के प्रचण्डलाई नेतृत्व गुमाउने 'टेन्शन' नभएकै हो?

के प्रचण्डलाई नेतृत्व गुमाउने 'टेन्शन' नभएकै हो?

काठमाडाैं। आफ्नो पार्टीसहित नेकपा माओवादी केन्द्रमा आबद्ध भएको एक दशकपछि मात्रै गणेश साह उक्त दलमा पहिलो पटक नेतृत्व हस्तान्तरणको प्रस्ताव र बहसको साक्षी बने।

माओवादी केन्द्रको सचिव रहेका साहले आफ्नो पार्टी माओवादीमा एकीकरण भएपछि पहिलो पटक भएको बहसले नेतृत्वमा तत्काल परिवर्तन गराउने विश्वास भने गरेका छैनन्। “यो बहस मेरो अनुभवमा पहिलो पटक हो। यो भन्दा अगाडि त्यस्तो मौका नै मिलेको थिएन,” उनले भने।

पछिल्लो समय निरन्तर तेस्रो ठूलो दल र सरकारहरूको गठनमा निर्णायक रहेको माओवादी करिब एक दशकपछि सत्ता बाहिर पुगेपछि उक्त दलमा प्रचण्डको नेतृत्वबारे समीक्षा सुरू भएको छ।

नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टीको स्थायी समिति बैठकमा पेस गरेको प्रस्तावमा नेतृत्व हस्तान्तरणको विषय पनि उठाएपछि भइरहेको यो बहसलाई पार्टी बाहिरबाट पनि उत्तिकै चासोपूर्वक हेरिएको छ।

तर विगत साढे तीन दशकदेखि पार्टीको नेतृत्व गरिरहेका पुष्पकमल दाहाल प्रचण्डले भने यसलाई गम्भीर रूपमा नलिएको सङ्केत गरेका छन्।

पार्टी बैठकबाट बाहिरिँदै गरेका प्रचण्डलाई सोमवार पत्रकारले नेतृत्व हस्तान्तरणको लिखित प्रस्तावबारे उनको धारणा सोधे।

जसको जबाफमा प्रचण्डले भने, “केही हुँदैन सबै मिलेर जान्छ, तपाईँहरूलाई हो टेन्शन हामीलाई केही छैन।”

प्रचण्डले यसअघि २०७९ को पुसमा भएको माओवादीको आठौँ महाधिवेशनका क्रममा पनि प्रचण्डले नेतृत्व लिनका लागि पार्टीमा कुनै नेता तयार नभएको टिप्पणी गरेका थिए।

माओवादीमा तीन दशकदेखि प्रचण्डसँगै रहेका उपमहासचिव शर्माले माओवादीको खस्कँदो जनाधारमा सुधार गर्न नेतृत्वबारे तीन किसिमका परिवर्तन हुनुपर्ने औँल्याएका छन्।

जसमा नेतृत्व हस्तान्तरण, नेतृत्व पुस्तान्तरण र विशेष महाधिवेशन माग गरिएको छ।

“अध्यक्ष प्रचण्डको हालसम्मको योगदानलाई स्थापित गर्न बाँकी समय उहाँको भूमिकालाई सुनिश्चित गर्न वैचारिक काम र सत्ताको नेतृत्व गर्ने जिम्मेवारीसहित साङ्गठनिक क्षेत्रको भूमिका उहाँले चाहेको व्यक्तिलाई हस्तान्तरण गर्ने,” शर्माको नेतृत्व हस्तान्तरणको प्रस्तावमा भनिएको छ।

उनले प्रचण्डलाई पार्टीको संरक्षकको भूमिकामा रहेर तेस्रो तहका युवाहरूलाई कार्यकारी साङ्गठनिक नेतृत्व हस्तान्तरण गर्ने विकल्प पुस्तान्तरणको अवधारणामा अघि सारेका छन्।

तेस्रो विकल्पमा उनले हालको केन्द्रीय कमिटी भङ्ग गरेर प्रचण्डको नेतृत्वमा महाधिवेशन आयोजक समिति बनाउने र महाधिवेशनमार्फत् प्रत्यक्ष निर्वाचनबाट नयाँ नेतृत्व चयन गर्न सकिने प्रस्ताव गरेका छन्।

जनार्दनको नेतृत्व हस्तान्तरणको प्रस्तावमा अर्का उपमहासचिव वर्षमान पुनले पनि समर्थन जनाएको पार्टी नेताहरूले बताएका छन्।

माओवादी सचिव गणेश साह पार्टीमा नेतृत्व हस्तान्तरणको बहस साँच्चिकै नेतृत्व हस्तान्तरणका लागि भन्दा पनि सामूहिक नेतृत्वमा पार्टी चलाउने उद्देश्यले आएको हुनसक्ने ठान्छन्।

“अहिले उहाँकै वरिपरि एकीकृत भएर अघि बढ्ने भन्ने नै छ। उहाँको विकल्प खोजेको छैन। त्यसलाई सामूहिक नेतृत्व तिर लाने भन्ने छ,” साहले  भने।

