१७३ उद्योगका लागि साढे १३ अर्ब वैदेशिक लगानीको प्रतिबद्धता

१७३ उद्योगका लागि साढे १३ अर्ब वैदेशिक लगानीको प्रतिबद्धता

काठमाडौं । चालू आर्थिक वर्षको साउन र भदौमा १२ अर्ब २० करोड प्रत्यक्ष वैदेशिक लगानी गर्ने प्रतिबद्धताका साथ १ सय ७३ उद्योग सञ्चालनका लागि विदेशीले उद्योग दर्ता गरेका छन् ।

उद्योग विभागका अनुसार भदौमा मात्रै ६६ वटा परियोजनाका लागि ४ अर्बबढीको वैदेशिक लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागका अनुसार भदौमा मात्रै अटोमेटिक रुटबाट २१, एप्रुभल रुटबाट ३८, सेयर पर्चेज एग्रिमेन्ट (एसपीए)बाट सातवटा उद्योगका लागि लगानी प्रतिबद्धता आएको छ ।

साउन र भदौमा गरी अटोमेटिक रुटबाट ५२, एप्रुभल रुटबाट ९७, सेयर सब्सक्रिप्सन एग्रिमेन्ट (एसएसए)बाट १६ र टेक्नोलोजी ट्रान्सफर एग्रिमेन्ट (टीटीए)बाट आठवटा उद्योगका लागि प्रतिबद्धता आएको हो ।

साउन र भदौमा १ सय ७३ वटा उद्योगका लागि १३ अर्ब ५८ करोड १२ लाख २२ हजार ७ सय रुपैयाँबराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको तथ्यांक उद्योग विभागको रहेको छ । दुई महिनामा आएको प्रतिबद्धतानुसार उद्योग स्थापना भएमा ४ सय ८५ जनाले रोजगारी पाउँनेछन् ।

विभागका अनुसार एप्रुभल रुटबाट दुई महिनामा १२ अर्ब १२ करोड २४ लाख र अटोमेटिक रुटबाट ८६ करोड २५ लाख ६० हजार रुपैयाँ प्रतिबद्धता आएको हो ।

यसैगरी, सेयर सब्सक्रिप्सन एग्रिमेन्ट (एसएसए)बाट ५९ करोड ६२ लाख ६२ हजार रुपैयाँको प्रतिबद्धता आएको छ । भदौ महिनाका लागि भने अटोमेटिक रुटबाट २६ करोड ५० लाख र एप्रुभल रुटबाट ३ अर्ब ५६ करोड ७४ लाख रुपैयाँको प्रतिबद्धता आएको छ ।

साउन र भदौ महिनामा आएका लगानी प्रतिबद्धतामध्ये सबैभन्दा धेरै पर्यटन क्षेत्रका लागि आएको देखिएको छ । यस क्षेत्रले कुल प्रतिबद्धताको ७३ प्रतिशत ओगटेको छ । प्रतिबद्धतानुसार दुई महिनामा ७१ उद्योगका लागि प्रस्ताव भएका छन् । यसैगरी, विभागका अनुसार सेवा क्षेत्रमा १५ वटा उद्योग आएका छन् । उत्पादनमा ६ वटा, सूचना प्रविधिमा तीनवटा, कृषिमा दुईवटा उद्योग दर्ता भएको तथ्यांक उद्योग विभागको छ । हालसम्म खानी, पूर्वाधार र इनर्जी क्षेत्रमा भने लगानीको प्रतिबद्धता नआएको उद्योग विभागले जनाएको छ ।

दुई महिनामा प्राप्त प्रतिबद्धताबमोजिम उद्योग सञ्चालनमा आएमा ४ सय ८५ जनाले रोजगारी पाउने विभागले जनाएको छ । दुई महिनामा आएका एप्रुभल रुटबाट आएका ९७ वटा उद्योगमध्ये ९५ साना उद्योग र दुईवटा ठूला उद्योगका रहेका छन् । साउन महिनामा ३८ वटा साना उद्योगका लागि मात्रै लगानी प्रतिबद्धता आएको थियो ।

उद्योग विभागले अटोमेटिक रुटमार्फत कुल ५० करोडसम्म शतप्रतिशत सेयर स्वामित्व वा संयुक्त लगानीमा नयाँ कम्पनी स्थापना वा विदेशी लगानीमा स्थापना भई सञ्चालनमा रहेका विदेशी लगानीकर्ताले त्यस्तो कम्पनीमा पुँजीवृद्धि गर्न स्वचालित मार्गमार्फत निवेदन दिन सकिने जनाएको छ । विदेशी लगानी स्वीकृति गरिएको पत्र इमेलमार्फत आवेदन दिनेबित्तिकै प्राप्त गर्न सकिने र सोहीआधारमा कम्पनी दर्ता गर्न सकिने प्रणाली नै अटोमेटिक रुट हो ।

दुई महिनामा उत्पादनमूलक क्षेत्रमा अटोमेटिक रुटबाट दुईवटा उद्योगका लागि ७५ करोड लगानी स्वीकृत गरिएको छ । पर्यटन क्षेत्रका आठ उद्योगका लागि २८ करोड, सेवा क्षेत्रका लागि २४ करोड, पूर्वाधार क्षेत्रमा २ करोड र आईसीटी क्षेत्रमा २४ करोड ७५ लाख रुपैयाँ अटोमेटिक रुटबाट लगानी प्रतिबद्धता आएको छ ।

उद्योग विभागले साउन र भदौमा करिब ६ सय जना लगानीकर्तालाई बिजनेस भिसा सिफारिस गरेको छ । यसैगरी, १ सय ३६ जना प्रतिनिधि र डिपेन्डेन्टतर्फ ३९ जनालाई बिजनेस भिसा सिफारिस गरेको छ ।

विभागले दुई महिनामा ३५ करोड १४ लाख ६९ हजार नेपाली रुपैयाँ विदेशी लगानीकर्तालाई फिर्ता लान अनुमति दिएको छ । यसैगरी, २ लाख ६७ हजार ८ सय अमेरिकी डलर, ३७ लाख ४६ हजार भारतीय रुपैयाँ र १० हजार २ सय युरो पनि फिर्ता लैजान अनुमति दिएको छ ।

विभागका अनुसार हालसम्म भने ५ खर्ब ३२ अर्ब ९९ करोड ४६ लाख रुपैयाँबराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको छ । ६ हजार ५ सय ५५ वटा परियोजनका लागि सोबराबरको लगानी प्रतिबद्धता आएको हो ।

तर, नेपालमा जति वैदेशिक लगानी प्रतिबद्धता आउँछ, त्यसनुसार लगानी भित्रिएको भने पाइँदैन ।