पोखराले काठमाडौंको विकल्प नदिने भन्दै निजगढ विमानस्थल बनाउनै पर्ने : पर्यटनमन्त्री भट्टराई

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले त्रिभुवन विमानस्थलले हवाई चाप धान्न नसक्ने भन्दै निजगढ विमानस्थल अत्यावश्यक रहेको बताएका छन् ।

सोमबार नेपाल भ्रमण वर्षका सन्दर्भमा बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिसँगको छलफलका क्रममा उनले भैरहवा र पोखरा विमानस्थलले काठमाडौंको विकल्प नदिने भन्दै निजगढ अत्यावश्यक रहेको बताएका हुन् ।

सर्वोच्च अदालतले निजगढ विमानस्थलमा रुख नकाट्न अन्तरिम आदेश जारी गरेको भोलिपल्ट मन्त्री भट्टराईले उक्त विमानस्थलको महत्वबारे बोलेका हुन् ।

सरकारले पर्यटन पूर्वाधारलाई प्राथमिकता राखेको भन्दै हवाइ पूर्वाधारबिना पर्यटक आगमन बढाउन नसकिने मन्त्री भट्टराईले उल्लेख गरे । उनले बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिलाई भ्रमण वर्षमा सक्रिय सहभागी हुन समेत आह्वान गरेका छन् ।