आदेशकाठमाडौं । सन्तानले वंश आमाको मात्रै नाम राखेर पनि नागरिकता पाउने भएका छन् । बाबुको पहिचान खुले पनि पारिवारिक कारणले सन्तानले यदि आमाको मात्रै नाम उल्लेख गरेर नागरिकता बनाउन चाहे अब पाउने गरी सर्वाेच्च अदालतले परमादेश जारी गरेको हो ।
काठमाडौं महानगरपालिका ३ की तनिसी चन्दको मुद्दामा न्यायाधीशद्वय दीपककुमार कार्की र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले नागरिकतामा आमाको मात्रै नाम उल्लेख गरेर नागरिकता बनाउन पाइने आदेश जारी गरेको हो ।
तनिसीका आमा र बाबुबीच २०६५ सालमा सम्बन्ध विच्छेद भएको थियो । त्यसयता आमाले नै तनिसीको लालनपालन, शिक्षा, तथा सम्पूर्ण व्यवहार एक्लै गर्दै आइन । उनले बाबुलाई नदेखेको १८ वर्ष भयो । त्यसैले उनले आमाको मात्रै नाम उल्लेख गरेर नागरिकता बनाउन खोज्दा जिल्ला प्रशासन कार्यालय काठमाडौंले नमिल्ने भन्दै फर्काइदिएपछि तनिसीले सर्वाेच्चको ढोका ढक्ढक्याउन पुगिन् ।
कक्षा १२ उत्तीर्ण गरेकी उनले थप उच्चशिक्षा अध्ययनका लागि अमेरिकाको सिकागोस्थित डिपोल युनिभर्सिटिमा ६० प्रतिशत छात्रवृत्ति पाएकी छिन् । तर त्यहाँ जानका लागि आवश्यक राहदानी बनाउन चाहिले नागरिकता आमाको मात्रै नाम उल्लेख गरेर बनाउन पाउनुपर्ने माग गर्दै सर्वाेच्चमा रिट दायर गरेकी थिइन् ।
सोही रिटमा सुनुवाई गर्दै आमाको नामबाट नागरिकता दिन सर्वाेच्चले आदेश दिएको हो । सर्वोच्चले आदेशमा भनिएको छ, ‘तनिसी चन्दका बाबु र आमा दुवै नेपाली नागरिक रही दुवैबीच सम्बन्धबिच्छेद भएको, नागरिकता प्राप्त गर्न निवेदकको उमेरबाट योग्य भएको एवं आमाको नाम मात्र राखी नेपाली नागरिकताको प्रमाणपत्र पेस गरी पाऊँ भनी जिल्ला प्रशासन कार्यालय काठमाडौंमा आवेदन पेस गरेकामा निज निवेदकको वंश छनोट गर्ने अधिकार रहेको हुँदा निजले आवेदनका साथमा पेस गरेका अन्य कागजातबाट निजको आमा र बाबु दुवैको पहिचान खुलेकाले सो विवरण जिल्ला प्रशासन कार्यालयको ढड्डामा सम्म उल्लेख गरी निजले माग गरेबमोजिम नागरिकताको प्रमाणपत्रमा आमाको नाम मात्र उल्लेख गरी नागरिकता जारी गर्नू ।’