गरेको गुणात्मक नतिजा उपलब्धिपूर्ण रहेको बताएका हुन्।

कांग्रेसले रिक्त ४४ मध्ये १९ पदमा जित हासिल गरेको र जित प्रतिशत ४३.१८ रहेको भन्दै महामन्त्री शर्माले स्थानीय निर्वाचनको परिणाम गुणात्मक रहेको उल्लेख गरे। ‘२०७९ मा गठबन्धन गरेर चुनाव लड्दा प्राप्त स्थानभन्दा एक्लै लडेर प्राप्त स्थान संख्यात्मक कम तर राजनीतिक, सांगठनिक र गुणात्मक रूपले बढी महत्वपूर्ण छ’ शर्माले लेखेका छन्। महामन्त्री शर्माले उपनिर्वाचनले मतदाताले मुख्य दलहरूप्रति नै समर्थन प्रकट गरेको र विद्यमान राजनीतिक प्रणालीप्रति ऐक्यबद्धता जनाएको उल्लेख गरेका छन्।

नेकपा माओवादी केन्द्रले स्थानीय तह निर्वाचनको परिणाम उत्साहजनक रहेको बताएको छ। माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विज्ञप्ति जारी गर्दै उपनिर्वाचनको परिणामले माओवादीको एजेण्डालाई अभिमत प्राप्त भएको र एक्लै चुनाव लड्न जनादेश हासिल भएको बताएका छन्।

‘हाम्रो पार्टीले यो निर्वाचनलाई भ्रष्टाचारका विरुद्ध र सुशासनका पक्षको नयाँ संकल्पको रूपमा लिएको थियो। खासगरी हाम्रो पार्टी नेतृत्वको सरकारले अघि सारेको सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको एजेण्डालाई जनस्तरसम्म पुर्याउँदै पार्टीको आगामी बाटो र दृष्टिकोण सुस्पष्ट गर्ने अवसरको रूपमा उपनिर्वाचनलाई लिएका थियौं’ प्रचण्डले भनेका छन्।

माओवादीले नेतृत्व गरेका स्थानीय तहहरूले उत्कृष्ट कार्य गर्दै आएको र जनताको सेवा गर्न पार्टी पंक्ति परिचालित रहेको समीक्षा प्रचण्डको छ। उपनिर्वाचनले माओवादीलाई उत्साहित र माओवादीका एजेण्डालाई जनअनुमोदन मिलेको उनको दाबी छ।

नेकपा एमालेले उपनिर्वाचनका कारण एमालेको पद थपिनु नै एमालेको सफलता रहेको बताएको छ। उपनिर्वाचनको प्रारम्भिक समीक्षा गर्दै एमाले सचिव पद्मा अर्यालले स्थानीय तहमा एमालेको प्रतिनिधित्व बढेको बताइन्। एमाले नेतृत्वको सरकारविरुद्ध भइरहेको दुष्प्रचारलाई उपनिर्वाचनको जनमतले खारेज गरेको उनको भनाइ छ।

‘एमालेविरुद्ध जुन स्तरको प्रचार थियो त्यसलाई मत परिणामले खारेज गरेको छ। एमालेले पहिलेभन्दा मत र पद थपेको छ। चुनावमा पद थपिनु भनेको नै सफलता हो’, अर्यालले भनिन्। उनले उपनिर्वाचनले लोकप्रियतावादीहरूलाई भने कमजोर सावित गरिदिएको उल्लेख गरिन्। ‘पुरानाले सकेनन् हामी सबैभन्दा पपुलर हौँ भन्नेलाई चैँ यो चुनावले सबक सिकाएको छ। कांग्रेसको सिट घटेको छ। माओवादीले केही सुधार गर्यो होला तर एमालेले पनि पद थपेको छ’, उनले भनिन्। एमालेले अझ राम्रो परिणाम ल्याउन सक्नेतर्फ पार्टी बैठकले थप समीक्षा गर्ने उनको भनाइ थियो।