“उहाँहरूले पार्टी भित्रको अधिकारको बाँडफाँट हुनुपर्‍यो। सङ्गठन कसले हेर्ने, स्थानीय सरकार कसले हेर्ने भन्ने कुरा उठाउनुभएको हो। त्यो सामूहिक नेतृत्व कसरी विकसित गर्नुहुन्छ, त्यो नै उहाँ (प्रचण्ड)को लागि सबैभन्दा ठूलो चुनौती हो।”

माओवादी राजनीतिबारे कैयौँ पुस्तक लेखिसकेका पत्रकार नेत्र पन्थी यो दलमा नेतृत्व हस्तान्तरणबारे लिखित प्रस्तावबारे बहस पार्टीका औपचारिक बैठकहरूमा यसअघि नदेखिएको बताउँछन्।

“यो पटक आएको प्रस्ताव पनि साँच्चिकै नेतृत्व हस्तान्तरण गर्ने मागभन्दा पनि नेतृत्वमाथि आफ्ना चासो सम्बोधन गराउने दबावको रणनीतिको रूपमा पनि आएको हुनसक्ने म ठान्छु,” उनले भने।

“अहिलेको अवस्थामा प्रचण्डको पार्टी नेतृत्वबाट अवकाश उनको स्वैच्छिक अवकाशबाट मात्रै सम्भव देखिन्छ। पार्टीमा लडेर नेतृत्व लिन्छु भन्ने नेता अझैसम्म देखिएका छैनन्।”

माओवादीमा नेतृत्वको आकाङ्क्षा राखिरहेका शर्मा र वर्षमान पुन जस्ता नेताहरूमा प्रचण्डको जस्तो शक्तिको अभ्यास, स्रोत साधनको पहुँच र सम्पर्क नरहेको पन्थीको मूल्याङ्कन छ।

“मेरो बुझाइमा प्रचण्ड मात्रै नभएर कांग्रेस र एमालेमा पनि एउटै पुस्ताका नेता छन्। तीन वटै मुख्य पार्टीमा नेतृत्व हस्तान्तरण पनि करिब एउटै समयमा हुने देखिन्छ,” पछिल्लो समय लेफ्ट राइट पुस्तक लेखेका पन्थीले भने।

प्रचण्डले पनि तत्काल पार्टीमा आफूलाई चुनौती दिने नेता नदेखेको र यसअघि पार्टीमा रहेका त्यस्ता नेताहरू सबै पार्टीबाट अलग भइसकेको पत्रकार पन्थी बताउँछन्।

चुनौती दिन सक्ने ठानिएका धेरैजसो माओवादी नेताहरू जनयुद्धमै आन्तरिक कारबाहीमा परेपछि उनीहरू पछि परेको कतिपयको बुझाइ छ।

यसअघि विसं २०७१ सालमा विराटनगरमा भएको राष्ट्रिय सम्मेलनमा माओवादी नेतृत्वको दाबी अघि सारेका बाबुराम भट्टराई पार्टीबाटै अलग भए।

पार्टीमा उपाध्यक्ष रहेका भट्टराईले पार्टीभित्र आन्तरिक लोकतन्त्र हुनुपर्ने आवाज उठाउँदै आएका भट्टराईले एउटै व्यक्तिले वर्षौँसम्म पार्टीको नेतृत्व गर्ने परम्परा अन्त्य गरिनुपर्ने विचार अघि सारेका थिए।

दश वर्षे भूमिगत राजनीतिबाट शान्ति प्रक्रियामा आएको माओवादीमा प्रचण्डसँग वैचारिक मतभिन्नता राख्ने अधिकांश नेताहरू अलग भइसकेका छन्।

दाहालका अर्का सहयात्री मोहन वैद्यले पार्टीमा लामो अन्तर्विरोधपछि एक दशकअघि अलग पार्टी गठन गरे।

वैद्यसँगै बाहिरिएका माओवादीका तत्कालीन महासचिव रामबहादुर थापा पुनः प्रचण्ड नेतृत्वको माओवादीमै फर्किए पनि उनी अहिले माओवादी छोडेर एमालेमा आबद्ध भएका छन्।

माओवादीले गरेको युद्धका बेला प्रचण्डसँग निकट भए पनि शान्ति प्रक्रियामा आएपछि असहमति राख्दै आएका अर्का नेता नेत्रविक्रम चन्द अहिले छुट्टै पार्टीको प्रमुख छन्। चन्द फेरि माओवादीमा फर्कने चर्चाबीच पार्टीमा नेतृत्व हस्तान्तरणबारे बहस सुरु भएको हो। कतिपयले चन्दलाई पार्टीमा महत्त्वपूर्ण जिम्मेवारी दिएर भित्र्याउने माओवादी अध्यक्ष प्रचण्डले योजना रोक्न पनि उनको पुस्ताबाट नेतृत्व हस्तान्तरण हुनुपर्ने बहस स्थायी समितिमा आएको हुनसक्ने आकलन गरेका छन्।