हुम्ला : सरकारले तुइन विस्थापित गर्दै झोलुंगे पुलका योजना अघि सारेको दुई वर्ष भइसक्यो । हुम्लाको खार्पुनाथ गाउँपालिकाका लागि अझै विकल्प छैन । कर्णाली नदी तर्न बोक्चेगौडाका गाउँलेले तुइनकै भर पर्नुपर्छ । त्यो पनि निःशुल्क होइन, प्रतिव्यक्ति १०० रुपैयाँ तिरेर । सय रुपैयाँ तिरेर तुइनबाट वारिपारि गर्नेहरूले सामान तारेबापत थप ५० रुपैयाँ तिर्नुपर्छ ।
‘पुरानो र धराप तुइनबाट वारिपारि गर्दा भगवान्को नाम जप्छौं,’ स्थानीय काली विकले भनिन्, ‘पैसा नहुनेले वारिपारि गर्न पाउँदैनन् ।’ कर्णाली नदीमा बाह्रै महिना बहाव उच्च हुने भएकाले पानी छिचोलेर तर्न सकिँदैन । खार्पुनाथका अधिकांश वडाका बासिन्दाले गाउँपालिकाको केन्द्र याङ्चु पुग्न तुइनबाट कर्णाली तर्नै पर्छ । उक्त तुइनकै बाटो भएर थाली, राया, छिप्रा र कारामलगायत गाउँका बासिन्दा याङ्चु र छिमेकी जिल्लाहरु जुम्ला, बाजुरा पुग्छन् ।
स्थानीय व्यापारीले सदरमुकाम सिमकोट टाढा हुँदा दैनिक उपभोग्य सामग्री तथा खाद्यान्न जुम्ला र बाजुराबाटै ल्याउने गरेका छन् । अप्ठेरो बाटोमा जोखिम मोलेर यात्रा गर्न नसकिने भएपछि तुइन तर्नुको विकल्प नभएको स्थानीय बरी महतराले गुनासो गरिन् । ‘हिउँदमा पनि नदीको पानी घट्दैन,’ उनले भनिन्, ‘घुमाउरो बाटो हिँड्ने दुःखले पैसा तिरेरै तुइन चढिरहेका छौं ।’ उनका अनुसार बोक्चेगौडामा मात्रै दैनिक ५० भन्दा बढी बटुवाले तुइनबाट वारपार गर्छन् । तुइन तर्दा यात्रुका औंला काटिने र चोट लाग्ने घटना सामान्य मानिने उनले बताइन् ।
तुइन हटाएर झोलुंगे पुल हाल्ने संघीय सरकारको निर्णय कार्यान्वयन नहुँदा स्थानीयले वर्षौंदेखि सास्ती व्यहोर्नुपरेको स्थानीय अगुवा सोनाम लामाले बताए । उनका अनुसार कर्णाली नदीमा अहिले पनि आधा दर्जन स्थानमा तुइन प्रयोगमा छ । ‘पुल बनाउन पटकपटक तीनवटै तहका सरकारको ध्यानाकर्षण गराइएको हो,’ उनले भने, ‘पुल बने सबैले वर्षौंदेखिको सास्तीबाट मुक्ति पाउँथ्यौं ।’ तुइनले स्थानीयको आर्थिक व्ययभार बढ्नुका साथै ज्यान जोखिममा परिरहेको उनले बताए ।
कर्णाली करिडोरअन्तर्गतको खार्पु–सुनखाडा खण्डको बोक्चेगौडामा सडक निर्माणका क्रममा आवागमन अवरुद्ध भएपछि स्थानीयले रकम संकलन गरी तुइन निर्माण गरेको गाउँपालिका अध्यक्ष कर्ण रावलले बताए । ‘त्यो बेला बाटो छेकिएपछि अस्थायी रूपमा तुइन निर्माण गरेका हौं,’ उनले भने, ‘तुइन मर्मत गर्नका लागि स्थानीय समितिमार्फत शुल्क उठाइएको हो ।’ पुल निर्माणका लागि संघीय सरकारमार्फत भर्खरै टेन्डर आह्वान भएकाले पुलको योजना अघि बढ्यो भने तुइन हटने उनले बताए ।
त्यस्तै एक भारी दाउरा तारेको दुई सय रुपैयाँ सर्केघाट गाउँपालिकाको रिपघाटस्थित नेर र खार्पुनाथको याङ्चुबगरबाट अन्यत्र आउजाउ गर्ने बटुवालाई पनि तुइन नतरी सुखै छैन । रिपघाट आसपासका रिप र उनापानीलगायत गाउँमा वनक्षेत्र छैन । त्यहाँका बासिन्दाले कर्णालीपारिको जंगलबाट ल्याउने दाउरा तुइनबाटै तार्छन् । एक भारी दाउरा तारेको दुई सय रुपैयाँ तिर्नुपर्दा महँगो भएको स्थानीय कमारी विकले बताइन् ।
नदीपारि सामुदायिक वन क्षेत्र छ, वारि बस्ती । ‘तुइनबाट दाउरा नओसारे चुलो बल्दैन,’ उनले भनिन्, ‘दाउराको भन्दा बढी तुइनको शुल्क तिर्नुपरेको छ ।’ संघीय सरकारले दिने अनुदान न्यून रहेको र आन्तरिक स्रोतले सामर्थ्य नहुँदा गाउँपालिका आफैंले पुल बनाउन हिम्मत गर्न नसकेको अध्यक्ष रावलले गुनासो गरे ।