हङकङमा ट्रान्जिट भिषा व्यवस्था गर्न माग गर्दै कांग्रेसले बुझायो ज्ञापनपत्र

काठमाण्डौं : नेपाली कांग्रेसले नेपालीहरुलाई हङकङमा ट्रान्जिट भिषा व्यवस्था गर्न माग गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई ज्ञापन पत्र बुझाएको छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणको नेतृत्वमा गएको टोलीले मन्त्री ज्ञवालीलाई ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएको हो ।

‘वर्क प्रमिट’ प्राप्त गरी करिब ४ हजार नेपाली युवाहरु रोजगारीका लागि मकाउमा रहँदै आएका छन् । काठमाडौंदेखि मकाउ जान र मकाउदेखि काठमाडौं आउन हालसम्म सोझो हवाई उडान नभएकाले मकाउमा रोजगारीका लागि पुग्‍ने र आउने युवाहरुले कठिनाई भोग्‍नु परेको ज्ञापनपत्रमा उल्लेख छ ।

काठमाडौं–हङकङ–मकाउ–मकाउ–हङकङ–काठमाडौं सबैभन्दा पायक र सहज रुटमा रहेको तर सो रुट भएर यात्रा गर्नका लागि नेपालीहरुलाई हङकङमा ट्रान्जिट भिषा व्यवस्था नभएकाले हङकङको ट्रान्जिट भिषा व्यवस्थाका लागि सरकारको ध्यानाकर्षण गराइएको छ ।

भेटमा परराष्ट्र मन्त्री ज्ञवालीले हङकङमा ट्रान्जिट भिषा नहुँदा नेपालीहरुले भोग्‍नु परेको समस्याका बारेमा आफू गम्भीर रहेको बताउँदै यस विषयमा तत्काल मन्त्रालयबाट पहल गर्ने प्रतिबद्धता जनाएको भेटमा सहभागी जन्मजय तिमल्सिनाले जानकारी दिए ।