काठमाडौं : नेपाल भ्रमण बष २०२० लाई सफल बनाउन विश्वका ठूला शहरमा रहेका अग्ला भवन र टावरमा नेपालको राष्ट्रिय झण्डा तथा नेपाल भ्रमण वर्षको लोगो फहराइने भएको छ ।
विश्वका मुख्य एक दर्जन शहरका अग्ला भवन र टावरमा नेपाल र भ्रमण वर्षको लोगो फहराउने गरी गैरआवासीय नेपाली संघले तयारी गरेका छन् । अष्टे्रलियाको सिड्नी, न्यूजिल्याण्ड, जापान, कोरिया, कतार, यूएई, हङकङ, जर्मनी, बेल्जियम, बेलायत, अमेरिका, क्यानडाका विभिन्न शहरमा रहेका अग्ला भवन र टावरमा नेपाली झण्डा फहराइने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सामाजिक सञ्जालमार्फत जानकारी गराएका हुन् ।
डिसेम्बर ३१ मा नेपालको झण्डा फहराइने मन्त्री भट्टराईले उल्लेख गरेका छन् । थप बिभिन्न स्थानका टावर र भवनमा झण्डा फहराउन गैरआवासी नेपाली संघलाई आग्रह गरेका छन् । यस अघि युएईमा अवस्थित विश्वकै अग्लो भवन बुर्ज खलिफामा पहिलो पटक संविधान दिवसको दिन नेपालको राष्ट्रिय झण्डा फहराइएको थियो ।