खोपबारे आशंका गर्ने रोबर्ट एफ केनडी जूनिअर अमेरिकाका स्वास्थ्यमन्त्री

खोपबारे आशंका गर्ने रोबर्ट एफ केनडी जूनिअर अमेरिकाका स्वास्थ्यमन्त्री

काठमाडाैं। अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनल्ड ट्रम्पले आफ्नो सरकारमा स्वास्थ्यमन्त्रीको जिम्मेवारी रोबर्ट एफ केनडी जूनिअरलाई दिने भएका छन्। उनी राष्ट्रपति पदका लागि स्वतन्त्र उम्मेदवार बनेका थिए।

सङ्क्षिप्त नाम आरएफके जूनिअरबाट पनि चिनिने केनडीले खोपप्रति आशङ्का व्यक्त गर्दै र बोल्दै आएका छन्। उनी वैज्ञानिकहरूले मिथ्या भन्दै आएका स्वास्थ्यसम्बन्धी जानकारी फैलाउन पनि सक्रिय देखिन्छन्।

यदि सिनेटले उनको मनोनयनलाई अनुमोदन गर्‍यो भने केनडी खाद्यसुरक्षादेखि चिकित्सकीय अनुसन्धान तथा कल्याण कार्यक्रमहरू सञ्चालन गर्ने विशाल मन्त्रालयको नेतृत्वमा पुग्ने छन्।

केनडीले उद्योगहरूमा बन्ने खानेकुराले निम्त्याएको जटिलताबाट अमेरिकीहरूलाई जोगाउने ट्रम्पको भनाइ छ। औषधि कम्पनीहरूले मानिसहरूलाई भ्रामक सूचना र धोका दिएको आरोप लगाउँदै उनले त्यसबाट पनि केनडीले अमेरिकीहरूको रक्षा गर्ने दाबी गरे।

केनडी डेमोक्र्याटिक पार्टीका पूर्वराष्ट्रपति जोन एफ केनडीका भतिजा हुन्। उनको राजनीतिक जीवनमा विगत दुई वर्ष निकै उथलपुथलपूर्ण रहे। यो राष्ट्रपतीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारी बनेका उनले पछि ट्रम्पलाई समर्थन गरे।

विवादित छवि भएका उनलाई खोपप्रति आशङ्का फैलाउने व्यक्तिको रूपमा समेत धेरैले चिन्ने गरेका छन्। उनले खोपबारे शङ्का र उपशङ्का गर्ने मान्यताहरूलाई फैलाउने गरेको पाइन्छ।

तर ट्रम्पले उनले अमेरिकीहरूलाई हानिकारक रसायन, प्रदूषक तत्त्वहरू र खानेकुराको स्वाद बढाउन तथा खाद्यपदार्थलाई चाँडै सड्न नदिन प्रयोग गरिने तत्त्वबाट मानिसहरूलाई जोगाउँदै अमेरिकालाई “फेरि पनि भव्य र स्वस्थ” बनाउने दाबी गरे।

उनी पर्यावरण संरक्षणको अभियानमा पनि संलग्न हुने गरेका छन्।

केनडीले डेमोक्र्याटिक पार्टीबाट राष्ट्रपति पदमा उठ्ने प्रयास गरेका थिए। तर उनको परिवार जो बाइडनको पक्षमा उभियो। त्यसपछि उनी स्वतन्त्र उम्मेदवार बने। तर विभिन्न विवादका माझ प्रतिस्पर्धाबाट बाहिरिँदै उनले डोनल्ड ट्रम्पलाई सघाउने घोषणा गरे।

गत साता अमेरिकी राष्ट्रपतिको निर्वाचनमा विजयी भएपछि ट्रम्पले आफ्नो प्रशासनका प्रमुख पदहरू कसलाई दिने भनेर निर्णय गरिसकेका छन्।

उनले नोर्थ डकोटाका गभर्नर डग बर्गमलाई आन्तरिक मामिला हेर्ने मन्त्रालयको नेतृत्व गर्न छानेका छन्। उनले शुक्रवार बर्गमको नाम औपचारिक घोषणा गर्ने बताए। उनले मार्को रुबिओलाई विदेशमन्त्री र पूर्वडेमोक्र्याट तुल्सी गाबर्डलाई न्याश्नल इन्टेलिजन्सको निर्देशक पदमा नियुक्त गरेका छन्।

ट्रम्पले आफ्नो कार्यकालका लागि महान्यायाधिवक्तामा पनि विवादित छवि भएका म्याट गेट्जलाई नियुक्त गरेका छन्।

सिनेटमा ट्रम्पको रिपब्लिकन पार्टीका दलको नेताले फक्स न्यूजका एक पत्रकारको जिज्ञासामा गेट्जको नियुक्तिमा बहुमतको समर्थन हुनेमा आशङ्का व्यक्त गरेका छन्।

उनीमाथि संसद्‌को नैतिकतासम्बन्धी एक समितिले यौन दुर्व्यवहार, घुस र अवैध लागुऔषध प्रयोगबारे अनुसन्धान गरेको थियो। सिनेटको न्यायिक समितिका प्रमुखले उक्त छानबिनको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन्।

आन्तरिक मामिलासहित मन्त्रिपरिषद्का अधिकांश सदस्यहरूको नियुक्ति सिनेट भनिने माथिल्लो सदनबाट अनुमोदन हुनुपर्ने व्यवस्था छ।

राष्ट्रपतिमा निर्वाचित भएपछि पहिलो सार्वजनिक भेलामा भाषण गर्दै ट्रम्पले आफ्नो विजयमा समर्थकहरूको भूमिकाको प्रशंसा गरे।

ट्रम्पको पार्टीले हाउस अफ रेप्रिजेन्टटिभ्समा पनि बहुमत पुर्‍याउने ठानिएको छ। त्यसको अर्थ उनको दलले संसद्‌का दुवै सदनमा नियन्त्रण कायम गर्ने छन्।

कसैले पनि अहिलेको जस्तो जित हुने नसोचेको उनको भनाइ थियो।

राष्ट्रपतिमा निर्वाचित ट्रम्पले भेलामा उपस्थित अर्बपति इलोन मस्क र केनडीलाई चुनावी अभियानमा गरेको सहयोगका लागि धन्यवाद दिँदै आफ्नो प्रशासनमा उनीहरूले राम्रो काम गर्ने विश्वास व्यक्त गरे।

ट्रम्पले ज्यानुअरीमा पदभार सम्हालेपछि रुस युक्रेन युद्ध रोक्ने कार्य आफ्नो प्राथमिकतामा पर्ने बताएका छन्।

उनले आफ्ना अन्य प्राथमिकताहरूमा मध्यपूर्वको युद्ध रोक्ने र उनकै शब्दमा “भ्रष्ट र विफल प्रशासकहरू”लाई पदबाट हटाउने रहेको बताएका छन्।

यसैबीच ट्रम्प प्रशासनमा ज्यानुअरीबाट बजेट कटौती गर्ने र प्रभावकारिता हेर्ने नयाँ निकायको जिम्मा पाएका मस्कले संयुक्त राष्ट्रसङ्घका लागि इरानी राजदूतसँग भेट गरेको न्यूयोर्क टाइम्सले जनाएको छ।