संसदको हिउँदे अधिवेशन शुक्रबारदेखि सुरु हुदै

संसदको हिउँदे अधिवेशन शुक्रबारदेखि सुरु हुदै

काठमाडौं : संघीय संसदको हिउँदे अधिवेशन शुक्रबारदेखि सुरु हुँदैछ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको हिउँदे अधिवेशन शुक्रबार अपराह्न ४ बजे बस्नेगरी आह्वान गरेकी छन् । उनले संसदका दुवै सदनको बैठक आह्वान गरेकी हुन् ।

संघीय संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले हिउँदे अधिवेशनका लागि प्राविधिक र प्रशासनिक तयारी पूरा भइसकेको जानकारी दिएका छन् । हिउँदे अधिवेशनका लागि सरकारले अहिलेसम्म चारओटा विधेयक संसदमा दर्ता गराएको छ ।

यस्तै, प्रतिनिधिसभामा रहेको नागरिकता विधेयक र राष्ट्रियसभामा थाती रहेका चार विधेयक पनि आगामी संसद अधिवेशनबाट पारित गर्ने प्रक्रियामा छन् । हिउँदे अधिवेशनको पहिलो बैठकको अध्यक्षता उपसभामुख शिवमाया तुम्बाहाङफेले नै गर्नेगरी तयारी भइरहेको संसद सचिवालय स्रोतले जनाएको छ ।

नियमावलीमा सभामुखले संसद बैठकको अध्यक्षता गर्ने व्यवस्था रहेपनि अहिले सभामुख पद रिक्त रहेको अवस्थामा उपसभामुखले नै बैठकको अध्यक्षता गर्ने सचिवालयले जनाएको हो ।बैठकको अध्यक्षता र पहिलो बैठकको कार्यसूचीबारे संसद बैठक बस्नुअघि शुक्रबारै बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले टुंगो लगाउनेछ । संसदको बजेट अधिवेशन गएको असोज २ गते अन्त्य भएको थियो ।