एमसीसीलाई इन्डो प्यासिफिक रणनीतिसँग जोड्न गलत :परराष्ट्रमन्त्री ज्ञवाली

एमसीसीलाई इन्डो प्यासिफिक रणनीतिसँग जोड्न गलत :परराष्ट्रमन्त्री  ज्ञवाली

काठमाडौं : परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का विषयमा अनावश्यक शंकामात्र गरिएको बताएका छन् ।

राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा उनले एमसीसीलाई अमेरिकाको इन्डो प्यासिफिक रणनीतिसँग जोड्न आवश्यक नभएको बताएका हुन् । उनले भने ‘बनको बाघले खाओस् नखाओस् मनको बाघले खाएको जस्तो देखिन्छ ।

मन्त्री ज्ञवालीले संसदको अहिलेको अधिवेशनबाट एमसीसी पारित हुने बताए । ‘नयाँ सदनमा एमसीसी हुने गरी अगाडि बढाइने र अनुमोदन हुनेमा अलमलिनु नपर्ने बताएका छन्। एमसीसीसँग सम्झौता हुँदा नेपालमा राजनीतिक दलहरुबीच विकासमा पनि तिक्ततापूर्ण सम्बन्ध भएका कारण बृहत्तर सहमतिको खोजीका लागि संसदबाट अनुमोदनको प्रावधान राखिएको हुन सक्ने मन्त्री ज्ञवालीले बताए ।

एमसीसीमा भारतको सहमति लिनुपर्ने प्रावधान राखिएको भन्दै विरोध भइरहेको प्रसंगमा पनि मन्त्री ज्ञवालीले जवाफ दिए । एमसीसीमा नेपालले लेखा परीक्षण गर्न नपाउने व्यवस्था नै नरहेको भन्दै मन्त्री ज्ञवालीले यसमा पनि बुझाइ गलत भएको बताए ।