माओवादीमा मौलाउँदै अन्तर्विरोध

माओवादीमा मौलाउँदै अन्तर्विरोध

काठमाडौं। नेकपा माओवादी केन्द्रमा पहिलोपटक नीति र नेतृत्व परिवर्तनको आवाज उठेपछि दश वर्षे जनयुद्ध गरेको पार्टीमा तरंग उत्पन्न भएको छ। पार्टीभित्र नेतृत्व हस्तान्तरणको माग र विवाद केही शान्त भए पनि समाधान भएको छैन।

अर्कोतिर, पार्टीको हेडक्वार्टरबाटै उपमहासचिव जनार्दन शर्माले पार्टी फुटाउँछन् भन्ने सन्देश प्रवाह भएपछि सुरु भएको विवाद व्यक्तिगत रिसिइबीको तहमा पुगेको छ। जनार्दनले प्रचण्डकै अगाडि हेडक्वार्टरबाटै आफूले पार्टी फुटाउने प्रचार भएको भन्दै त्यहीँबाट अध्यक्षले खण्डन गर्नुपर्ने पार्टी बैठकमै अडान राखेका थिए।

गतसाता बसेको माओवादी स्थायी कमिटी बैठकबाट बाहिरिँदै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनार्दनले पार्टी फुटाउँछन् भन्ने हल्ला गलत भएको प्रतिक्रिया दिएका थिए। तर, प्रचण्डले यस्तो भनेको दुई दिनपछि शनिबार जनार्दन शर्माले रुकुम पश्चिम-काठमाडौं सम्पर्क समन्वय समितिले काठमाडौंमा गरेको कार्यक्रममा पार्टीको विवाद साम्य नभइसकेको संकेत गरे। त्यो पनि अध्यक्ष प्रचण्डकै सामुन्ने ।

यसअघि स्थायी कमिटी बैठकमा उनले पार्टी बिग्रिँदै गएको भन्दै १५ पृष्ठको प्रस्ताव राखेका थिए। आफूमाथि पार्टी फुटाउन खोजेको आरोप हेडक्वार्टरबाटै फैलाइएकाले यसलाई स्वीकार्न शर्मा तयार देखिएका छैनन्।

शनिबार पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानले गरेको कार्यक्रममा प्रचण्डले जनार्दनको लिखित मत नेतृत्वलाई स्थापित गर्नैका लागि भएको दाबी गरे। पछिल्लो समय पार्टीबाट अनावश्यक हल्ला चलाइएको भन्दै असन्तुष्ट बनेका जनार्दन प्रचण्डले बोलाएरै शनिबार बिहान खुमलटार गएका थिए।

नीति र नेतृत्व परिवर्तन र पार्टी फुटाउनेसम्बन्धी विवाद पार्टीको आन्तरिक बैठकमा मात्रै देखिए पनि शीर्ष नेताहरू भने विवाद तल्लो तहसम्म छताछुल्ल पार्न खोजिरहेका छन्।

प्रचण्डको सचिवालयले जनार्दन शर्माविरुद्ध अनर्गल प्रचार गरेको आरोप लागिरहेका बेला प्रचण्ड स्वयंले विवादलाई तल्लो तहमा लगेर छताछुल्ल पारेका हुन्। पार्टीको स्थायी कमिटी बैठकमा नेतृत्व परिवर्तनको आवाज उठेपछि त्यसलाई तल्लो तहले आयोजना गर्ने कार्यक्रममा लगेर नेतृत्व परिवर्तन होइन भन्ने बनाउन स्वयं अध्यक्ष प्रचण्ड नै अघि सरेका छन्। प्रचण्डले स-साना कार्यक्रममा नेतृत्वप्रति विवाद नभएको देखाउन खोजिरहेका छन्।

नेकपा माओवादी केन्द्र काठमाडौं-रुकुम पश्चिम सम्पर्क समितिको दोस्रो सम्मेलनलाई सम्बोधन गर्ने क्रममा उहाँले खुला छलफलले आफूहरूबीच देखिएको शंका मेटिएको भन्दै जनार्दन शर्माले पार्टी विभाजन गर्न खोजेको वा नेतृत्व परिवर्तन गर्न नखोजेको दाबी गरे।

विगत साढे तीन दशकदेखि पार्टीको नेतृत्व गरिरहेका प्रचण्डले नेतृत्व परिवर्तनको विषयलाई गम्भीर रूपमा नलिएको प्रष्ट हुन्छ । प्रचण्डले यसअघि २०७९ को पुसमा भएको माओवादीको आठौँ महाधिवेशनका क्रममा पनि नेतृत्व लिनका लागि पार्टीमा कुनै नेता तयार नभएको टिप्पणी गरेका थिए।

तर, २०८१ साल असारमा माओवादीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले नेतृत्वका लागि सबै तयार रहेको भन्दै वर्तमान नेतृत्वको विकल्प बनिसकेको संकेत गरे। त्यही मौकामा उपमहासचिव शर्माले माओवादीको खस्कँदो जनाधारमा सुधार गर्न नेतृत्वबारे तीन किसिमका परिवर्तन हुनुपर्ने औँल्याएर नेतृत्व हस्तान्तरण, नेतृत्व पुस्तान्तरण र विशेष महाधिवेशन माग गरे।

