महिला टी–२० विश्वकप : सेमिफाइनलमा थाइल्यान्डसँग नेपाल पराजित

महिला टी–२० विश्वकप : सेमिफाइनलमा थाइल्यान्डसँग नेपाल पराजित

काठमाडौं । नेपाली टोली आईसीसी महिला टी–२० विश्वकप क्रिकेटअन्तर्गत एसियाली क्षेत्रको छनोट प्रतियोगिताको सेमिफाइनलमै पराजित भएको छ । मलेसियामा शुक्रबार खेलिएको सेमिफाइनल खेलमा नेपाललाई थाइल्यान्डले ४६ रनले हराएको हो । टस हारी पहिलो ब्याटिङको निम्तो पाएको थाइल्यान्डले निर्धारित ओभरमा केवल दुई विकेट गुमाएर एक सय पाँच रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले भने १९.३ ओभरमा अलआउट हुनुअघि ५९ रन मात्र बनाउन सक्यो ।

नेपाली टोलीको बलिङ र ब्याटिङ फितलो देखियो । खासगरी ब्याटिङ पक्ष ज्यादै निराशाजनक थियो । नेपालले तीन रनको कुल स्कोरमै आफ्नो तीन विकेट गुमाएको थियो । पहिलो ओभरको तेस्रो बलमै नेपालकी ओपनर काजल श्रेष्ठ शून्य रनमा आउट भएकी थिइन् । दोस्रो ओभरको दोस्रो बलमा अनुभवी खेलाडी इन्दु बर्मा पनि पेभेलियन फर्किइन् । उनले तीन बलको सामना गरी तीन रन बनाइन् । त्यसपछि दोस्रो ओभरको चौथो बलमा नेपालले कप्तान रुबिना क्षेत्रीलाई पनि गुमाएको थियो । दुई बलको सामना गरेकी उनले खातासम्म खोल्न सकिनन् ।

टोलीको कुल स्कोर केवल १० रन रहँदा नेपालले चौथो विकेट पनि गुमाएको थियो । नेपाली टोलीकी ओपनर सीता रानामगर चार रन बनाउँदै पेभेलियन फर्किएकी हुन् । उनले १० बलको सामना गरी एक चौका हिर्काएकी थिइन् । पाँचौँ ओभरको दोस्रो बलमा उनी आउट हुँदा नेपालले केवल आठ रन बनाएको थियो । पाँचौँ विकेटको रुपमा कविता जोशी पेभेलियन फर्किएकी थिइन् । कविताले २८ बलमा एक चौकाको मद्दतले १० रन बनाइन् । ११.५ ओभरमा उनी आउट हुँदा नेपालले ३० रन बनाएको थियो ।

यसैगरी छैटौँ विकेटका रुपमा बिन्दु रावल आउट भएकी थिइन् । चार बलको सामना गरेकी उनले खातासम्म खोल्न सकिनन् । १२.४ ओभरमा उनी आउट हुँदा नेपालले ३१ रन मात्र बनाउन सकेको थियो । सातौँ विकेटका रुपमा अप्सरी बेगम आउट भइन् । उनले २७ बलको सामना गरी एक चौकाको मद्दतले १० रन बनाइन् । १३.५ ओभरमा उनी आउट हुँदा नेपालको स्कोर ३३ रन थियो ।

यसैगरी आठौं विकेटका रुपमा पूजा महतो आउट भएकी थिइन् । उनी ११ बलमा चार रन बनाउँदै पेभेलियन फर्किएकी हुन् । १७.२ ओभरमा उनी आउट हुँदा नेपालले ४७ रन बनाएको थियो । नवौं विकेटका रुपमा अस्मिना कर्माचार्य आउट भइन् । उनले ६ बलमा तीन रन बनाइन् । १८.२ ओभरमा उनी आउट हुँदा नेपालले ५० रन बनाएको थियो । 

अन्तिम विकेटका रुपमा खुसी डंगोल तीन बलमा एक रन बनाउँदै पेभेलियन फर्किइन् । कविता कुँवरले अविजित १७ रन बनाइन् । उनले २० बलको सामना गरी दुई चौका प्रहार गरिन् । थाइल्यान्डकी बलर ओनिचा कामचोमफुले तीन विकेट हात पारिन् । थिपातचा पुथ्थावङले पनि तीन विकेट लिइन् । नाताया बुथाथमले पनि दुई विकेट हात पारिन् । 

त्यसअघि टस हारी पहिलो ब्याटिङको निम्तो पाएको थाइल्यान्डले निर्धारित ओभरमा दुई विकेट गुमाएर एक सय पाँच रन बनाएको थियो । थाइल्यान्डका लागि नानापत कोन्चारोएन्काइले ५९ रनको योगदान गरेकी थिइन् । नेपाली बलरको लगातारको आक्रमणलाई विफल पार्दै उनले ६३ बलको सामना गरी चार चौका पनि प्रहार गरिन् । नाथाकन चान्थमले पनि टोलीका लागि ३१ रनको योगदान गरेकी थिइन् । उनले ४५ बलको सामना गरी दुई चौका पनि हिर्काइन् । नेपाली बलर कविता कुँवर र पूजा महतोले एक—एक विकेट लिएका थिए । 

सेमिफाइनलमा पराजित भएसँगै नेपालले ऐतिहासिक उपलब्धि हासिल गर्ने एउटा गतिलो अवसर पनि गुमाएको छ । उक्त खेलमा विजयी भएको भए नेपाल इतिहासमै पहिलो पटक टी–२० विश्वकपको ग्लोबल छनोटमा पुग्ने थियो । नेपाली महिला टोलीले हालसम्म टी–२० विश्वकपको ग्लोबल छनोट खेल्ने अवसर पाएको छैन । जारी प्रतियोगिताको समूहगत चरणमा अपराजित रहँदै नेपाली टोली सेमिफाइनलमा पुगेको थियो । तर, समूहगत चरणको खेलमा पनि नेपाली टोलीको ब्याटिङ भने निराशाजनक थियो । नेपालले समूहगत चरणको आफ्नो पहिलो खेलमा आयोजक मलेसियालाई पाँच रनले हराएको थियो ।

यसैगरी समूह ‘ए’ मा रहेको नेपालले आफ्नो दोस्रो खेलमा बहराइनलाई १० विकेटले हराएको थियो । तेस्रो खेलमा नेपालले भुटानमाथि तीन विकेटको जित हासिल गरेको थियो । आफ्नो चौथो खेलमा नेपालले कतारलाई नौ विकेटले पराजित गरेको थियो । नेपाल र संयुक्त अरब इमिरेट्सबीचको पाँचौँ खेल भने वर्षाका कारण रद्द भएको थियो । समूह ‘ए’ बाट नौ अङ्कसहित यूएई पहिलो र समान अङ्क जोडेको नेपाल दोस्रो हुँदै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका थिए । समूह ‘बी’ बाट भने सात अङ्कसहित थाइल्यान्ड पहिलो र ६ अङ्कसहित हङ्कङ दोस्रो हुँदै सेमिफाइनलमा पुगेका हुन् ।