नेकपा स्थायी कमिटी बैठक आज सकिँदै

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज पनि बस्दैछ। पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बिहान ११ बजे बोलाइएको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदन तथा महासचिव विष्णु पौडेलको विधान संशोधन प्रस्ताव पारित गरिने भएको छ।

राजनीतिक प्रतिवेदन र विधान संशोधन प्रस्ताव छलफलका आधारमा आज पारित गरिने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। गत आइतबार शुरु भएको स्थायी कमिटी बैठकमा राजनीतिक प्रतिवेदन तथा विधान संशोधन प्रस्तावमा नेताहरुले आफ्ना सुझावहरु राखेका थिए।

हिजोको बैठकमा नेताहरुले अमेरिकी नियोग मिलिनियम च्यालेन्ज कर्पोरेशन एमसीसी परियोजनाका विषयमा प्रश्न राखेका थिए। एमसीसी अमेरिकी इन्डोप्यासिफिक रणनीतिकै अंग हो वा होइन भन्नेबारे स्थायी कमिटीमा शुरुदेखि नै कुरा उठ्दै आएको छ।

यसैबीच हिजोको बैठकले नेता वामदेव गौतमलाई उपाध्यक्ष बनाउने प्रस्ताव अनुमोदन गरेको छ। बैठकले गौतमलाई उपाध्यक्ष बनाउने निर्णय गरेको हो। पार्टीको विधान संशोधन गरेर गौतमलाई उपाध्यक्ष बनाउने प्रस्ताव हिजै पारित भए पनि आजमात्रै घोषणा गरिने भएको छ। त्यस्तै बैठकले केन्द्रीय समिति बैठक पुस २० गतेका लागि बोलाएको छ।