कोभिडपछि मंकीपक्सको त्रास

कोभिडपछि मंकीपक्सको त्रास

काठमाडौं। विगत एक दशकयता विश्वस्तरमै धेरै प्रकारका संक्रामक रोगले गम्भीर चुनौती सिर्जना गरिरहेका छन्।

सन् २०१९ को अन्त्यबाट सुरु भएको कोभिड-१९ महामारीले विश्वभर स्वास्थ्य संकट पैदा गरेको थियो। कोभिड महामारीलाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको थियो। कोभिड हाल करिब नियन्त्रणमा छ।

तर, अहिले फेरि अर्को रोग मंकीपक्सको संक्रमण बढिरहेको छ। अफ्रिकी महाद्वीपबाट सुरु भएको मंकीपक्सको संक्रमण तीव्र गतिमा विश्वका अन्य महाद्वीपमा पनि पुगिसकेको छ। अफ्रिका बाहिरका देशहरूमा पनि एमपक्सका घटनाहरू देखिएका छन्।

गतसाता मात्रै पाकिस्तानमा मंकीपक्स संक्रमणको पहिलो केस भेटिएको थियो। स्विडेनमा पहिलोपटक मंकीपक्सको संक्रमण पुष्टि भएको छ। स्विडेन र पाकिस्तानपछि मंकीपक्स फिलिपिन्समा पनि देखापरेको छ। सोमबार फिलिपन्समा पनि मन्कीपक्स संक्रमित फेलापरेको समाचार एजेन्सी रोयटर्सले जनाएको छ। फिलिपिन्समा भेटिएको यो पहिलो केस हो।

डब्ल्युएचओले गत साता मंकीपक्सलाई ‘पब्लिक हेल्थ इमर्जेन्सी’ घोषणा गरेको थियो। डब्ल्युएचओले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेसँगै मंकीपक्स भाइरसबारे त्रास फैलिएको छ।

विश्व स्वास्थ्य संगठनले अफ्रिकामा भइरहेको एम्पक्सको वृद्धिलाई १४ अगष्ट २०२४ मा विश्वव्यापी जनस्वास्थ्य आपतकालका रूपमा घोषणा गरेको थियो। यसअघि अफ्रिका सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनले यसलाई सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेको थियो।

नेपालमा भने पछिल्लोपटक मंकीपक्सको संक्रमण भेटिएको छैन। तर, गत वर्षको असारमा पहिलोपटक मंकीपक्स (एमपक्स) को संक्रमण पुष्टि भएको थियो। हाल संक्रमण नदेखिए पनि नेपाल पनि मंकीपक्सको उच्च जोखिममा रहेको छ।

सरकारले नै मंकीपक्स संक्रमणको जोखिममा नेपाल रहेको जनाएको छ। छिमेकी देशहरू मंकीपक्स भाइरसको संक्रमणको जोखिममा रहेकाले नेपाल पनि सतर्क रहनुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

छिमेकी देशमा दु्रत रूपमा फैलिरहेकाले जोखिम रहेको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए। ‘नेपालमा अघिल्लो वर्ष एकजना विदेशी ६० वर्षीया महिलामा मंकीपक्स संक्रमण देखिएकाले पनि नेपाल जोखिम नरहेको भन्न सकिँदैन,’ उनले भने।

यो बिफर समूहसँग सम्बन्धित छ, तर योभन्दा धेरै कम हानिकारक छ। तर, यसको नयाँ भेरियन्ट अधिक घातक भएको डब्ल्युएचओको ठहर छ। क्लेड-१ भनेर चिनिने भाइरसको तुलनात्मक रूपमा नयाँ स्ट्रेन २०२२ देखि अफ्रिकी देशहरूमा फैलिरहेको थियो। अफ्रिकाको कंगोमा हालसम्म मंकीपक्स (एमपक्स) भाइरसबाट ५४८ जनाको मृत्यु भइसकेको र छिमेकी देशहरूमा पनि द्रूत रूपमा फैलिने क्रममा छ।

