शुक्रबार पनि कांग्रेसको बैठक अनिश्चित

काठमाडौँ : नेपाली कांग्रेसको आज (शुक्रबार) बस्ने भनिएको केन्द्रीय कार्यसमितिको बैठक अनिश्चित बनेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीचको विवाद समाधान नभएकाले बैठक अनिश्चित बनेको हो ।

विवाद समाधानका प्रयास भैरहेको र समाधान नभएसम्म पार्टी बैठक सञ्चालन नहुने नेताहरुले बताएका छन् । पार्टी सभापति देउवासँग सहमति नभएकाले बैठक अनिश्चित भएको वरिष्ठ नेता पौडेलले बताए । पटक–पटक सर्दै आएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक यसअघि गत मंसिर २६ गतेदेखि बस्न सकेको छैन ।

यसबीचमा पटक÷पटक केन्द्रीय कार्यसमितिको बैठक सार्दै दुवै समूहले वार्ता टोली बनाएर छलफल गरिरहेका छन । दुवै समूहको छलफल जारी रहेकाले आजको बैठक पनि नबसने सम्भावना बढी रहेको पूर्वमहामन्त्री प्रकाशमान सिंहले जानकारी दिए । तर, यता कांग्रेस पार्टी कार्यलयका मुख्य सचिव कृष्ण पौडेलले शुक्रबार दिउँसो १ बजे केन्द्रीय कार्य समितिको बैठक बोलाइएको जानकारी दिए ।

पार्टीको विभिन्न विभाग गठन, महाधिवेशनको निर्वाचन कार्यतालिका, भ्रातृ संस्थाको नेतृत्व, क्रियाशील सदस्यताको नामावली प्रकाशन लगायतका विषयमा सभापति देउवा पक्ष र वरिष्ठ नेतापौडेल पक्षबीच विवाद बढ्दै गएको छ ।