धरहरा चढ्न आजदेखि शुल्क तिर्नुपर्ने

धरहरा चढ्न आजदेखि शुल्क तिर्नुपर्ने

काठमाडौं। अब धरहरा चढ्न शुल्क तिर्नुपर्ने भएको छ । सरकारले सःशुल्क रूपमा धरहरा सञ्चालन गर्न स्वीकृति दिएसँगै आज (आइतबार)देखि धरहरा चढ्न शुल्क तिर्नुपर्ने भएको हो । बिहीबार बसेकोे मन्त्रिपरिषद्को बैठकले हाललाई शुल्क लिएर धरहरा सञ्चालन गर्न स्वीकृति दिने निर्णय गरेको थियो ।

विशिष्ट संरचना सञ्चालन र व्यवस्थापन विकास समिति गठन आदेश २०८१ बमोजिम धरहरा सञ्चालन नहुँदासम्म हाललाई सर्वसाधारणका लागि २०० रुपैयाँ शुल्क तोकिएको छ । सहरी विकास मन्त्रालयको प्रस्तावअनुसार धरहरा चढी अवलोकन गरेको प्रतिव्यक्ति शुल्क स्वदेशीलाई २००, सार्क मुलुकलाई ५००, सार्क मुलुकबाहेक अन्य मुलुकका नागरिकलाई एक हजार तोकिएको छ ।

साथै धरहरा स्तम्भमा राष्ट्रिय महत्वका विज्ञापन शुल्क व्यावसायिक बाहेकका प्रतिघण्टा पाँच हजार, धरहरा परिसरमा व्यावसायिक भिडिओ छायांकन शुल्क प्रतिघण्टा पाँच हजार, फोटोग्राफीका लागि एक हजार शुल्क तोकिएको छ । यस्तै, सहरी विकास भवन निर्माण तथा आवास विभागले धरहरा परिसर प्रवेश शुल्क ५० रुपैयाँ तोकेको छ ।

चारपांग्रे सवारी साधनको लागि २० रुपैयाँ र दुई पांग्रेको लागि १० रुपैयाँ पार्किङ शुल्क तोकेको छ । यसअघि धरहरामा काठमाडौं महानगरपालिकाले निःशुल्क रूपमा पार्किङ उपलब्ध गराउँदै आएको थियो । अब भने धरहरामा पार्किङ गर्दा शुल्क तिर्नुपर्ने भएको हो । जहाँ २४४ गाडी र सात सय ४४ मोटरसाइकल पार्किङ गर्न सकिनेछ । धरहरा प्रवेश गर्दा लाग्ने शुल्कमा विद्यार्थी र ७० वर्ष कटेका ज्येष्ठ नागरिकलाई आधा छुट दिने निर्णयसमेत भएको छ । १० वर्ष मुनिका बालबालिका शुल्क नलाग्ने भएको छ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)ले धरहरा सञ्चालन र व्यवस्थापनको जिम्मा महानगरलाई दिन आग्रह गरे पनि संघीय सरकारले यसलाई अस्वीकार गरेको हो ।

यसअघि, गत असोज ३ गतेबाट नौ वर्षपछि सर्वसाधारणका लागि धरहरा खुला गरिएको थियो । १२ वैशाख ०७२ को महाभूकम्पले ढलेको धरहरा (भीमसेन स्तम्भ)को छेवैमा अर्को उस्तै धरहरा बनेसँगै सर्वसाधारणका लागि प्रवेश खुला गरिएको थियो । असोज ३ गतेदेखि शनिबारसम्म सर्वसाधारणले नवनिर्मित धरहरा निःशुल्क रूपमा चढिरहेका थिए । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले तीन वर्ष (वैशाख ०७८) अघि धरहराको उद्घाटन गर्नुभएको थियो । तर, धेरै काम बाँकी भएकाले धरहरा खुलेको थिएन ।