‘क्लेड-१’ मध्य अफ्रिकाको स्थानीय हो। उही समयमा मंकीपक्स फैलिएको ‘क्लेड आइबी’ नयाँ र अधिक संक्रामक छ। मंकीपक्स पहिले जनावरबाट मानिसमा सर्ने गरेको भए पनि अहिले मानिसबाट मानिसमा पनि सर्ने गरेको छ। यो भाइरस केन्या, रुवाण्डा, युगाण्डा र बुरुण्डीजस्ता छिमेकी देशहरूमा पनि फैलिएको छ। नयाँ स्ट्रेन सजिलै फैलिन सक्ने विज्ञहरूले बताएका छन्।

लक्षणहरू के-के हुन् ?

यो भाइरसको प्रारम्भिक लक्षणमा ज्वरो आउने, टाउको दुख्ने, सुन्निने, ढाड दुख्ने र मांसपेशी दुख्नेजस्ता हुन्। जब ज्वरो कम हुन्छ, शरीरमा दागहरू देखा पर्दछन्, जुन प्रायः अनुहारबाट सुरु हुन्छ र शरीरको अन्य भागहरूमा फैलिन्छ।

यी दानाहरूले थप चिलाउने वा दुःखाइ हुनसक्छ। संक्रमण सामान्यतया आफैँ समाधान हुन्छ र १४ देखि २१ दिनसम्म रहन्छ। गम्भीर अवस्थामा, शरीरभरी र विशेष गरी मुख, आँखा र जननांगहरूमा घाउहरू देखा पर्छन्।

कसरी सर्छ ?

मंकीपक्स संक्रमित व्यक्तिको नजिकको सम्पर्कबाट फैलिन्छ। यौनसम्पर्क र छालादेखि छालाको सम्पर्कबाट यो भाइरस बढी सर्छ। यो भाइरस आँखा, श्वासप्रश्वास प्रणाली, नाक वा मुखमा फुटेको छालाको माध्यमबाट शरीरमा प्रवेश गर्नसक्छ।

संक्रमित व्यक्तिले प्रयोग गरेको ओछ्यान, कपडा र तौलियाजस्ता वस्तुहरू छोएर पनि बाँदरको पोक्स फैलिन सक्छ । यो भाइरस संक्रमित जनावरहरूको सम्पर्कमा आएर पनि हुनसक्छ।

संक्रमणबाट बच्न के गर्ने ?

एमपक्स शंका वा पुष्टि भएको व्यक्तिसँग असुरक्षित सम्पर्कमा नजाने, संक्रमित व्यक्तिलाई घर वा अस्पतालमा आइसोलेसनमा राख्ने, संक्रमित व्यक्तिको हेरचाह गर्ने तथा पूर्ण रूपमा जनस्वास्थ्यको मापदण्ड पालना गर्नुपर्छ। सामान्यतया यो आफैँ ठीक भएर जाने भाइरल रोग हो।

मंकीपक्सको फैलावट नियन्त्रण गर्ने सबैभन्दा राम्रो उपाय खोप लगाउनु हो। यसको लागि खोप छ, तर यो जोखिममा रहेका वा संक्रमित व्यक्तिको नजिक रहेका व्यक्तिहरूलाई मात्र उपलब्ध छ।

डब्ल्युएचओले भर्खरै औषधि उत्पादकहरूलाई भ्याक्सिनको आपतकालीन प्रयोगको लागि अगाडि आउन र यी खोपहरूलाई आवश्यक पर्ने देशहरूमा लैजान आग्रह गरेको छ तर, यसलाई औपचारिक रूपमा स्वीकृत गरिएको छैन।

डब्लुएचओका अनुसार यो रोगको मृत्युदर ११ प्रतिशतसम्म पनि पुग्छ। साना बालबालिकामा मृत्युदर उच्च रहेको छ। हालको समयमा मृत्युदर लगभग ३.६ प्रतिशत छ । झण्डै दश संक्रमितमध्ये एकको भने जटिलताको कारणले मृत्यु हुने देखिएको संक्रामक रोग विशेषज्ञहरू बताउँछन्।