प्रचण्डको प्रतिवेदन पारित, एमसिसीबारे निर्णयको जिम्मा सचिवालयलाई

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको एक सातादेखि जारी स्थायी कमिटी बैठक आइतवार सकिएको छ। पार्टीको भावी रणनीति, सरकारको समीक्षासहितका विषयमा केन्द्रित भएर बसेको बैठक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित गर्दै सकिएको हो।

धुम्बराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको उक्त बैठकबाट महासचिव विष्णु पौडेलको विधान संशोधन प्रतिवेदन पनि पारित भएको छ। यो बैठकले आगामी पुस २३ गते केन्द्रीय कमिटी बैठक पनि बोलाउने निर्णय गरेको छ।

पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठकले पार्टी एकताका बाँकी रहेका काम १५ दिनमा सक्ने निर्णय लिएको छ। यो बैठकले अमेरिकाको बहुचर्चित मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसिसी० उसकै सैन्य रणनीति इन्डोप्यासिफिक अन्तर्गतको भए नभएको निर्णय लिने जिम्मा पार्टी सचिवालयलाई दिएको छ।

विधान संशोधनको प्रस्ताव केन्द्रीय कमिटीले अनुमोदन गर्ने गरी पारित गरिएको छ ।एमसीसीलाई इन्डो प्यासिफिकको अंग नभएको अमेरिकाले पुष्टि गरेमा यसको पक्षमा जाने शर्तसहित पार्टीको धारणा बनाउने जिम्मा सचिवालयलाई प्रदान गरिएको छ।