एमसीसी सम्झौता संसदबाट अनुमोदन हुन्छ : मन्त्री बास्कोटा

एमसीसी सम्झौता संसदबाट अनुमोदन हुन्छ : मन्त्री बास्कोटा

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटी बैठकमा बहसको विषय बनेको अमेरिकाको मिलिनियम च्यालेन्ज कोअपरेसन (एमसीसी) सम्झौता संसदबाट अनुमोदन हुने सरकारले प्रष्ट पारेको छ ।

सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले एमसीसी संसदको शुक्रबारबाट शुरु हुने अधिवेशनमा यो सम्झौता पारित हुने बताए । मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले धेरै वर्षअघिदेखि नै प्रक्रियामा रहेको र सम्झौता एमसीसी संसदको अघिल्लो अधिवेशनबाटै पारित हुनुपर्ने बताए ।

संसदको अबको अधिवेशनबाट एमसीसी पारित हुने भन्दै पार्टीभित्र भइरहेको बहसले सरकारको काम कारवाहीमा कुनै असर नगर्ने पनि प्रष्ट पारे । मुलुकको विदेश नीति र पार्टीको विचारधारा फरक फरक कुरा हुन् भन्दै उनले केही व्यक्तिका निजी धारणाले एमसीसी संसदबाट पारित हुने नरोकिने बताए । एमसीसी सहयोग अमेरिकाको इण्डो प्यासिफिक रणनीतिको अंग भएको भन्दै नेकपाका नेताहरुले नै विरोध गरेका छन् । यदि इण्डो प्यासिफिक रणनीति अन्तर्गत होइन भने पनि सम्झौतामा परिर्माजन गर्नुपर्ने नेताहरुको मत रहेको छ ।