धरहरा परिसरमा रहेको ठुटे धरहरा (पुरानो) र सुन्धारा भने अझै पुनर्निर्माण सकिएको छैन । २०७५ साल असोज १४ गते धरहरा क्षेत्रका संरचना निर्माणका लागि निर्माण व्यवसायीसँग तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सम्झौता गरेको थियो । चिनियाँ निर्माण कम्पनी जिआइटिसी/रमण जेभीले धरहरा क्षेत्रका संरचनाको निर्माण गरेको हो । २०७४ साल कात्तिक २७ गते मन्त्रिपरिषद् बैठकले धरहरा पुनर्निर्माणको जिम्मेवारी प्राधिकरणलाई दिने निर्णय गरेको थियो ।

२५ तला, ९२.२५ मिटर उचाइ
 

धरहरा टावर बाहिरबाट हेर्दा ११ तलाको देखिए पनि भित्र जमिनमुनि दुई तलाको भूमिगत संरचना बनेको छ । जमिनमाथि भुइँतलासहित २३ तलाको धरहरा ठडिएको छ । समग्रमा धरहरा २५ तलाको बनेको छ । जमिन माथिबाट गजुरसहित धरहराको उचाइ ८३.८५ मिटर छ । भूमिगत तलासहित ९२.२५ मिटर हुन्छ । धरहराभित्र दुईवटा लिफ्ट राखिएको छ । लिफ्टमा एकपटकमा १० जनाले यात्रा गर्न सक्छन् । लिफ्टका कारण वृद्धवृद्धा तथा अपांगता भएकालाई धरहरा चढ्न सहज हुनेछ । धरहरामा फलामको भर्‍याङसमेत जडान गरिएको छ ।

धरहराबाट उपत्यकाको दृश्यावलोकनका लागि २०औँ तला बाहिर २.५ मिटर चौडाइको बार्दलीसमेत बनाइएको छ । २२औँ तल्लामा पुरानो धरहराबाट झिकेर सुरक्षित राखिएको शिवलिंग स्थापना गरिएको छ । २०७२ साल वैशाख १२ गते शनिबार गएको भूकम्पले धरहरा भत्काएको थियो । धरहरा भत्किँदा ६० जनाले जीवन गुमाएका थिए । सयौँ मानिस घाइते भएका थिए । धरहरा क्षेत्रमा रहेको ऐतिहासिक सुन्धाराको पनि संरक्षण गरिँदै छ । सुन्धारामा चौबिसै घण्टा पानी आउने व्यवस्था मिलाउन लागिएको छ । धरहरा र संग्रहालय जोड्ने आकर्षक आकाशे पुल पनि निर्माण भइरहेको छ ।

धरहराको इतिहास
 

१८८२ सालमा महारानी ललिता त्रिपुरासुन्दरीको आज्ञामा नेपालका पहिलो प्रधानमन्त्री भीमसेन थापाले ६१.८८ मिटर अग्लो ११ तले धरहरा बनाउन लगाएको इतिहास छ । विसं १९१३ मा बज्र (चट्याङ)ले भत्केपछि १९२३ सालमा धरहराको जीर्णोद्धार गरिएको थियो । १९९० साल माघ २ गतेको भूकम्पले भत्किएको धरहरा दुई वर्षपछि तत्कालीन प्रधानमन्त्री जुद्धशमशेरको शासनकालमा पुनर्निर्माण भएको थियो । पुनर्निर्माणका क्रममा ११ तले धरहरालाई नौ तल्लामा सीमित गरिएको थियो । यो धरहराभन्दा अघि विसं १८८१ मा थापाले नै लगनटोलमा आफ्नो नाममा धरहरा निर्माण गर्नुभएको थियो । जसको नाम पनि भीमसेन स्तम्भ नै राखिएको थियो । विसं १८९० मा भत्किएपछि लगनटोलको धरहरा पुनर्निर्माण नभएको ऐतिहासिक दस्तावेजमा उल्लेख गरिएको छ ।