अध्यक्ष प्रचण्डलाई पार्टीको संरक्षकको भूमिकामा रहेर तेस्रो तहका युवाहरूलाई कार्यकारी सांगठनिक नेतृत्व हस्तान्तरण गर्ने विकल्प पुस्तान्तरणको अवधारणामा अघि सारेपछि प्रचण्डले पनि शर्मालाई अघि बढ्न नदिने गरी तल्लो तहमा समेत विवादलाई लगेका माओवादीका कतिपय नेताहरूको दाबी छ। जनार्दनको नेतृत्व हस्तान्तरणको प्रस्तावमा अर्का उपमहासचिव वर्षमान पुनले पनि समर्थन जनाएका थिए। अझ पुन पत्नी ओनसरी घर्तीले त चर्को स्वरमै प्रचण्डको आलोचना गरेकी थिइन्।

यता, पार्टीभित्र देखिएको अन्तर्विरोध विशेष महाधिवेशनबाट समाधान गर्न प्रदेशका अध्यक्षहरूले पार्टी नेतृत्वलाई सुझाव दिएका छन्। पार्टीको तल्ला तहबाट आएका सुझाव समेट्नका लागि भदौ महिनाभरि माओवादीले प्रदेशस्तरीय परामर्श समितिको बैठक बोलाएको छ।

प्रदेशस्तरीय बैठकबाट आएका सुझाव समेटेर आगामी असोज पहिलो साता केन्द्रीय समिति बैठक बोलाउने निर्णयसमेत पार्टीले गरेको छ। केन्द्रीय समिति बैठकले समस्या समाधानको खाका तयार गरे पनि आन्तरिक मतभेदको स्थायी समाधान हुनेमा प्रदेशस्तरीय नेताहरूले आशंका गरेका छन् ।

कोशी प्रदेशका अध्यक्ष हर्कबहादुर नेम्वाङले पार्टीलाई २४० सिटको बनाउने र ३२ सिटमा झार्ने भूमिकामा नेतृत्व तह नै देखिएकाले पार्टी निर्माणको स्पष्ट खाका पनि केन्द्रीय नेताहरूले नै ल्याउनुपर्ने बताए।

लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बरालले पार्टीभित्रको विवाद हल गर्न विशेष महाधिवेशन बोलाउनु पर्नेमा जोड दिए। महाधिवेशनबाट सबै समिति निर्वाचित भएर जाने विधि र पद्धति बसेमा समस्या समाधान हुने उनको भनाइ छ। कर्णाली प्रदेशकी अध्यक्ष विमला केसीले पार्टी भित्रको अन्तर्विरोध हल हुने दाबी गर्दै जनार्दन शर्माले पार्टी बलियो बनाउनुपर्ने सन्दर्भमा सुझाव दिएको जिकिर गरे।

यसैबीच विपक्षी दल माओवादी केन्द्रले कुनै पनि बेला सडक आन्दोलनमा जानुपर्ने अवस्था आउनसक्ने भन्दै पार्टी कमिटीहरूलाई सर्कुलर जारी गरेको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव देव गुरुङले सर्कुलर जारी गरेका छन्। सर्कुलरमा स्थायी समिति बैठकमा प्रचण्डले वर्तमान परिस्थिति, भावी दिशा र कार्यक्रमबारे राखेका धारणाहरूलाई बुँदागत रूपमा समावेश गरिएको छ ।

कांग्रेस र एमालेले मध्यरातमा गरेको सहमति सुशासनको अभियानलाई अवरुद्ध गर्न र मुलुकलाई २०४७ सालतिर फर्काउन भएको दाबी गरिएको छ । दुई दलको सहमति पश्चगामी कदम भएको भन्दै संसद्मा सशक्त भूमिका प्रस्तुत हुनुपर्नेमा जोड दिइएको छ । बैठकमा उठेका प्रश्हरूको जवाफ दिने क्रममा प्रचण्डले कतिपय नेताहरूको भनाइ सञ्चार माध्यमहरूमा आउँदा पार्टीलाई गम्भीर क्षति हुने उल्लेख गरेका छन्। त्यसतर्फ संकेत गर्दै बैठकमा पार्टी कमिटीका हरेक कुरा सार्वजनिक गर्नु पार्टीको सामान्य मूल्य मान्यताको गम्भीर उल्लंघन हुने सर्कुलरमा उल्लेख छ।

यस्तै, तत्काल पार्टी एकता हुन नसकेमा अन्य वाम घटकहरूसँग समाजवादी मोर्चा निर्माण र विस्तार गर्दै लैजाने नीति लिनुपर्ने उल्लेख गरिएको छ। पार्टी केन्द्रीय समितिको पूर्ण बैठकको तयारीको सन्दर्भमा, पार्टी केन्द्रीय सदस्यहरू र प्रदेश पदाधिकारीका बीचमा व्यापक छलफलको लागि परामर्श बैठक बस्ने निर्णय भएको पनि सर्कुलरमा उल्लेख छ