प्रदेश ३ को नाम वाग्मती राख्ने नेकपामा प्रस्ताव

प्रदेश ३ को नाम वाग्मती राख्ने नेकपामा प्रस्ताव

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयले प्रदेश ३ को नाम वाग्मती प्रस्ताव गर्ने निर्णय गरेको छ। त्यसैगरी प्रदेश ३ को राजधानी हेटौंडा बनाउने प्रस्तावसमेत बैठकमा भएको सचिवालय सदस्य झलनाथ खनालले बताए।

आईतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालको उपस्थितिमा बसेको बैठकले उक्त प्रस्तावको निर्णय गरेको हो।

सचिवालय बैठकमा प्रदेश ३ को नाम वाग्मती राख्ने र राजधानी हेटौंडा तोक्ने प्रस्ताव गर्ने निर्णय भएको पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले बताए । बैठकमा यी विषय निर्णय गरीए पनि सार्वजनिक भने गरिएको छैन।

नेकपाले निर्णय गरेपछि प्रस्ताव गरिएको नाम प्रदेश ३ को संसदमा पेश हुनेछ। संसदले बहुमतबाट नाम पारित गरेमा प्रदेश ३ को नाम वाग्मती र राजधानी हेटौंडा हुनेछ। बैठकमा सभामुख र एमसीसीको विषयमा छलफल भए पनि टुंगोमा भने पुग्न नसकेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।